कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कक्षाकोठामा राखेर उपचार

डाक्टरले एक्लै धानिन् आइसोलेसन
प्रकाश बराल

बागलुङ — वैशाख २० मा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट बागलुङको बरेङ गाउँपालिकामा डा. लक्ष्मी पन्थी सरुवा भई आउँदा त्यहाँ कोरोनाका बिरामी शून्य थिए । हाजिर भएको तेस्रो दिन उनले गाउँगाउँमा बिरामी बढेको सूचना पाइन् ।

कक्षाकोठामा राखेर उपचार

वैशाख २४ को राति वडा ४ सल्यानका ६० वर्षीय प्रेमबहादुर परियारको घरबाट फोन आयो । श्वासप्रश्वासमा समस्या भएकाले ज्यान जोखिममा भएको भन्दै हारगुहार भयो । बिहानै डा. पन्थी घरमै पुगिन् ।

गाउँपालिकाको कोभिड अस्पतालदेखि जिपमा २ घण्टामा मात्रै सल्यान पुगिन्छ । परियारको अक्सिजन लेबल ८४ थियो । गाडीमै लगेको सिलिन्डरबाट अक्सिजन जोडेर उनको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो । त्यतिबेलासम्म गाउँपालिकामा एम्बुलेन्स र बिरामी बोक्ने गाडीको व्यवस्थापन थिएन । भाडामा लिएको गाडीबाट परियारलाई बरेङडाँडास्थित कोभिड अस्पताल ल्याइयो ।

यहाँको स्वास्थ्य चौकी र सर्वोदय माविको कक्षाकोठालाई आइसोलेसन बनाइएको छ । आईसीयूको व्यवस्था थिएन । धौलागिरि अस्पतालमा रेफर गर्न खोज्दा पन्थीले बेड छैन भन्ने जवाफ पाइन् । ‘पोखराका विभिन्न अस्पतालमा समेत बेड नभएको भनेपछि बिरामीलाई गाउँमै उपचार चलाएँ,’ पन्थीले भनिन्, ‘आफैंलाई पढाएका प्राध्यापकको सल्लाहमा उपचार गर्दा १२ दिनमा उहाँ निको हुनुभयो ।’ परियारलाई मधुमेहसमेत थियो । गम्भीर बिरामीलाई पनि कक्षाकोठामै राखेर पन्थीले उपचार थालिन् ।

वैशाख २५ मा वडा २ का बमबहादुर पुन निमोनिया भएपछि मात्रै अस्पताल आए । खोक्दा रगत निस्केपछि आएका उनको पनि कोरोना पुष्टि भयो । रेफर गर्न खोज्दा बेड नपाएर पुनलाई पनि बरेङमै उपचार गरियो । १८ दिनको उपचारपछि निको भएर फर्के । दुई जना सिकिस्त बिरामीको कोरोना पुष्टि भएपछि भने पन्थीले वडावडामा कोरोना संक्रमित खोजी शिविर सञ्चालनको प्रस्ताव राखिन् । गाउँपालिका अध्यक्ष कृष्ण पौडेलले उक्त प्रस्ताव स्विकारेपछि पीसीआर परीक्षण थालियो । एक महिना नपुग्दै यहाँ १ सय ६५ जना कोरोनाका संक्रमित भेटिए । बुधबार ८ जना डिस्चार्ज भएकामा २ महिलाले पन्थीलाई ‘भगवान्’ भन्दै नाचेर बिदाइ भए ।

बर्खा लागिसकेकाले ग्रामीण सडक हिलाम्मे छन् । त्यसैले बिरामी रेफर गर्नुभन्दा गाउँमै उपचार गराउने योजना गाउँपालिकाले बनाएको पौडेलले बताए । ‘निकै सक्रिय र उत्साही डाक्टर पाएका छौं, त्यसैले उपचार सहज भएको छ,’ पौडेलले भने, ‘बिरामीको उपचारका लागि दाता र पालिकाको खर्चमा औषधि उपचारको व्यवस्थापन गरेका छौं ।’ यहाँको बरेङ स्वास्थ्य चौकी र सर्वोदय माविमा आइसोलेसन कक्ष बनाएर कोरोनाको उपचार गरिएको छ ।

आइसोलेसनमा खटिने ५ मात्रै स्वास्थ्यकर्मी छन् । डा. पन्थीसहित ४ नर्सले आइसोलेसन धानेका छन् । आइसोलेसन बनाइएको स्वास्थ्यचौकी र विद्यालय एक किमि दूरीमा छन् । दैनिक पटकपटक दुवै आइसोलेसनका बिरामीको स्वास्थ्य परीक्षण र उपचारमा खटिने काम झन् जटिल भएको पन्थीले बताइन् । ‘अहिले पनि भर्ना गरेर राखिएका ३० बिरामी छन्, दैनिक उपचारमा खटिनुपर्दा पालो दिने कोही पनि छैन,’ पन्थीले भनिन्, ‘जनशक्तिको अभाव छ, तर जनतालाई सास्ती नहोस् भनेर चौबिसै घण्टा खटिएका छौं ।’ जटिल बिरामी स्वास्थ्यचौकीमा छन्, सामान्य बिरामी विद्यालयमा राखिएको हो । यो समयमा आमाबाबुलाई फोन गर्ने फुर्सदसमेत नपाएको उनले बताइन् ।

१ सय ६५ मध्ये १ जना बिरामीको अक्सिजन लेबल ३५ पुगेकाले पोखरा पठाइएका बाहेक अरू सबैलाई गाउँमै उपचार गरेको उनले बताइन् । ‘आईसीयू चाहिने बिरामी पनि हामीले विद्यालयको कोठामा राखेर निको बनाएका छौं,’ उनले भनिन्, ‘दस/पन्ध्र जना डाक्टर भएको अस्पतालमा उपचार हम्मेहम्मे भएको छ, हामीले निकै खटेर उपचार गरिरहेका छौं ।’ पोखरादेखि सिलिन्डर भरेर फर्कंदा जिपलाई चौबिस घण्टा लाग्ने र त्यतिन्जेलको तयारी निरन्तर गरिरहेको स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले बताए । उनका अनुसार हारगुहारबाट जोडेको सामग्रीले उपचार सम्भव भएको हो ।

गाउँपालिकाले बिरामीलाई पौष्टिक खानाका लागि अन्डा र घिउको व्यवस्था गरेको अध्यक्ष पौडेलले बताए । ‘गत वर्षका संक्रमितलाई महसमेत दिएर पठाएका थियौं, अहिले खर्चको समस्याले सानो कोसेली मात्रै पठाएका छौं,’ उनले भने, ‘बुटवलको आउजाउ भएकाले भारतीय भेरिएन्टले हामीलाई सताएको छ ।’ संक्रमणले वडा १ मा सबैभन्दा धेरै बिरामी छन् ।

होम आइसोलेसनले कोभिड नियन्त्रणमा समस्या भएपछि प्रहरीसहितको टोली दैनिक घर भेटमा निस्कन्छ । ‘स्वास्थ्य मापदण्ड पालना नभएकाले एउटै घरका पालैपालो ५ जनासम्म संक्रमणमा परेका छन्,’ पन्थीले भनिन्, ‘यस्तो समस्या आएपछि बिहान–बेलुकी स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिले होम आइसोलेसन भेटेर कडाइ गरिएको छ ।’ प्रहरीसमेत परिचालन भएपछि होम आइसोलेसन प्रभावकारी बनेको उनले बताइन् ।

प्रकाशित : असार ७, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?