कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीयको सक्रियताले घट्दै संक्रमण

प्रकाश बराल

बागलुङ — तीन साता अघिसम्म कोरोनाले ग्रसित ताराखोला गाउँपालिकामा अहिले सक्रिय संक्रमित ३ जना मात्रै छन् । सामान्य अवस्थाका उनीहरू गाउँपालिकाको आइसोलेसनमा छन् ।

स्थानीयको सक्रियताले घट्दै संक्रमण

केही दिनमै उनीहरू डिस्चार्ज हुने स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए । गाउँपालिकाको तीन सातासम्मको कठोर परिश्रमले यो उपलब्धि पाएको उनको भनाइ छ ।

‘हामीले संक्रमितलाई घरमा पनि बस्न दिएनौं, संस्थागत आइसोलेसनमा पनि दैनिक उपचार सेवा दिएर सुरक्षित बनायौं । व्यापक कन्ट्याक्ट ट्रेसिङ गरेर एक–दुई दिनमै संक्रमित नभएकाबाट अलग्यायौं,’ थापाले भने, ‘यो कामले छिट्टै चेनब्रेक भयो ।’ जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निरन्तर खटाइले लहरो रोक्न सकेको अध्यक्ष प्रकाश घर्तीले बताए । ‘सबैको साझा प्रयास भयो, घरघरमै शंकास्पद संक्रमित खोज्यौं,’ घर्तीले भने, ‘अहिले पनि गाउँ प्रवेशद्वारमा कडाइ गरेका छौं ।’ बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने योजना रहेको उनले सुनाए । यहाँ एक महिनामा डेढ सय बढी संक्रमित निको भएका छन् ।

संस्थागत संरचनामा क्वारेन्टाइन बनाएर शंकास्पदलाई राख्दा छिटो चेनब्रेक भएको घर्ती बताउँछन् । ‘हामीले कुनै पनि घरमा खोजी अभियान बाँकी राखेनौं, त्यसैले सफलता मिल्यो,’ घर्तीले भने, ‘दैनिक को भित्रियो भन्ने तथ्यांक राख्न थालेका छौं ।’ गाउँपालिकाले बनाएको सभाहलमा शौचालय, खानेपानी, सरसफाइ र नियमित परीक्षणसहितको क्वारेन्टाइन सञ्चालन गरिएको छ ।

क्वारेन्टाइन र आइसोलेसन बसेकालाई स्थानीय आमा समूहले दैनिक खाना खुवाएको स्थानीय भवीकला रोकाले बताइन् । जौको सातु, सागपात र ग्रामीण क्षेत्रमा उत्पादित अन्य खाद्यान्न खुवाउँदा संक्रमित छिटो निको भएको रोकाको अनुभव छ । ‘पारिवारिक रूपमा स्याहार गर्ने, अर्गानिक र तागतिलो खाना खुवाउने कार्यले सोचेभन्दा छिटो संक्रमित निको भए,’ उनले भनिन्, ‘कोही पनि जटिल समस्यामा परेनन् ।’ संक्रमणको पहिलो चरणमा यहाँकी एक जनप्रतिनिधिको मृत्यु भएको थियो । घरमै रोगले च्याप्दा सिकिस्त बनेकी वडा ३ की सदस्य तेजुमाया भण्डारीको धौलागिरि अस्पताल लगेको तेस्रो दिनमा निधन भएको थियो । उक्त घटनापछि तर्सेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले चौबिसै घण्टा खटिएर गाउँपालिकालाई शून्य संक्रमित बनाउन सकेको बताए ।

बागलुङ–११ को रायडाँडामा पनि संक्रमित शून्य छन् । कडा निगरानी, होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पालना र नियमित उपचार सेवामा स्वास्थ्यकर्मी खटिँदा यो सफलता पाएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । ‘एकैपटक १२ जनामा संक्रमण देखिँदा आत्तिएका थियौं, तर अहिले वडा संक्रमण शून्य छ ।’ स्वास्थ्य शाखा प्रमुख केयरसिंह थापाको नेतृत्वमा उपचारमा खटिँदा बिरामी भएर कोही पनि अस्पताल जान नपरेको उनले बताए ।

एकै घरका ४ सहित १० जनाको मृत्यु भएको बडिगाड गाउँपालिकाले पनि शून्य संक्रमणको तयारी गरेको छ । घरघरमा संक्रमितको खोजपडताल गरेर एन्टिजेन परीक्षणमार्फत चेनब्रेकको तयारी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । ‘पीसीआरको मात्रै भर परेको भए संक्रमण बढिरहने थियो, एन्टिजेनले ठूलो सहयोग भयो,’ उनले भने, ‘साता दिनसम्म रिपोर्ट नआएपछि गाउँ डुल्ने, स्वास्थ्य मापदण्ड पालना नहुने कारणले संक्रमण बढेको रहेछ ।’

१० मिनेटमै रिपोर्ट आएपछि संक्रमितलाई आइसोलेसनमा लगेपछि दुई सातामै चेनब्रेकको तयारी भएको उनले बताए । स्थानीय राजन पाइजाले युवा समूह बनाएर घरघरमा पुग्ने, सामान्य लक्षण देखिए परीक्षण गर्ने र पोजिटिभ देखिएकाको घरका सबै सदस्यको एन्टिजेन गरेपछि फैलावट थामिएको बताए । पालिका तहबाट सक्रियता देखाएका गाउँमा साताभित्रै ७ हजार एन्टिजेन गरिएको घिमिरेले बताए ।

प्रकाशित : जेष्ठ २६, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?