रातदिन खट्दै युवा

पर्वत — वैशाख ११ मा जलजला गाउँपालिकाको २, ३ र ४ वडाका गाउँमा ७ वटा वैवाहिक कार्यक्रम भएपछि कोरोना संक्रमण ह्वात्तै बढ्यो । मल्लाजका ४१ जनाको स्वाब परीक्षण गर्दा ३६ जनामा संक्रमण देखियो । वैशाख तेस्रो सातादेखि गाउँभरि सन्नाटा छायो ।

परीक्षण नगरिएका पनि भकाभक बिरामी पर्न थाले । गाउँपालिकामा भएको एउटा एम्बुलेन्सले धान्ने अवस्था भएन । त्यसपछि विभिन्न वडाका युवाहरू जुटेर आफैं बिरामीको सहयोग, उपचार र उद्धारमा खटिरहेका छन् ।
युवाले गाउँमा घरघरै बिरामी पर्न थालेपछि वारिबेनीमा सामूहिक कोठामा बसेर सेवा दिँदै आएका छन् । युवाले गाउँमा घरघरै बिरामी पर्न थालेपछि वारिबेनीमा सामूहिक कोठामा बसेर सेवा दिँदै आएका छन् । करिब १५ युवा रातदिन नभनी सेवामा खटिइरहेको स्थानीय नवीन जीसीले बताए । ‘गाउँभरि बिरामी भएपछि हामी चुप लागेर बस्नुहुन्न भनेर आफूसँग भएको स्रोतसाधन परिचालन गरिहाल्यौं,’ उनले भने ।
‘हामी घरपरिवारसँग भेट नभएको ३ साता भइसक्यो,’ अभियानमा खटिएका राजु आचार्यले भने, ‘अहिलेसम्म २०० भन्दा धेरैको उद्धार गरियो ।’ आचार्यका अनुसार युवाले दुईवटा सानो कार र दुईवटा बोलेरो जिप बिरामी बोक्न प्रयोग गर्दैआएका छन् ।
सवारीसाधनमा बिरामी ओसारेर अस्पतालसम्म पुर्याउन अक्सिजनको समेत जोहो गरिएको छ । ५ वटा अक्सिजन सिलिन्डर र एउटा इलेक्ट्रिक अक्सिजन मेसिन जडान गरिएको अभियन्ता रामजी बोहोराले बताए ।
