कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँ भित्रिनेको छैन तथ्यांक

‘अहिले विदेशबाट आउनेको तथ्यांक राख्ने, क्वारेन्टाइन बनाउनेतिर ध्यान दिने जनशक्ति नै छैन । अहिले मुख्य रुपमा संक्रमितको व्यवस्थापन कसरी गर्ने भन्ने हो ।’
प्रदेश ब्युरो

पोखरा — कोरोना महामारीको पहिलो लहर आउँदा स्थानीय तह प्रवेश गर्ने नाकामा चेकपोस्ट भेटिन्थे । वडाले तेस्रो मुलुक, भारत र सहरबाट समेत गाउँ प्रवेश गर्नेको तथ्यांक राख्थे । क्वारेन्टाइनमा १४ दिन अनिवार्य बसाल्थे ।

गाउँ भित्रिनेको छैन तथ्यांक

कोरोनाको दोस्रो लहर भित्रिँदा भने कास्कीका स्थानीय तहसँग न त विदेशबाट भित्रिनेको तथ्यांक छ, न त क्वारेन्टाइनको व्यवस्था नै गरेका छन् ।

कास्कीका स्थानीय तहले छुट्टै व्यवस्था नगरी होम क्वारेन्टाइनलाई नै जोड दिएका छन् । छुट्टै क्वारेन्टाइन यसपल्ट स्थानीय तहको प्राथमिकतामा छैन । ५ स्थानीय तहमध्ये पोखरा महानगरपालिका, मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकासँग विदेशबाट भित्रिनेको तथ्यांक छैन । रूपा गाउँपालिकाले मात्रै त्यस्तो तथ्यांक राखेको छ । रूपामा हाल विदेशबाट घर फर्किएका ३७ जना होम क्वारेन्टाइनमा छन् ।

पहिले विभिन्न वडामा क्वारेन्टाइनको व्यवस्था गरेको पोखरा महानगरपालिकाले यसपल्ट आइसोलेसनसम्म सञ्चालनमा ल्याउन सकेको छैन । यसअघि धेरैजसो क्वारेन्टाइन सार्वजनिक भवन र विद्यालयमा बनाइएका थिए । कोभिड न्यूनीकरणसँगै हटेका क्वारेन्टाइन पुनः सञ्चालनमा आएनन् । पोखरा–३३ भरतपोखरीमा रहेको महानगरपालिकाको भवनलाई आइसोलेसन वार्ड बनाउने तयारी भए पनि पूरा भइसकेको छैन । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले हाल आइसोलेसन प्राथमिकतामा परेको बताउँछन् । संक्रमितको संख्या अत्यधिक रहेकाले बाहिरबाट आउनेको भन्दा संक्रमितकै हेरविचारमा समय दिनुपरेको उनको भनाइ थियो । ‘अहिले विदेशबाट आउनेको तथ्यांक राख्ने, क्वारेन्टाइन बनाउनेतिर ध्यान दिने जनशक्ति नै छैन,’ उनले भने, ‘अहिले मुख्य रूपमा संक्रमितको व्यवस्थापन कसरी गर्ने भन्नेमै हाम्रो ध्यान छ ।’

मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले पनि होम क्वारेन्टाइनलाई नै प्राथमिकतामा राखेको बताए । ‘पहिलाजस्तो यसपालि बाहिरबाट आउनेको तथ्यांक राखिएन,’ उनले भने । माछापुच्छ्रे गाउँपालिकामा पनि क्वारेन्टाइनको व्यवस्था छैन । गाउँपालिकाले बनाएको ५ बेडको आइसोलेसन वार्ड खाली छ । गाउँपालिकाका सूचना अधिकारी युवराज पौडेलले क्वारेन्टाइनको आवश्यकता नदेखेकोले त्यतातिर ध्यान नदिएको बताए ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले हाल होम क्वारेन्टाइनलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय भएको बताए । गाउँपालिकाको निर्णयअनुसार होम क्वारेन्टाइनमा बस्ने व्यवस्था नभएकालाई सार्वजनिक भवनमा राख्ने, उक्त भवन भरिएपछि बल्ल विद्यालयका भवन प्रयोग हुनेछन् । कास्कीमा हाल सक्रिय संक्रमित २ हजारभन्दा बढी छन् । बिहीबारसम्म २ सय ३८ संक्रमितको मृत्यु भएको छ ।

पर्वतका स्थानीय तह पनि कोरोनाको दोस्रो लहरमा भने चुपचाप छन् । गतवर्ष लकडाउन सुरु भएलगत्तै सामुदायिक भवन, विद्यालय, होटल लगायत भवनमा क्वारेन्टाइनसहित पालिकाले सीमामा ज्वरो क्लिनिक, होल्डिङ सेन्टर बनाएका थिए । तर, यसपटक जिल्लाभर संक्रमितको संख्या बढिरहेको भए पनि न जिल्ला प्रवेश गर्नेको तथ्यांक छ न अन्य भौतिक पूर्वाधार नै । पर्वत अस्पतालका तथ्यांक अधिकृत प्रवीण भण्डारीका अनुसार बिहीबारसम्म पर्वतमा १ सय ७ सक्रिय संक्रमित छन् । ‘अघिल्लो पटक नाकासँग सीमा जोडिएका जिल्लाबाट खबर आउँथ्यो । रेकर्ड राख्न सजिलो हुन्थ्यो,’ कोभिड रोकथाम जिल्लास्तरीय समिति (डीसीसीएमसी) सदस्य घनश्याम गौतमले भने, ‘अहिले कुनै रेकर्ड छैन । पालिकाले पनि खासै चासो दिएको पाइएको छैन ।’

वैशाखको पहिलो साता भारतबाट ४ युवा बागलुङको बलेवा आए र सोझै घर पुगे । उनीहरू निस्फिक्री घुमेकै कारण एकैपटक गाउँका ४० जनामा कोरोना देखियो । कन्ट्याक्ट ट्रेसिङ अहिलेसम्म चलिरहेको छ । ट्रेसिङमा परेकाको पीसीआर गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

पीसीआर गरेका अधिकांशमा संक्रमण पुष्टि भए पनि बागलुङमा बाहिरबाट आउनेको तथ्यांक भने राखिएको छैन । तथ्यांक नभएपछि लक्षण देखिएकाको मात्रै पीसीआर परीक्षण गरिँदै आएको हो । अघिल्ला वर्ष हेल्थ डेस्कमा सोधपुछ गरेर विदेशबाट आएको वा अन्य जिल्लाबाट प्रवेश गरेको भन्ने तथ्यांक राखिन्थ्यो । प्रवेशद्वारमा टिपेको तथ्यांक सम्बन्धित नगर तथा गाउँपालिकामा पठाउने गरिएको थियो ।

‘अहिले जुनसुकै स्थानबाट आएका मानिस जोखिममा छन्, त्यसैले तथ्यांक राख्ने कामै गरिएन,’ स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले भने । जिल्लामा लकडाउन र निषेधाज्ञा लगाउनुअघि पनि भारत लगायतका देशबाट आउनेको तथ्यांक राखिएको थिएन । ‘भारतबाट आएकाले गर्दा विद्यालय र समुदायमा संक्रमण फैलिएको थियो’ नागरिक समाजका अध्यक्ष काजीगाउँले श्रेष्ठले भने, ‘होल्डिङ सेन्टर नबनाउनु अहिलेको ठूलो भूल हो ।’ प्रशासनले चासो राखे पनि पालिकाबाट सहयोग नपाएर होल्डिङ सेन्टर बनाउन ढिला भएको प्रजिअ शिवकुमार कार्कीले बताए ।

म्याग्दीमा पनि जिल्ला भित्रिनेको कुनै अभिलेख छैन । एक साताअघि जिल्ला प्रवेशद्वार सदरमुकाम बेनीको कालीपुलमा होल्डिङ सेन्टर स्थापना गरी सवारी साधनबाट आएका यात्रुको ट्याकिङ सुरु गरिए पनि प्रभावकारी हुन सकेको छैन ।

समयमै सचेत नहुँदा जोखिम क्षेत्रबाट जिल्ला भित्रनेको अभिलेख राख्न, संक्रमणको व्यवस्थापन गर्न स्थानीय प्रशासन र सरकार चुकेका हुन् ।

लमजुङ दूधपोखरी गाउँपालिका–२ मा भारतबाट एक जना युवक आएर फर्किएपछि उनका आफन्त तथा गाउँलेमा रुघाखोकी र ज्वरो सुरु भयो । ७ जनामा कोरोना पोजिटिभ देखियो । स्वास्थ्य शाखा प्रमुख बुद्धि गुरुङका अनुसार वडा ५ मा बस्ने एक जना सिंगपुरबाट आएकामा कोरोना पोजिटिभ देखियो । विदेशबाट आउनेले कोरोना ल्याएको यस्ता प्रमाण भए पनि दूधपोखरीलगायत अन्य स्थानीय तहले विदेशबाट आउनेको तथ्यांक राखेका छैनन् । न त जोखिमपूर्ण जिल्लाबाट आएकाको रेकर्ड पनि छैन ।

गोरखा भित्रिनेको पनि निगरानी हुन सकेको छैन । संक्रमण देखिएका ठाउँबाट आएकालाई होम क्वारेन्टाइनमा राख्न नसक्दा गाउँ–गाउँमा संक्रमणको जोखिम बढेको छ ।

-दीपक परियार (पोखरा), अगन्धर तिवारी (पर्वत), प्रकाश बराल (बागलुङ), घनश्याम खड्का (म्याग्दी), आश गुरुङ (लमजुङ), हरिराम उप्रेती (गोरखा)

प्रकाशित : वैशाख २४, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?