कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८६ वर्षीयाले जितिन् कोरोना

प्रकाश बराल

बागलुङ — ‘माइली आमा’ उमेरले ८६ वर्ष लागिन् । यो उमेरसम्म बिरामी भएर अस्पताल भर्ना भएकी थिइनन् । अहिलेसम्म रोग पनि लागेको छैन । कोरोना संक्रमणले भने उनलाई छाडेन । तर पनि साहस र विश्वासले घरमै बसेर उनले कोरोना जित्न सफल भइन् । 

८६ वर्षीयाले जितिन् कोरोना

बागलुङ नगरपालिका–१२ अमलाचौरकी मतिकला आचार्यले २ साताको होम आइसोलेसनबाटै संक्रमण जित्न सफल भएकी हुन् । गाउँमा उनलाई सबैले ‘माइली आमा’ भनेर चिन्छन् । उनले कोरोना जितेको देखेपछि अन्य संक्रमितमा हौसला थपिएको छ । ‘गाउँभरि कोरोना फैलिएको छ भनेर जाँचियो, रोग लागेको छ भनेर डाक्टरले भने,’ उनले भनिन्, ‘मलाई केही भएको थिएन, छुट्टै बसें, निको पनि भएँ ।’ दैनिक तातोपानी र अरू दिनभन्दा धेरै खाना खाएर कोरोना जितेको उनको भनाइ छ । उनमा श्वासप्रश्वासमा समेत समस्या नभएको आचार्यका नाति अरुणले बताए । आत्मबल नै कोरोनाको मुख्य उपचार रहेको आमाले बताइन ।

उनले जीवनमा बिफर, औलोलगायत धेरै महामारी भोगेको बताइन् । कहिले झाडापखालाले गाउँका धेरै बिरामी परे । कतिको ज्यानै गयो । ‘त्यतिबेला पनि धेरै समस्या भएको थियो, घरघरै बिरामी हुन्थे, निस्कनै सकेका थिएनौं,’ उनले पुराना दिन स्मरण गर्दै भनिन्, ‘म भने बिरामी परेकी थिइन ।’ बरु त्यतिबेला पनि बिरामीको स्याहार गरेको उनले बताइन् । वर्षौंदेखि खरानी र माटोले मिचीमिची हात धुँदै आएकी छन् । साबुनपानी र सेनिटाइजर प्रयोग गरेको उनको पहिलो अनुभव हो ।

वैशाख ६ गते उनको पीसीआर गरिएको थियो । १० गते आएको रिपोर्टले संक्रमण देखायो । उनका छोरा ५५ वर्षका डिल्लीप्रसाद पनि संक्रमित थिए । वैशाख २० सम्म आइसोलेसनमा बस्न भने पनि उनी २४ गतेसम्म बसिन् । बरु छोरा डिल्लीप्रसाद बिरामी भए । श्वासप्रश्वासको समस्या आयो । खाना नरुच्ने, स्वाद थाहा नपाउने र शरीर दुख्ने लक्षण देखिए । छिमेकी स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि खाएर घरमै बसे ।

माइली आमा संक्रमणमुक्त भएको थाहा पाएपछि धौलागिरि अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.शैलेन्द्र पोखरेल गाउँमै भेट्न गए । ‘अहिले पनि घरका छोराबुहारीभन्दा उहाँ टाठी देखिनुभयो, आत्मबलले रोग निको हुने रहेछ भन्ने उहाँको अनुभवले बुझिन्छ,’ पोखरेलले भने, ‘होम आइसोलेसनमा बस्दा स्वास्थ्यको मापदण्ड भने पालना गर्नुपर्छ ।’ नियमित मास्क लगाउने, शौचालय र भाँडाकुँडा फरक बनाउनेबित्तिकै धेरै सुरक्षित हुने उनले बताए ।

होम आइसोलेसनमा बस्दा माइली आमाले कोरोनाबिरुद्धको पहिलो खोपसमेत लगाएकी छन् । अमलाचौर, पैयुँपाटा र नारायणस्थानमा ३ सय ५० संक्रमित होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

प्रकाशित : जेष्ठ ११, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?