कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङ जोड्ने सडक छियाछिया

आश गुरुङ

लमजुङ — जेठ ३१ गते रातिदेखिको वर्षाले बेंसीसहर–चामे सडक छियाछिया भएको छ । कतिपय ठाउँमा सडकको नामोनिसान छैन । सडक सबै छियाछिया भएर बगाएपछि हिमाली जिल्ला मनाङसँगको सडक सम्बन्ध टुटेको छ । अब हेलिकप्टरभन्दा अरू विकल्प छैन ।

मनाङ जोड्ने सडक छियाछिया

बाढीले लमजुङमा भन्दा मनाङमा बढी क्षति पुर्‍याएको छ । बेंसीसहरदेखि मनाङ सिमाना म्यार्दीसम्मको ३५ किलोमिटरमा भन्दा म्यार्दीदेखि चामेसम्मको ३० किलोमिटर सडकमा बढी क्षति छ । सडकका बेलिब्रिज, काठेपुल, कल्भर्ट बगाएको छ ।

मनाङको नासों गाउँपालिका ९, दानाक्युका मिङमर छिरिङ विष्टका अनुसार बगरछापमा पहिरोले सबै बाटो लगेको छ । बाटोको नामोनिसान छैन । सडक बनाउने ठाउँसमेत नराखी मर्स्याङ्दीको बाढीले च्यापेको छ । ‘सडक त बगायो, दानक्यु र बगरछाप गाउँ नै बगाउने खतरामा छ,’ उनले भने ।

मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–९, दानक्युमा मर्स्याङ्दीले बगाउन लागेको दानक्यु गाउँ। तस्बिर सौजन्य : मिङ्मर छिरिङ विष्ट

लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडार माइती भई नासों गाउँपालिका–८, ताचैकी विष्णु घलेले धारापानी बजारको बाटोबाटै लगेको बताइन् । ‘न बिजुली, न टेलिफोन, न सडक, न पुल । अलपत्र हामी हेलिकप्टरमा आयौं,’ उनले भनिन्, ‘माथिबाट तल हेरेको, बाटो त सबै मर्स्याङ्दीले लगेछ । नामोनिसाना छैन ।’ उनका अनुसार लमजुङमा भन्दा मनाङमा सडक धेरै लगेको देखिएको छ ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेका अनुसार मनाङको ताल गाउँदेखि माथिल्लो मनाङको खाङसारसम्मको करिब ६५ किलोमिटरमध्ये ४० प्रतिशत सडकमा क्षति पुगेको छ । क्षति पुगेका सडकमध्ये धेरैजसो मर्स्याङ्दीले बगाएको छ । उनका अनुसार बगरछापमा ३ सय मिटर सडक बगाएको छ । धारापानीमा बाटोसहित बजार नै बगाएको छ । तिमाङमा बेलिब्रिज बगाएको छ । स्याक्यु, तिमाङ छहरा, चामेलगायत ठाउँमा काठे पुल र पक्की पुल छैन ।

चामेबाट माथिल्लो मनाङ जाने सडकअन्तर्गत मर्स्याङ्दी नदीमाथिको बेलिब्रिजमा बगेको बाढीमा अड्किएको रुखका मुढा निकाल्दै सशस्त्र प्रहरी ।

म्यार्दीभीर, सिरानताल, खोत्रो, शिरचौर, ढिकुरपोखरी, हुम्डेलगायत ठाउँमा सडक बगाएको उनले बताइन् । लमजुङतर्फको खरखरे, रामबजार, स्याँगे, च्याम्चेलगायत ठाउँमा पनि सडक बगाएको डुम्रे–बेंसीसहर–चामे सडक योजनाका सिनियर डिभिजन इन्जिनियर अमितकुमार श्रेष्ठले बताए । ‘मनाङ खण्डमा धेरै सडक क्षति पुगेको छ । तर, हामीलाई कहाँ कति भन्ने रेकर्ड आएको छैन । हिँडेर जान सक्ने अवस्था छैन,’ उनले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले मनाङको बाटो, पुल बनाएर पूर्ण रूपमा सडक सञ्चालनमा आउन ६ महिनासम्म लाग्न सक्ने बताए ।

प्रकाशित : असार ७, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?