कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँका सरकारी अस्पतालमा ६९ अक्सिजन सिलिन्डर मात्रै

सम्झना रसाइली

तनहुँ — संक्रमितको संख्या एक सय नाघेपछि जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्लाका १० वटै पालिकाले संक्रमण रोकथाम तथा संक्रमितको व्यवस्थापनका लागि आवश्यक तयारी अगाडि बढाइरहेका छन् ।

तनहुँका सरकारी अस्पतालमा ६९ अक्सिजन सिलिन्डर मात्रै

स्वास्थ्य संस्थाले पनि संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधार, औषधि, अक्सिजनजस्ता वस्तुको जोरजाम गर्न थालेका छन् ।

यस्तै, जिल्लाका ३ सरकारी स्वास्थ्य संस्थामा ६९ वटा अक्सिजन सिलिन्डर र १० वटा अक्सिजन कन्सन्ट्रेटर मात्र मौज्दात रहेका छन् । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सानो/ठूलो गरी ३२, दमौली अस्पतालमा ३० र बन्दीपुर अस्पतालमा ७ अक्सिजन सिलिन्डर मौज्दात छन् । यस्तै, केन्द्रमा ५ र बन्दीपुरमा ५ कन्सन्ट्रेटर छन् ।

उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले भने, ‘अहिले हामीसँग रहेको अक्सिजन सिलिन्डर आलोपालो गर्दै प्रयोग गर्न सहज होला । तर संक्रमित बढ्दै गए पर्याप्त रूपमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सक्दैनौं ।’ भविष्यमा आउने जोखिमलाई मध्यनजर गर्दै पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर खरिद गरेर राख्न सके जोखिम कम गर्न सकिने उनले बताए । अक्सिजन सिलिन्डर व्यवस्थापनका लागि सम्बन्धित निकाय, संघसंस्थाले चासो दिएर अगाडि बढ्नुपर्ने दमौली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुनिल पौड्यालले बताए । उनले भने, ‘स्थानीय तह, विभिन्न संघसंस्थाको साथबिना हामी एक्लैले गर्न सक्ने काम पनि होइन । त्यसैले हामीलाई सबैको साथ सहयोगको आवश्यकता रहेको छ ।’

अहिले अस्पतालमा ४ भेन्टिलेटरसहितको ७ वेडको आइसोलेसन कक्ष छ । सामान्य लक्षण देखिएका कोरोना संक्रमितलाई १६ बेडको जनरल कक्ष पनि तयार गरिएको पौड्यालले बताए । ‘हामीसँग जम्मा ३० सिलिन्डर छन्,’ उनले भने, ‘एकै पटक कोरोनाका श्वासप्रश्वासका धेरै बिरामी आए भने एक साता पनि धान्न सक्दैनौं । थप ३० वटा किन्ने तयारीमा छौं ।’

गण्डकी प्रदेश सरकारले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न ७५ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि अहिलेसम्म स्थापना हुन सकेको छैन । विभिन्न जिल्लामा कोभिड संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भएको समाचार आइरहँदा यहाँ अक्सिजन भण्डारण र प्लान्ट स्थापना गर्न सरोकारवाला निकाय नसकिरहेको बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताए । उनले भने, ‘पछि सबैतिर अक्सिजनको अभाव हुन थाल्यो भने पैसा तिरेर पनि खरिद गर्न पाइँदैन । अहिले अवस्था सहज हुँदैमा अक्सिजन भण्डारण गर्न सकेमा राम्रो हुने थियो ।’

प्रकाशित : वैशाख २४, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?