कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा थपियो असार ७ गतेसम्म निषेधाज्ञा

सम्झना रसाइली

तनहुँ — जिल्लामा कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले वैशाख २३ गतेबाट जारी गरेको निषेधाज्ञा पुन: एक हप्ता थप गरी असार ७ गते राति १२ बजेसम्मका लागि लम्ब्याएको हो ।

निषेधाज्ञालाई केही खुकुलो बनाउँदै एक हप्ता लम्बाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । प्रजिअ आचार्यको अध्यक्षतामा आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिसका आधारमा बैंक तथा वित्तिय संस्था बिहान १० देखि दिउँसो एक बजेसम्म खुल्न दिने निर्णय गरिएको छ । उनले भने, ‘आवश्यक परेकालाई मात्र सेवा उपलब्ध गराइने छ ।’

यस्तै, निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाहरुसँगै खाद्यान्न, तरकारी, फलफूल, दूध र दुग्धजन्य पदार्थ, माछामासु, अण्डा, दाना, पशुपक्षीको उत्पादन र बिक्री वितरण, निर्माण सामग्री पसल सञ्चालन, सवारी साधान र मोबाइल मर्मत सेवा बिहान ५ देखि १० बजेसम्म खुला गर्न दिइने समितिले निर्णय गरेको छ । यसअघि तरकारी तथा खाद्यान्नको बिक्री वितरण बिहान ७ बजेदेखि ९ बजेसम्म खला गर्न पाइथ्यो ।

‘यीबाहेक अन्य सबै क्षेत्र बन्द गरिने छ’, उनले भने, ‘सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, खोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, साइकल र मोटरसाइकलमा गरिने व्यापार, तालिम, सेमिनार, भौतिक उपस्थितिमा गरिने शिक्षण प्रशिक्षण र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरु पूर्णरुपमा बन्द गरिने छ ।’

यस्तै, जिल्ला भित्र र बाहिर चल्ने निजी सार्वजनिक सवारी साधानहरु अनुमति बेगर सञ्चालनमा रोक लगाइएको प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?