कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पालिकापिच्छे अक्सिजनसहितका आइसोलेसन

‘सीसी क्यामेरा पनि जडान भएको छ, त्यसैले चौबिसै घण्टा बिरामीको निगरानी हुन्छ’
आश गुरुङ

बागलुङ, लमजुङ — बेड अभावमा धौलागिरि अस्पतालमा बिरामी भर्ना गर्न नसक्ने अवस्था सुरु भएपछि जिल्लाका सबै पालिकाले आइसोलेसन बनाउन थालेका छन् । ढिला गरी काम थाले पनि पालिकाले अक्सिजनसहितका बेड बनाएको बताए ।

पालिकापिच्छे अक्सिजनसहितका आइसोलेसन

‘सुरुमा अन्योल थियो, के गर्ने भनेर बस्दै थियौं, अब ठोस काम गरेर देखायौं,’ बागलुङ नगरपालिका स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालले भने, ‘हामीले बनाएका आइसोलेसनमा चौबिसै घण्टा स्वास्थ्यकर्मी रहनेछन् ।’ अस्पतालको बेड जत्तिकै उपयोगी आइसोलेसन बनाएको उनले बताए ।

रात्माटास्थित पुरानो भवनमा ४२ बेडको आइसोलेसन बनाइएको हो । आवश्यक पर्दा थप गर्ने गरी ३५ वटा बेडमा अक्सिजन जडान भइसकेको छ । खानेपानी र शौचालयको प्रबन्ध छ । २ स्वास्थ्यकर्मीले नियमित पहरा दिएका छन् । भर्ना हुने संक्रमितलाई नगरपालिकाले खुवाउने व्यवस्थापन गरेको जनस्वास्थ्य निरीक्षक डिल्लीप्रसाद आचार्यले बताए । ‘सीसी क्यामेरा पनि जडान भएको छ, त्यसैले चौबिसै घण्टा बिरामीको निगरानी हुन्छ’ आचार्यले भने, ‘अत्यावश्यक उपकरण र औषधि पनि आइसोलेसन केन्द्रमा पुगेका छन् ।’

पालिकाले अक्सिजन सिलिन्डरसमेत खरिद गरेर ल्याएको बताए । यसैगरी ताराखोला गाउँपालिकाले १५, काठेखोला गाउँपालिकाले ५ बेड आइसोलेसन बनाएका छन् । गलकोट नगरपालिकाले वडा २ को स्वास्थ्य चौकी भवनमा २० आइसोलेसन बेड बनाइएको छ । यसअघि पालिका तहमा स्थापना भएका कोभिड अस्पताललाई पनि तयारी अवस्थामा राखिएको स्वास्थ्य शाखा प्रमुखहरूले बताए । ढोरपाटन नगरपालिकाले प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा ५० जनासम्म संक्रमित राख्न सक्ने व्यवस्थापन गरेको हो । अन्य गाउँपालिका तहमा भने यसअघि तयार भएका ५/५ बेडबाट बढाएर १० देखि १५ सम्म बनाएका छन् ।

बागलुङमा शुक्रबारसम्म ३ सय १५ कोरोनाका सक्रिय संक्रमित छन् । शुक्रबार मात्रै ६० जनाको पीसीआर परीक्षण गरिएकोमा ४७ जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । तीमध्ये बडिगाड गाउँपालिका–४ मा मात्रै ३५ जनाको पीसीआर गरिएकोमा ३० जनामा कोरोना देखिएको छ । बडिगाडले ग्वालीचौर स्वास्थ्यचौकीमा १५ जना राख्ने आइसोलेसन बनाएको छ । जिल्लामा शुक्रवारसम्म २ सय आइसोलेसन बनेका हुन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिले भने लक्षण नदेखिएका संक्रमितलाई आइसोलेसनमा नबस्न आग्रह गरेको छ । गतसाता संक्रमण पुष्टि भएर धौलागिरि अस्पताल आएका गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेलाई समितिले घरमै फर्काएको थियो । ‘लक्षण देखिएका र जटिल समस्या भएकालाई राख्ने भनेर मलाई घर फर्काइयो,’ गैरेले भने, ‘म घरमै आराम गरेर बसेको छु, सामान्य खोकी थियो, औषधि खाएँ ।’

आइसोलेसन कम्तीमा एक जना दक्ष स्वास्थ्यकर्मी वा चिकित्सकको निगरानीमा अक्सिजनसमेतको व्यवस्थापन हुनुपर्ने प्रावधान बनाएको जिल्ला स्वास्थ्य कार्यालयप्रमुख सुरज गुरौले बताए । ‘गतवर्ष बिरामी कम थिए, त्यसैले एक्लो बनाए पुग्थ्यो, अहिले उपचारै चाहिने अवस्थाका धेरै छन्,’ उनले भने, ‘पालिका तहमा पनि भरपर्दो भएपछि मात्रै आइसोलेसनको मान्यता दिएका छौं ।’ पत्रकार महासंघ जिल्ला शाखाले पनि १० बेड आइसोलेसन बनाएको छ ।

आइसोलेसन बनाउन स्थानीय तहको सहयोग

लमजुङ जिल्लाका स्थानीय तह आफैंले आइसोलेसन निर्माण गरेका छैनन् । आइसोलेसन व्यवस्थापनको लागि सामुदायिक रूपमा सञ्चालन गरिएको २ अस्पताललाई भने सहयोग गरेका छन ।

बेंसीसहरस्थित जिल्ला अस्पतालमा २५ बेड र सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा ४० बेडको आइसोलेसन निर्माण गरिएको छ । अक्सिजन, मनिटरसहित आइसोलेसनको सामग्री खरिद गर्न यी दुई अस्पताललाई जिल्लाका ८ वटै स्थानीय तहले सहयोग गरेका छन् ।

बेंसीसहरस्थित जिल्ला अस्पतालमा तयार पारिएको आइसोलेसन कक्ष । तस्बिर : आश गुरुङ/कान्तिपुर

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का संयोजक एवं प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार अहिले २ अस्पतालमा आइसोलेसन तयार पारिएको छ ।

सहजीस्थित सहरी विकास कार्यालयको भवनलाई सुरक्षाकर्मीको आइसोलेसन बनाउने तयारी गरिएको छ । उनका अनुसार जिल्ला अस्पताललाई १२ लाख र नमुना सामुदायिक अस्पताललाई १८ लाख रुपैयाँ दिने गरी स्थानीय तहबाट बजेट व्यवस्थापन गरिएको छ ।

बेंसीसहर र सुन्दरबजार नगरपालिकाले ६/६ लाख रुपैयाँ, राइनास र मध्यनेपाल नगरपालिका साथै क्व्होलासोंथर, मर्स्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिकाले ३/३ लाख सहयोग गर्ने भएका हुन् । गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन तयारी पारिएको प्रजिअ लुइँटेलले बताए ।

‘जिल्ला अस्पतालमा अक्सिजन, मनिटरसहितको आइसोलेसन बनाइएको छ । तत्काल सिलिन्डरबाट अक्सिजन दिइने व्यवस्था मिलाइनेछ,’ उनले भने । उनका अनुसार अस्पतालमा अक्सिजन प्लान्टका लागि तयारी गरिएको र एक साताभित्र मेसिन आउने र बेड–बेडमा अक्सिजन पुर्‍याइने उनले बताए ।

प्रकाशित : वैशाख २५, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?