कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

बेरोजगारलाई कृषिमा अनुदान

पर्वत — करिब डेढ वर्ष लामो कोरोना कहरले युवाहरू बेरोजगार हुने भन्दै फलेबास नगरपालिकाले युवालक्षित कार्यक्रम ल्याएको छ । वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई कृषिलाई व्यवसायीकरणमा डोर्‍याउने गरी ‘टनेल हाम्रो, उत्पादन तपाईंको’ अभियान सञ्चालन गरेको हो ।

बेरोजगारलाई कृषिमा अनुदान

विशेषगरी युवा किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ प्रोत्साहित गर्न र स्वरोजगार सिर्जना गर्न ४ सय ५५ टनेल वितरण गरेको हो । नगरपालिकाले गतवर्षको नगरसभामा घोषणा गरेको यो कार्यक्रम अन्तर्गत ४० लाख रुपैयाँ बराबरको टनेल वितरण गरिएको जनाएको छ । तरकारी खेतीमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित यो कार्यक्रममा अधिकांश वैदेशिक रोजगारी गुमाएर फर्किएका युवालाई समावेश गरेको छ ।

नगरका ११ वटै वडामा भूगोल र माटो सुहाउँदो फरकफरक तरकारी उत्पादन गर्न किसानलाई अनुदानमा टनेल वितरण गरिएको नगरप्रमुख पदमपाणी शर्माले बताए । ‘सबै संरचना तयार गरेपछि हामीले प्लास्टिक दिन्छौं,’ उनले भने, ‘बाली हामीले तोक्दैनौं । किसानले आफूखुसी बेमौसमी तरकारी र नगदेबाली लगाउनुहुन्छ ।’ मागका आधारमा जथाभावी प्लास्टिक वितरण गर्दा दुरुपयोग भएको गुनासो आएपछि टनेलको संरचना बनाएर वडा कार्यालयमा तस्बिर पेस गरेपछि मात्रै प्लास्टिक वितरण गरिएको नगरका प्रवक्ता टीकाराम गौंडेलले बताए । उनका अनुसार एउटा टनेल प्लास्टिकको मूल्य करिब ८ हजार ५ सय रुपैयाँ पर्छ ।

कार्यक्रमबाट आर्थिक अभावमा लगानी गर्न नसकेर बेरोजगार बनेका र विदेशबाट फर्किएका युवाले प्रत्यक्ष लाभ लिएको प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताए । युवाले प्लास्टिक टनेलभित्र गोलभेंडा, खुर्सानी, फर्सीलगायत तरकारी उत्पादन सुरु गरिसकेका छन् । कोरोनाका कारण विदेश र स्वदेशमा रोजगारी गुमाएर फर्किएका युवाका लागि यो कार्यक्रम निकै प्रभावकारी भएको छ ।

‘उता काममा फर्किने टुंगो छैन,’ कतारबाट रोजगारी गुमाएर फर्किएका फलेबास–४ का दीपेन्द्र लामिछानेले भने, ‘नगरपालिकाले टनेल कार्यक्रम ल्याएको थाहा पाएपछि निवेदन दिएँ । अहिले गोलभेंडा खेती सुरु गरेको छु ।’ ६ महिनाअघि गाउँ फर्किएका उनले व्यावसायिक कृषि फर्म दर्ता गरेका छन् । नगरले सहयोग गरे व्यावसायिक खेती विस्तार गर्ने तयारी गरेको उनले बताए ।

प्रकाशित : जेष्ठ २९, २०७८ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×