कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हट्यो अक्सिजनको पिरलो

दीपक परियार

पोखरा — कोभिड वार्डमा बेड भरिएर इमर्जेन्सीमा समेत संक्रमितलाई राख्नुपरेको दृश्य अचेल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा देखिँदैन । दुईवटा अक्सिजन नियन्त्रण कक्षमा टनाटन सिलिन्डर छन् । अक्सिजन सकिएला भन्ने पिरलो छैन । बरू अक्सिजन घटबढ गर्ने कर्मचारी छैनन्, सुरक्षा गार्ड छन् ।

हट्यो अक्सिजनको पिरलो

चार महिनादेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा सुरक्षागार्डका रूपमा खटिएका पोखरा छोरेपाटनका अनील गुरुङ सोमबार अक्सिजन सिलिन्डर जोड्दै गरेको भेटिए । अस्पतालमा कर्मचारीको अभाव भएकोले सुरक्षा गार्ड नै अक्सिजन कक्षमा खटिन्छन् । ८/८ घण्टामा एक/एक जना पालो गर्छन् ।

अस्पतालमा कोभिडको बिरामी नराख्दै उनी सुरक्षा गार्डकै रूपमा बढी खटिन्थे । वैशाखको तेस्रो सातादेखि संक्रमितको उपचार सुरु भएदेखि उनीसहित अन्य सुरक्षागार्ड पनि अक्सिजन कक्षमा खटिएका छन् । सुरक्षा गार्डले नै अक्सिजन कक्ष चलाउँछन् । अक्सिजन ग्यास कम्पनीसँग सम्पर्क गर्छन् । कहिलेकाहीं आफैं अक्सिजन उद्योगमा पुग्छन् । ‘बिरामी र अस्पतालको अवस्था हेरेर देखेको सबै काम गर्नुपर्छ,’ उनले भने, ‘यस्तो अवस्था देख्दादेख्दै मेरो काम होइन भनेर हात बाँधेर बस्न पनि भएन ।’ सुरक्षा गार्डलाई अस्पतालकै कर्मचारीले सेन्ट्रल सप्लाई सिस्टममा अक्सिजन सिलिन्डर जोड्न, घटबट गर्न सिकाएका हुन् ।

कोभिड वार्ड छिर्ने ढोकैनेर अक्सिजन कक्ष भएकाले पनि उनले त्यहाँ आउने सबैखाले संक्रमित देखेका छन् । धेरैजसो न्यून र मध्यम वर्गीय संक्रमित उपचारका लागि यहाँ आउँछन् । दुई साताअघि पूर्वी नवलपरासीबाट ३८ वर्षीया संक्रमित महिलालाई उनका श्रीमान्ले अस्पताल ल्याए । नवलपरासीमा सरकारी अस्पतालमा बेड नपाएको र निजीमा उपचार गर्न खर्चले नधानेपछि पोखरा ल्याएको ती महिलाका श्रीमानले बताएका थिए । श्रीमतीको अवस्था नाजुक हुँदा उनले अक्सिजनको फ्लो बढाइदिन अनीलसँग आएर बिलौना गरे 

श्रीमती बचाइदिन श्रीमान्ले गरेको बिलौना देखेर उनको पनि आँखाभरि आँसु भयो । गत साता ती महिलाको अस्पतालमै मृत्यु भयो । ‘बिरामीका कुरुवा यहाँ आएर अक्सिजन बढाइदिए आफ्नो आफन्त बाँच्छन् कि भनेर रोइकराइ गर्छन्,’ उनले भने, ‘हामीले मिल्नेसम्म गर्ने हो । बिरामी नबाँचेको देख्दा नरमाइलो लाग्छ ।’

अक्सिजन अभावमा जेठ १३ र १४ मा यस अस्पतालमा ८ जनाले ज्यान गुमाउँदा उनको ड्युटी परेको थिएन । ‘उद्योगबाटै अक्सिजन आउन ढिला भएको रहेछ,’ उनले भने, ‘त्यो घटनापछि यहाँ अक्सिजनको अभाव भएको छैन । उद्योगबाट पर्याप्त आएको छ ।’

गण्डकीमा घट्दै संक्रमण दर

अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बराल पछिल्लो दिनमा संक्रमितको चाप घटेकाले पनि अक्सिजन प्रयोग कम भएको बताउँछन् । उनका अनुसार कोभिडका लागि छुट्याइएको झन्डै ८० बेड भरिँदा दैनिक ३ सय ६० देखि १ सय ७० सिलिन्डर अक्सिजन खपत हुन्थ्यो । हाल उक्त संख्या घटेर २ सय ५० देखि २ सय ७० पुगेको छ । ‘अहिले जिल्ला जिल्लामै अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएकाले यहाँ संक्रमितको चाप केही घटेको छ,’ उनले भने, ‘अहिले कोभिड बेडको पर्खाइमा इमर्जेन्सी वार्डमा राख्नुपर्ने अवस्था छैन ।’ अस्पतालमा जटिल संक्रमित आउने क्रम भने नघटेको उनले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गएको दुई सातायता गण्डकीमा दैनिक थपिने संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आएको छ । जेठ १३ मा ३ हजार ३ सय ९९ जनामा परीक्षण गर्दा १ हजार ७ सय ३३ जना (५१ प्रतिशत) मा संक्रमण देखिएको थियो । जेठ २० मा २ हजार ३ सय ११ जनामा परीक्षण गर्दा ९ सय ६ जना (३९ प्रतिशत) मा संक्रमण देखियो । सोमबार २ हजार ४ सय १५ जनामा गरिएको परीक्षणमा ७ सय ९१ जनालाई कोरोना पुष्टि भयो । यो दर झन्डै ३३ प्रतिशत हो ।

प्रदेशमा बेड अभाव हुने समस्या यतिखेर छैन । ५ सय ७० आइसोलेसन बेडमध्ये ४ सय १९ खाली छन् । २ सय १२ आईसीयू बेडमध्ये ८७ वटा खाली छन् । ४ सय ६४ एचडीयू बेडमध्ये २ सय १ खाली छन् । ७६ भेन्टिलेटरमध्ये ३६ वटा मात्रै प्रयोगमा छन् । बाँकी ४० खाली छन् । मृत्यु हुनेको संख्यामा समेत कमी आएको छ । सामेबार एकै दिन १ हजार ५ सय ३० निको भएका छन् । प्रदेशमा हाल ८ हजार ४ सय ४६ सक्रिय संक्रमित छन् ।

प्रकाशित : जेष्ठ २६, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?