१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बारपाकमा एक सातामा ९ जनाको मृत्यु : दुईमा कोरोना पुष्टि, बाँकीको परीक्षणै भएन

हरिराम उप्रेती

गोरखा — बारपाक गाउँमा बुधबार एकै रात तीन जनाको मृत्यु भएको छ । उनीहरूमा कोरोनाकै जस्तो लक्षण देखिए पनि परीक्षण नभएको स्थानीयको भनाइ छ । 

बारपाकमा एक सातामा ९ जनाको मृत्यु : दुईमा कोरोना पुष्टि, बाँकीको परीक्षणै भएन

बुधबार राति ७५ र ७८ वर्षका पुरुष तथा ८० वर्षीया महिलाको मृत्यु भएको बारपाकका जित घलेले बताए । ‘आज बिहान अन्तिम संस्कार गर्दै छौँ,’ घलेले भने, ‘चिसो पनि बढेको छ, उहाँहरूलाई सामान्य रुघाखोकी र सास फेर्न गाह्रो हुने समस्या देखिए पनि कोरोना परीक्षण भएको थिएन ।’

स्थानीयका अनुसार एक साताको अवधिमा बारपाकमा एकै खाले लक्षणले ज्यान गुमाउनेको संख्या ९ पुगिसकेको छ । तीमध्ये दुई जनाको मात्र परीक्षण भएकोमा उनीहरूमा कोरोना पुष्टि भएको थियो ।

बारपाकको दलित बस्तीमा एक दिनको फरकमा दुई जनाले ज्यान गुमाएका छन् । आइतबार ५९ वर्षीय पुरुषको मृत्यु भएकोमा मंगलबार फेरि ७० वर्षीय व्यक्तिको ज्यान गएको हो । मंगलबार मृत्यु भएका व्यक्तिको चार दिनअघि गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ देखिएको स्थानीय उत्तम विकले बताए । आइतबार मृत्यु भएका ५९ वर्षीय पुरुषको भने कोरोना परीक्षण भएको थिएन । स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगे पनि बचाउन नसकिएको विकले बताए । ‘कमजोर मान्छे हुनुहुन्थ्यो, समयमै चेक भएन, अस्ति हेल्थपोस्ट लैजाँदा धड्कन लो भइसकेको रहेछ,’ उनले भने ।

त्यसअघि जेठ १ गते स्वाब संकलन गरिएकी बारपाककै ३८ वर्षीया महिलाको उपचारका क्रममा ६ गते मृत्यु भयो । तर स्वाब दिएको १२ दिन बित्दा पनि रिपोर्ट नआएको बारपाक स्वास्थ्य चौकीका इन्चार्ज अमरेन्द्रकुमार शाहले बताए ।

जेठ ७ गते मृत्यु भएका ८२ वर्षीय पुरुषको भने एन्टिजेन परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको बारपाक सुलिकोट गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव मोदराज भट्टले बताए । ‘एक साताको बीचमा नौ जनाको मृत्यु भएको छ,’ उनले भने, ‘उहाँहरूमध्ये दुई जनाको रिपोर्ट पोजिटिभ छ, अरूको परीक्षण भएको छैन ।’

गाउँमा रुघाखोकीका बिरामी बढेपछि गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी जेठ ९ गते एन्टिजेन परीक्षण गर्न बारपाक पुगेका थिए । तीन सयको परीक्षण गर्ने लक्ष्य रहे पनि १८ जनाको मात्र परीक्षण गर्न सकिएको भट्टले बताए । ‘गाउँमा बस्न पाइँदैन, छुट्टै बस्न पर्छ, पीसीआर गर्दा पैसा लाग्छ भन्ने भ्रम रहेछ,’ उनले भने, ‘रोग लुकाउने, नदेखाउने परिपाटीले समस्या पार्‍यो । हामीले पैसा लाग्दैन, घरमै बस्न पाइन्छ भनेर फकाई–फुल्याई १८ जनाको परीक्षण गर्‍यौं ।’ कोरोनाबाट मृत्यु भएका ८२ वर्षीय व्यक्तिको घरमा पुगेर अरूको स्वाब परीक्षण गर्न खोज्दा नमानेको उनले बताए । उनका अनुसार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।


प्रकाशित : जेष्ठ १३, २०७८ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?