कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नबिकेपछि दूध पोख्दै 

दूध बिक्री नहुँदा करिब १५ सय किसान मारमा
अगन्धर तिवारी

पर्वत — वैशाख १८ यता जिल्लामा निक्षेधाज्ञा छ । कोभिड नियन्त्रण तथा रोकथामका लागि जारी निक्षेधाज्ञाले बजार, पसललगायत सबै क्षेत्र ठप्प हुँदा त्यसको सबैभन्दा मारमा पशुपालक किसान परेका छन् ।

कुस्मा तथा फलेबास नगरपालिकाका विभिन्न गाउँका किसान व्यावसायिक पशुपालनमा छन् । केही किसानले व्यक्तिगत र केहीले समूह तथा सहकारीमा आबद्ध भएर कुस्मा र पोखरामा दूध बिक्री गर्दै आइरहेका छन् ।

निषेधाज्ञाका कारण सबैजसो किसानले नियमित रूपमा दूध बजारसम्म पुर्‍याउन पाएका छैनन् । सबैभन्दा धेरै मार फलेबासका किसानलाई परेको छ । निषेधाज्ञाका लम्बिँदै गएपछि दूध बिक्री नहुँदा कुस्मा–९ र फलेबासको देवीस्थान र कुर्घाका करिब १५ सय किसानको दूध बिक्री नभएको हो । अधिकांश किसान सहकारीमा आबद्ध भएर पशुपालनमा लागेका छन् ।

फलेबास दुग्ध सहकारीमार्फत विभिन्न गाउँमा संकलन केन्द्र सञ्चालन गरी कुस्मा र पोखरा दूध पठाउँछन् । दूधबाटै परिवारको गर्जो टार्ने र गाईभैंसी खरिद गर्दा लिएको बैंकको किस्ता चलाउँदै आएका किसान दूध बिक्री नहुँदा समस्यामा परेको बताउँछन् । फलेबासको संकलन केन्द्रमा दैनिक ३ सय लिटरसम्म दूध संकलन हुन्छ ।

दूध बिक्री नभएपछि त्यसबाट अरू परिकार बनाउने विकल्प नहुँदा मलखाल्डोमा खन्याउन बाध्य भएको किसान दुखेसो गर्छन् । ऋणधन गरेर चर्को मूल्यमा गाईभैंसी किनेर दूधबाटै गुजारा चलाउने किसान सबैभन्दा मर्कामा परेको सहकारीका पूर्व अध्यक्ष भरत श्रेष्ठले बताए । ‘बाटो सहज भएपछि पोखरासम्म दूध पुर्‍याउन सकिन्छ भनेर धेरैले ऋणधन गरेर महँगो मूल्यमा गाईभैंसी पालेका छन् । अहिले डेढ महिना भयो दूध पठाउन सकिएको छैन,’ उनले भने, ‘धेरै किसानले गाईभैंसीलाई खुवाउन दाना किन्ने पैसासमेत नभएको गुनासो गरेका छन् । बैंकको किस्ता त परको कुरा भयो ।’

पोखराका विभिन्न डेरीमा बिक्री हुने फलेबासको दूध निषेधाज्ञाका कारण बिक्री नभएपछि समस्या आएको हो । दैनिक २५ सय लिटरसम्म दूध संकलन गर्ने देवीस्थानको कृष्णगण्डकी दुग्ध सहकारी संस्थामा पनि डेढ महिनायता नियमित दूध बिक्री हुन छोडेको संस्थाका सचिव बुद्धिराज गौंडेलले बताए । ‘हामीले सबै दूध पोखरा पठाउने हो,’ उनले भने, ‘निषेधाज्ञापछि बजार बन्द भएकाले दैनिक संकलन रोकेका छौं ।’

अरू बेला नियमित बिक्री हुने दूध निषेधाज्ञापछि एक–दुई दिन बिराएर थोरै परिमाणमा मात्रै पठाउने गरेको उनले बताए । चिर्दिखोलाको चिसापानी दुग्ध सहकारी संस्थामा पनि दूध संकलन रोकिएको छ । सहकारीका व्यवस्थापक यज्ञप्रसाद शर्माले दैनिक ५ सय लिटरसम्म दूध बजार पठाउने गरेको बताए । तर अहिले दूध संकलन रोकिएको उनले बताए ।

प्रकाशित : असार ८, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?