कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

‘जनता भोकै मर्ने अवस्था आयो भने यसको जिम्मेवारी प्रशासनले लिनुपर्छ’
प्रदेश ब्युरो

पोखरा — कोरोना कहरका कारण गरिएको निषेधाज्ञाको फाइदा उठाउँदै विभिन्न जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको पाइएको छ । तरकारी, फलफूल, खाद्यान्नलगायतमा मूल्य बढाइएको हो । 

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

बागलुङमा बिहान मात्रै खुल्ने पसलबाट चर्को मूल्यमा सामान बेचिएको छ । तरकारी र फलफूल दोब्बर मूल्यमा किन्नुपरेको उपभोक्ताले गुनासो गरे । खाद्यवस्तुमा पनि तोकिएभन्दा बढी मूल्य लिने गरिएको छ । ‘बजार अनुगमनमा डरलाग्दो नाफाखोरी देखियो,’ घरेलु तथा साना उद्योग कार्यालय प्रमुख गोमा रिजालले भनिन्, ‘उपभोक्ता दैनिक ठगिइरहेका छन्, व्यापारीले मनपरी गरेका छन् ।’

निषेधाज्ञाको फाइदा उठाएर स्याउ र अनारमा प्रतिकेजी १ सय ५० रुपैयाँसम्म नाफा लिने गरेको भेटिएको रिजालले बताइन् । होलसेलमा १ सय ८० रुपैयाँमा ल्याएको अनार ३ सयदेखि ३ सय ५० रुपैयाँमा बेच्ने गरेको भेटिएको हो । तरकारीमा पनि कालोबजारी भएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । किसानबाट प्रतिकेजी ३० रुपैयाँमा ल्याएको गोलभेंडा ८० रुपैयाँमा बेचेको भेटियो,’ श्रेष्ठले भने, ‘उपभोक्तालाई ठग्नैपर्छ भन्ने प्रवृत्ति देखियो ।’ बिग्रेको फाल्नुपर्ने भएकाले खेर गएको सामानको मूल्य जोड्दा महँगोमा बेच्नुपरेको फलफूलका अधिकृत विक्रेता मधु केसीले बताए ।

खाद्यान्नतर्फ मूल्य बढेरै आएको अर्का व्यवसायी विष्णु आचार्यले बताए । ‘दाल, चामल र तेलमा थोक मूल्य नै बढेको छ,’ उनले भने, ‘उपभोक्तालाई बेच्दा महँगो परेको छ ।’ व्यवसायीले भने थोकमा २० रुपैयाँ बढ्दा उपभोक्तालाई ५० रुपैयाँसम्म बढाएका छन् । ग्रामीण क्षेत्रमा लैजानेले ढुवानीसमेत जोडेर बेच्ने गरेका हुन् । बागलुङ बजारमा प्रतिलिटर २ सय ४० पर्ने खानेतेल गाउँ पुग्दा २ सय ८० पुगेको हो । बागलुङ बजारकै व्यापारीले बासमती चामलको प्रतिकेजी ८५ रुपैयाँदेखि १ सय ८० रुपैयाँसम्ममा बेच्ने गरेको भेटिएको हो । चैतको तुलनामा जेठमा प्रतिकेजी चिनी १० रुपैयाँको दरले बढेको छ ।

बागलुङमा रातो दालको मूल्य प्रतिकिलो १ सय १० बाट बढेर १ सय ३० रुपैयाँ पुगेको छ । मुसुरोको दाल १ सय २० बाट बढेर १ सय ४० पुगेको व्यवसायीले बताए । गाउँमा पुग्दा प्रतिकेजी १० देखि ३० रुपैयाँ बढाएर बिक्री भइरहेको हो । ‘गाडी भाडा जोड्नै पर्‍यो, महँगो छ,’ काठेखोला–८ का चन्द्र श्रेष्ठले भने, ‘निषेधाज्ञाकै बेला मूल्य बढाइएको छ, हामीले उपभोक्तालाई ठगेका छैनौं ।’ खाद्यवस्तुको सवारी नियमित चले पनि व्यापारीले भने निषेधाज्ञाको बहाना बनाएका हुन् । बागलुङ उद्योग वाणिज्य संघका सदस्य गणेशराज लम्सालले मनलाग्दी मूल्य लिनेलाई अनुगमन गर्नुपर्ने बताए ।

असहज ढुवानी भन्दै मूल्य बढाउँदै व्यापारी

म्याग्दीमा निषेधाज्ञाले ढुवानी असहज भएको भन्दै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् । निषेधाज्ञामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री बोक्ने गाडीलाई निर्वाध सञ्चालनको व्यवस्था छ । तर व्यवसायीले असहज भएको भन्दै ढुवानी मूल्य बढाउँदा दैनिक उपभोग्य वस्तुको पनि मूल्यवृद्धि भएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को हालैको बैठकमा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमाया मगरले लकडाउनले गाउँमा खाद्यान्नसमेत अन्य सामग्रीको मूल्य वृद्धि भएको जानकारी गराएकी थिइन् । ‘बर्खा लाग्न थालेको, सहज ढुवानी अवस्था नभएको ढुवानी मूल्य बढेको भन्दै दैनिक उपभोग्य वस्तुको पनि मूल्य बढेको हो,’ रघुगंगा–चिमखोलाका ओम पुनले भने, ‘खाने तेललगायत अत्यावश्यक वस्तुमा मूल्य बढ्दा नुनतेल खर्च थेग्न समस्या भयो ।’

स्थानीय तह र उपभोक्ताबाट मूल्य वृद्धि भएको गुनासो आइरहेको उद्योग वाणिज्य संघले जनाएको छ । खरिद बिलमै मूल्य वृद्धि भएको र ढुवानी लागत बढेको भन्दै सामान महँगोमा बेच्ने प्रवृत्ति देखिएको पनि संघले भनेको छ । ‘कोरोना कहरबीच मूल्य वृद्धि भएको गुनासा सुनेका छौं । यो संक्रमणकालीन अवस्था बदमासी गर्ने समय पनि हो । खरिद बिल, ढुवानी मूल्य जोडिएको, नजोडिएको र वस्तु तथा सामग्रीको प्रिन्टेड मूल्यको अनुगमन गरिदिन स्थानीय तह र प्रशासनलाई अनुरोध गरेका छौं,’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘खरिद बिलबिनाका वस्तुको व्यापार आफैंमा बदमासी हो । अस्वाभाविक ढुवानी मूल्य जोडिएको हुन सक्छ ।’

अकासियो मूल्य

कोरोना संक्रमण रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले खाद्यान्न र हरियो तरकारी आयातमा रोक लगाउँदा बजारमा दैनिक उपभोग्य वस्तु र हरियो तरकारीको मूल्य बढेको छ । चामल, दाल, चिनी, तेललगायत हरियो तरकारीको मूल्य शतप्रतिशतसम्म बढेको छ । जिल्ला प्रशासनमा बसेको कोभिड रोग नियन्त्रणसम्बन्धी जिल्लास्तरीय समितिको सिफारिसमा प्रशासन कार्यालयले खाद्यान्न आयातमा समेत प्रतिबन्ध लगाएको हो ।

निषेधाज्ञा सुरु भएदेखि नै खाद्यवस्तुमा चरम मूल्य वृद्धि गरेका व्यवसायीकै अनुरोधमा यस्तो निर्णय भएको बताइन्छ । व्यवसायीले ३ महिना पुग्ने खाद्यान्न स्टोरमा छ भन्ने रिपोर्टिङ गरेकाले आफूले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले जानकारी दिइन् । पाण्डेले सर्वपक्षीय सहमतिमा यस्तो कठोर निर्णय लिएको बताइरहँदा बजारमा भने मूल्य वृद्धि गरिएको छ । सामान्य रूपमा आयातमा समस्या हुँदासमेत मूल्य वृद्धि हुने बजारमा निषेधाज्ञाको बहानामा आयात प्रतिबन्ध लगाएर जनताको ढाड सेक्ने काम प्रशासनले गरेको स्थानीयको गुनासो छ । निषेधाज्ञा कडाइसाथ पालना भइरहेको बजार क्षेत्रमा व्यवसायीको उक्साहटमा गरिएको निर्णयले भने आमनगारिक मर्कामा परेका छन् ।

‘खाद्य सुरक्षाको हकसमेत मेटाउने काम भएको छ,’ कुश्माका ताराबहादुर थापाले भने, ‘जनता भोकै मर्ने अवस्था आयो भने यसको जिम्मेवारी प्रशासनले लिनुपर्छ ।’ लकडाउन हुनुपूर्व जिरा मसिनो चामल प्रतिकिलो साढे ५३ रुपैयाँ भएकोमा अहिले साढे ५६ रुपैयाँ छ । खानेतेल लकडाउनअघि १८ सय रुपैयाँ कार्टुन भएकोमा अहिले २६ सय पुगेको छ । त्यस्तै चिनीको मूल्य प्रतिकिलो ८ रुपैयाँ बढेको छ । दालमा प्रतिकिलो १५ रुपैयाँ, आँटामा प्रतिकिलो ३ रुपैयाँ मूल्य वृिद्ध भएको छ । त्यस्तै हरियो तरकारीको मूल्य करिब शतप्रतिशत बढेको छ ।

प्रशासनले जेठ दोस्रो साता खाद्यान्न र तरकारी बोकेका गाडीसमेत जिल्ला प्रवेशमा रोक लगाएको थियो । उद्योग वाणिज्य संघको सिफारिसमा हरियो तरकारी आयातमा समेत प्रतिबन्ध लगाएपछि बजारका उपभोक्ताले तरकारी नपाउने र गाउँमा उत्पादित कुहिने समस्या भएको हो । ‘हामीले गाउँबाट समेत ल्याएर बिक्री गर्न पाइएन,’ कुश्माको तरकारी थोक बिक्रेता विकास श्रेष्ठले भने, ‘पहुँच हुनेले सेटिङ मिलाएर बाहिरबाट ल्याएर कालोबजारी गरिरहेका छन् ।’

पर्वत प्रशासनले बजारमा हल्ला आएजस्तो मूल्यवृद्धि नभएको दाबी गरेको छ । ‘उपभोक्ताको हितको दायित्व हाम्रो पनि हो,’ निरीक्षण अधिकृत एवं सहायक प्रजिअ कृष्णप्रसाद शर्मा सुवेदीले भने, ‘व्यवसायीलाई हामीले भेटेर सहजीकरण गरिरहेका छौं । उजुरी नआएपछि कारबाही गर्न सकेका छैनौं ।’

ठगिँदै उपभोक्ता

लमजुङ बेंसीसहरकी आइतकुमारी गुरुङका अनुसार निषेधाज्ञाअघि प्रतिकिलो गोलभेंडाको ६० रुपैयाँ थियो । हिजोआज उनी प्रतिकिलो ९० रुपैयाँसम्ममा खरिद गर्न बाध्य छिन् । उनका अनुसार गोलभेंडामा मात्रै होइन, हरियो सागपात, दालचामल, आलु, लसुन, प्याज, तेल, चामलको भाउसमेत बढेको छ । ‘अहिले बजार बन्द भएर होला । सामान महँगो भयो । महँगो पनि कति भन्न सकेको होला ?’ उनले भनिन् ।

बेंसीसहरका पसलले खरिद मूल्यभन्दा बढीमा खाद्यसामग्री बिक्री गरिरहेका छन् । कतिपय पसलमा कम्पनीबाट नै एमआरपी बढेर आएको भेटिएको छ । बेंसीसहर नआउँदैको भकुण्डे बजारमा एमआरपी १ सय १० रुपैयाँ लेखिएको आधा लिटर श्रीब्रान्ड तोरीको तेल १ सय ५० रुपैयाँमा बिक्री गरेको भेटिएको छ । आधा लिटर सनफ्लावर तेलको मुख्य एमआरपी १ सय २५ रहेकोमा १ सय ५० रुपैयाँमा बिक्री गरेको फेला परेको छ । बेंसीसहर नगरपालिकाका बजार अनुगमन अधिकृत सुशीला श्रेष्ठले बजार अनुगमनका क्रममा निषेधाज्ञा अघिभन्दा अहिले मूल्य बढेको पाइएको बताइन् । ‘खाने तेलमा अस्वाभाविक रूपमा मूल्य बढेको पाइएको छ,’ उनले भनिन् ।

घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख तोपलाल भुसालका अनुसार केही ठाउँमा अस्वाभाविक रूपमा मूल्य बढेको देखिएको छ । उनले सनफ्लावर तेल प्रतिआधा लिटर १ सय ६० रुपैयाँसम्म बिक्री गरेको पाइएको बताए । १ सय ३५ रुपैयाँ, १ सय ४० रुपैयाँमा बिक्री गर्दै आएको कोसेली हेल्थ तेल, एमआरपीमै १ सय ५५ लेखेर आएको भेटिएको उनले बताए । ‘उतैबाट बढी मूल्य लेखेर आएको छ । एमआरपीमै लेखेपछि कतै १ सय ५५ मै बिक्री गरिरहेका छन्,’ उनले भने, ‘एमआरपीमा बढेर आएकोलाई अनुसन्धान गर्न प्रशासनलाई जिम्मा लगाएका छौं ।’

अनुसन्धानमा खटिएका अधिकारीका अनुसार कोरोना संक्रमण जोखिमका बेला बजार क्षेत्र तथा ग्रामीण भेगमा मूल्य वृद्धि गरी दैनिक उपभोग्य वस्तुको सामग्री बिक्रीवितरण गरेको पाइएको छ । कतिपयले खरिद र बिक्री बिल नै राखेका छैनन् । व्यवसायी विमल श्रेष्ठले थोरै मात्रामा सामान लानेलाई बिल नकाटिएको बताए ।

मर्स्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माले ग्रामीण भेगको बजार क्षेत्रमा मूल्य एकरूपता नभएको बताए । अनुगमनका क्रममा मूल्य वृद्धि गरी उपभोग्य वस्तुको बिक्रीवितरण गरेको पाइएको उनले बताए । ‘अनुगमनका क्रममा खरिद बिल र बिक्री बिल प्रयोग नगरेको, मूल्यसूची नराखेकोलगायत समस्या देखियो । सहरमै मूल्य बढेपछि गाउँमा यसै बढ्ने भयो,’ उनले भने । पसलहरूले म्याद गुज्रिएका सामानसमेत बिक्री गरेको पाइएको उनले बताए ।

प्रकाश बराल (बागलुङ), घनश्याम खड्का (म्याग्दी), अगन्धर तिवारी (पर्वत) र आश गुरुङ (लमजुङ)

प्रकाशित : जेष्ठ २७, २०७८ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?