कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा मुख्यमन्त्रीलाई विश्वासको मत : जनमोर्चा र सभामुख निर्णायक

बहुमत नपाए गुरुङले पनि ओलीलाई पछ्याउँदै संसद् विघटन गर्ने सम्भावना
आफ्नो पक्षमा बहुमतका लागि सभामुखलाई राजीनामा गराउने विपक्षी गठबन्धनको तयारी
प्रतीक्षा काफ्ले

कास्की — एमालेको 'विद्रोही' माधव नेपाल समूहको मतले कर्णाली र सुदूरपश्चिममा माओवादी मुख्यमन्त्रीको पद जोगिएलगत्तै बिहीबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ विश्वसको मतको परीक्षामा सहभागी हुँदैछन् । तर, बुधबारसम्म पनि विश्वासको मतको पक्षमा 'पासमार्क' आउँछ भन्ने अनुमान लगाउन कठिन देखिन्छ । 

गण्डकीमा मुख्यमन्त्रीलाई विश्वासको मत : जनमोर्चा र सभामुख निर्णायक

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन निर्णायक भूमिका निर्वाह गरेको माधव नेपाल समूह गण्डकीमा भने निरिह अवस्थामा छ । यो पक्षमा गण्डकीमा जम्मा एकजना सांसद् छन् । र, उनी विद्रोहको मुडमा छैनन् । मुख्यमन्त्री गुरुङ खेमामा उभिएका नेपाल पक्षीय सांसद् बाग्लुङका इन्द्रलाल सापकोटाले गण्डकीमा नेपाल पक्ष कमजोर रहेकाले भावी दिनमा आफ्नो राजनीति यात्रा नधमिल्याउने भन्दै फ्लोर क्रस नगर्ने बताउँदै आएका छन् ।

बरु, गण्डकीमा निर्णायक मानिएको छ- जनमोर्चा र सभामुखलाई । ६० सदस्यीय सभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ३१ मत आवश्यक पर्छ । सभामा एमालेको मत २७ छ । 'स्वतन्त्र मन्त्री' दीपक मनाङेसहित २८ । जनमोर्चाले सांसदबाट कारबाही गरेका तर सर्वोच्च अदालतले पुनस्थापना गराइदिएका सांसद कृष्ण थापाको समर्थन पनि मुख्यमन्त्री गुरुङलाई नै छ । यो मतसहित उनको पक्षमा २९ सांसद छन् । थापाले कसको पक्षमा मतदान गर्ने भन्ने पार्टीको ह्विप होइन सांसदको विवेकको कुरा भएको बताउँदै आएका छन् ।

बिहीबार मध्यान्ह १२ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकमा गुरुङको पक्षमा बहुमत पुग्ने सम्भावना लगभग देखिँदैन । तर, यो सम्भावना विपक्षीको पनि उत्तिकै कमजोर देखिन्छ । कांग्रेस, माओवादी, जसपा र जनमोर्चाको विपक्षी गठबन्धनलाई ३० सांसद्को साथ छ । कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन १ मतको कमी छ । जनमोर्चाका थापाले पार्टीको ह्विपअनुसार मतदान गरेको खण्डमा मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा बहुमत पुग्छ र नयाँ सरकार बन्न सक्छ । तर, यसअघिको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा मतदान गरेकाले पार्टीले ह्विप उल्लंघन गरेको भन्दै सांसदबाटै निलम्बन गरेका थापा सर्वोच्चबाट पुनर्जीवन पाएर फर्केपछि पनि पुरानै अडानमा छन् ।

यस्तो अवस्थामा विपक्षी गठबन्धनको बहुमतका लागि निर्णायक हुनसक्छन्- सभामुख नेत्रनाथ अधिकारी । माओवादी केन्द्रका सांसद अधिकारीलाई सभामुख पदबाट राजीनामा गराएर भए पनि विपक्षीलाई बहुमत पुर्‍याउने तयारी यो गठबन्धनको छ । गोरखाबाट जसपाका सांसद हरिशरण आचार्य भन्छन्, 'बहुमत जसरी पनि पुग्छ, सभामुखलाई राजीनामा गराएर भए पनि हामी पुर्याउँछौं ।'

गण्डकी संसद्‍मा कांग्रेसका १५ सांसद छन् । माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राजमोका ३ सांसद छन् । यो सोझो हिसाबमा विपक्षी गठबन्धनका नेपालीका पक्षमा बहुमत देखिन्छ । तर, माओवादीका एक सांसद सभामुख भएका कारण र राजमोका थापाले ह्विप उल्लंघन गर्ने बताएकाले यो संख्या ३० मा झर्छ ।

मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ आफूले विश्वासको मत नपाए संसद विघटन गर्ने तयारीमा छन् । सरकारका प्रवक्ता रामशरण बस्नेतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने र विपक्षी गठबन्धनले बहुमत पुर्‍याउन नसके संसद विघटनको विकल्प नरहेको बताएका छन् । एमालेका सचेतक मायानाथ अधिकारीले संसद् विघटन असंवैधानिक नभई संविधानले दिएको अधिकारी प्रयोग गर्न बाध्य हुनुपर्ने बताएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरे ओली लाइनमा जाने डर रहेको बताउँदै माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले विश्वासको मतमा मतदान अघि नै गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिन सक्ने या राजीनामा नदिई मार्ग प्रशस्तको बाटो खुलाई ओलीको पथमा जान सक्ने बताए । यसो हुदाँ प्रदेश प्रमुख सीता पौडेलले सरकार गठनको लागि आह्रवान गर्न सक्छिन् । सरकारलाई दिएको समर्थन माओवादी र राजमोले लिएपछि यसभन्दा अघि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । मुख्यमन्त्रीले अविश्वासको प्रस्तावको सामना गर्नु अघिल्लो दिनमै पदबाट राजीनामा दिएका थिए ।

प्रदेश प्रमुखले सरकार गठनको लागि दललाई आह्वान गरेकी थिइन् । विपक्षी गठबन्धनले बहुमत दावी गरे पनि नपुगेको बताउँदै पौडेलले संसद्‍को सबभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री पदमा पृथ्वीसुव्वा गुरुङलाई नै सपथ खुवाएकी थिइन् । गुरुङले अहिले अल्पमतको सरकारको नेतृत्व गर्दै आएका छन् । सपथ लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार गुरुङले बिहीबार विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?