कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्गम क्षेत्रमा आइसोलेसन

सम्झना रसाइली

तनहुँ — जिल्लाका ग्रामीण क्षेत्रका समुदायमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ । संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय पालिकाले गाउँगाउँमा अक्सिजनसहितका अस्थायी आइसोलेसन तयार गर्न थालेका छन् ।

यातायातको सहज पहुँच नभएको जिल्लाकै कछार क्षेत्रका रूपमा परिचित देवघाट गाउँपालिका–३ स्थित छिपछिपेमा अक्सिजनसहितको आइसोलेसन कक्ष तयार गरिएको छ । कोरोना संक्रमणबाट आइपर्ने जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका रूपमा इलाका स्वास्थ्य चौकीमा आइसोलेसन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले बताए । ‘बजार क्षेत्रमा बसोबास गर्दै आएका नागरिक निषेधाज्ञा जारी भएपछि पुनः गाउँ फर्किएका छन्’, उनले भने, ‘बजारलगायत अन्य क्षेत्रबाट गाउँमा मानिसको आउजाउ बढेका कारण अहिले ग्रामीण क्षेत्रका समुदायमा कोरोना भाइरस संक्रमण देखिन थालेको छ ।’

‘ग्रामीण क्षेत्रमा सहज रूपमा यातायातको व्यवस्था नभएकाले यदि कोही संक्रमितलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था आयो भने केही सहज होस् भनेर गाउँगाउँमा रहेका इलाका स्वास्थ्य चौकीमा केही थान अक्सिजन सिलिन्डर जुटाएर आइसोलेसन कक्ष तयार गरेका छौं,’ थापाले भने, ‘संक्रमितको स्वास्थ्यमा जटिल अवस्था देखिएमा तत्काल उद्धार गरी अन्यत्र पठाउने व्यवस्था पनि मिलाएका छौं । हाम्रो स्रोतसाधनले भेटेसम्म गाउँठाउँमै उपचार सेवा दिन लागिपरेका छौं ।’ गाउँपालिकाले २ र ३ वडावासीलाई लक्षित गरी ५ वटा अक्सिजन सिलिन्डरसहित १० शय्याको आइसोलेसन कक्ष तयार गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले बताए । उनले भने, ‘स्वास्थ्य चौकीमा कार्यरत ३ जना प्यारामेडिक्स, २ जना स्टाफ नर्स र एक कार्यालय सहयोगीले कोभिडका संक्रमितको उपचार गर्ने व्यवस्था मिलाएका छौं ।’ उनका अनुसार सामान्य प्रकारका लक्षण देखिएका बिरामीलाई आवश्यक परे अक्सिजन सेवा दिएर उपचार गरिनेछ भने गम्भीर प्रकृतिका संक्रमितलाई अन्यत्र रेफर गरिनेछ ।


प्रकाशित : जेष्ठ ३०, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?