कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपर्याप्त खोपले स्वास्थ्यकर्मी अलमलमा

अगन्धर तिवारी

पर्वत — चीनबाट यसै साता भित्रिएको १० लाख डोज भेरोसेल खोपको अहिले सबैतिर चर्चा छ । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका लागि लक्षित गरे पनि यो खोप लक्षित समूहका सबैले भने लगाउन नपाउने भएका छन् । 

अपर्याप्त खोपले स्वास्थ्यकर्मी अलमलमा

जिल्लाका लागि प्राप्त खोपअनुसार लक्षित जनसंख्याको आधाले पनि नपाउने भएपछि अन्योल भएको स्वास्थ्यकर्मीले बताए । सरकारले दाबी गरेअनुसार पर्वतमा करिब ६ हजार डोज खोप आवश्यक हुन्छ । तर, जिल्लाभरका लागि जम्मा २१ सय डोज मात्रै प्राप्त भएको छ । २०६८ को जनगणनाको तथ्यांकअनुसार ६० देखि ६४ उमेर समूहको जनसंख्या ५ हजार ६ सय छ । जनसंख्याअनुसार खोप अपुग हुने भएपछि जिल्ला तथा पालिकास्तरीय खोप समन्वय समितिको छलफलपछि ६२ देखि ६४ उमेर समूहमा खोप लगाउने निर्णय भएको थियो ।

६२–६४ उमेर समूहको जनसंख्या सबै पालिकाबाट संकलन गर्दा २ हजार ६ सय ६३ पुगेपछि प्राप्त खोपले उक्त समूहका लागिसमेत अभाव हुने देखिएको छ । उक्त उमेर समूहका लागिसमेत खोप अभाव हुने भएपछि जिल्ला तथा पालिकास्तरीय खोप समन्वय समितिले ६४ वर्ष उमेर समूहबाट सुरु गरेर जति उमेर समूहलाई पुग्छ त्यत्तिमै रोकिनुपर्ने बाध्यता रहेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । यही आइतबार सबै पालिकामा सञ्चालन हुने खोप कार्यक्रमले लक्षित जनसंख्यालाई नसमेट्ने भएपछि सर्वसाधारणमा चरम असन्तुष्टि उत्पन्न हुनेमा स्वास्थ्यकर्मी त्रसित छन् । ‘अहिले खोपको माग ज्यादै बढेको छ,’ स्वास्थ्य कार्यालय प्रमुख डा. भोजराज गौतमले भने, ‘हामीले खोप लगेर अब पुगेन भन्यौं भने स्थिति सम्हालिसाध्य हुँदैन । त्यसैले स्थानीय जनप्रतिनिधिलाई संयोजन गरिदिन भनेका छौं ।’ खोपको मात्रा थोरै आएपछि ६४ वर्षदेखि

घट्दो उमेरकालाई जति पुग्छ त्यति मात्रै लगाउने निर्णय जिल्ला खोप समन्वय समितिले गरेको छ । यो निर्णय र खोपको उपलब्धताले स्थानीय सर्वसाधारणमा आक्रोश पैदा गर्ने वातावरण सिर्जना गरेको जनप्रतिनिधिको गुनासो छ । ‘यो खोप तिर्खाएका बेला पानी छर्किने मेसो मात्रै भयो,’ फलेबास–३ का वडाध्यक्ष अर्जुनबहादुर कार्कीले भने, ‘प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर वितरण गरेको भए समस्या आउने थिएन । अहिलेको खोपको कार्यक्रमले जनप्रतिनिधि चिढ्याउने मात्रै हो ।’

स्वास्थ्य कार्यालयले सबै सरोकारवालाको छलफलपछि ६२–६४ उमेर समूहका लागि खोप लगाउने निष्कर्षमा पुगेको उनले बताए । मोदीबाहेक सबै पालिकामा खोप चिस्यान फ्रिज उपलब्ध भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘कुश्मा र मोदीमा कुश्माबाटै पठाउनुपर्छ,’ तथ्यांक अधिकृत प्रवीण भण्डारीले भने, ‘केही वडा अलि टाढा छन् । त्यहाँ सोही दिन समयमै खोप नपठाए टेम्प्रेचर मेन्टेन गर्न समस्या हुन्छ ।’ अहिले ल्याइएको भेरोसेल खोप २–८ डिग्री तापक्रमभन्दा तलमाथि भए बिग्रिने चुनौती भएको कार्यक्रममा जानकारी गराइयो ।

प्रकाशित : जेष्ठ २८, २०७८ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?