कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट अभावमा अक्सिजन प्लान्ट ठप्प

प्रकाश बराल

बागलुङ — धौलागिरि अस्पतालको अक्सिजन प्लान्ट आठ लाख रुपैयाँ खर्चेर सर्भिसिङ गर्ने हो भने ८ महिनालाई पुग्ने अक्सिजनको जोहो हुन्छ ।

बजेट अभावमा अक्सिजन प्लान्ट ठप्प

जिल्ला कोभिड व्यवस्थापन समिति डीसीसीएमसीले पनि प्लान्ट सर्भिसिङको निर्णय गर्छ । तर बजेटका लागि सम्बन्धित निकायबीच नै तालमेल नहुँदा निर्णय कार्यान्वयन हुन सकिरहेको छैन ।

स्थानीय पालिका र प्रदेश मन्त्रालयको समन्वय अभावले अत्यावश्यक सेवा सञ्चालनमा कठिनाइ भएको छ । हाई फ्लो अक्सिजन दिँदा पनि सात/आठ महिना निरन्तर चल्ने कामलाई बजेट नपाएर हारगुहार गर्नुपरिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए । साता दिनभित्रै सर्भिसिङ नभएमा अस्पतालमा जडान गरिएको प्लान्ट ठप्पै हुन सक्ने उनले गुनासो गरे । अहिले यहाँका ३० वटा बेडमा प्लान्टबाट अक्सिजन दिइएको छ ।

धौलागिरि अस्पतालमा जटिल समस्या भएका २८ कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । त्यसबाहेक बागलुङ नगरपालिकाले तयार गरेको ३५ बेडको आइसोलेसनमा सिलिन्डरमार्फत अक्सिजन दिइएको छ । ताराखोला, बडिगाड र काठेखोला गाउँपालिकाले पनि सिलिन्डरको व्यवस्थापन गरेर बिरामी उपचार गरिरहेका छन् ।

सिलिन्डर सकिनासाथ भर्नका लागि पोखरा पठाउनुपर्छ । प्लान्टमा अक्सिजन भर्ने ‘कम्प्रेसर मेसिन’ नभएपछि खाली सिलिन्डर पोखरा पठाउने गरिएको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । ‘दैनिक २० देखि २५ सिलिन्डर खाली हुन्छन्, पठाउने, भर्ने काममा धेरै व्यस्त हुनुपर्छ,’ खनालले भने । स्वास्थ्यकर्मीले बिरामीसँगै अक्सिजनको पनि चौबीसै घण्टा निगरानी गर्नुपरिरहेको उनले बताए । उनका अनुसार कम्प्रेसर मेसिन भएमा प्लान्टबाटै सिलिन्डरमा भर्न सकिन्छ ।

प्रकाशित : वैशाख २८, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?