कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइसोलेसनमा बेड अभाव

एक सय बेड स्टोरमै थन्किए
प्रकाश बराल

बागलुङ — कोरोना संक्रमितका आफन्तले धौलागिरि अस्पतालको आइसोलेसनका लागि दैनिक शय्या खोजी गरिरहेका छन् । तर अस्पतालले खाली नभएको भन्दै घरघरमै बस्न भनेको छ ।

आइसोलेसनमा बेड अभाव

गत वर्ष नै गण्डकी प्रदेश सरकारले यस अस्पताललाई ५० बाट बढाएर २ सय बेड क्षमताको बनाउने घोषणा गरेको थियो । घोषणाअनुसार सामाजिक विकास मन्त्रालयले झन्डै १ सय बेडसमेत पठाइसकेको छ । तर अस्पतालमा जडान भने हुन सकेको छैन ।

निर्माणाधीन ‘सी ब्लक’ भवन अलपत्र परेकाले बेड जडान गर्न नसकिएको अस्पतालले जनाएको छ । बेड स्टोरमा थन्किँदा बिरामी भने घरघरमा बस्न बाध्य छन् । सीमित बेडमा जटिल समस्या भएकालाई मात्रै राखेर उपचार गर्नुपरेपछि सामान्य बिरामीलाई घरमै बस्न लगाइएको अस्पतालका मेसु डा. शैलेन्द्र पोखरेलले बताए ।

६ वर्षअघि सकिनुपर्ने अस्पताल भवन अझै नसकिएपछि ल्याइएका बेड स्टोरमा थन्क्याउनु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । ठाउँ नभएपछि बेड स्टोरभित्रै माकुराको जालोले घेरिएको छ । ‘म अध्यक्ष भएर आएको पनि दुई वर्ष पुगिसक्यो, अहिलेसम्म भवन बनाउने ठेकेदार भेटेको छैन,’ रानाले भने, ‘भवन अलपत्र हुँदा बेड उपयोगविहीन भए ।’ निर्माणाधीन भवनको भुइँतला वा छतमा व्यवस्थापन गरेर बेड राख्न खोज्दा लाखौं खर्च लाग्ने भएपछि छाडेको उनले बताए ।

ठेकेदारलाई पटकपटक सम्पर्क गरे पनि काम अलपत्र छाडेको उनले टिप्पणी गरे । भवन निर्माणको ठेक्का मिलेनियम बिल्डर्स निर्माण सेवाले लिएको हो । २०६९ सालमै पहिलो भवनको उद्घाटन भएकोमा गत वर्ष अस्पताल व्यवस्थापनले हस्तान्तरण नभएको बी ब्लक आफ्नै खर्चमा मर्मत गरेर चलाएको थियो । सी ब्लकका लागि पनि लाखौं खर्च गर्नुपर्ने भएपछि व्यवस्थापनले नसकेको रानाले बताए ।

ठेकेदार कम्पनीका प्रमुख शिव ढकालले ३ वर्षअघि नै सक्ने आश्वासन दिएपनि अहिलेसम्म अलपत्रै छ । धौलागिरि अस्पतालमा अहिले २५ मात्रै आइसोलेसन बेड छन् । अन्य २५ बेड इमरजेन्सीलगायत बिरामीलाई छुट्याइएको छ । २ सय बेड बनाउने योजना भवन अभावले अलपत्रै परेको मेसु पोखरेलले बताए । ‘ठेकेदारले नयाँ भवन हस्तान्तरण नगरेसम्म स्टोर पनि खाली गर्न नसकिने भयो,’ पोखरेलले भने, ‘जटिल बिरामीलाई समेत बेड अभाव भएको छ, आइसोलेसन बढाउने योजना पूरा गर्न सकिएन ।’ बागलुङमा २ सय बढी सक्रिय संक्रमित रहेकोमा अधिकांश होम आइसोलेसनमा छन् । समस्या परेर आउन खोज्नेलाई समेत बेड नभएर घरमै बस्न भनिएको उनले बताए ।

अस्पतालमा प्रसूति, डायलसिस, दन्तसेवा, ल्याबलगायतमा समेत झन्डै २५ बेड चाहिन्छ । प्रयोगमा ल्याउन नपाएर वार्डमा पनि चाहेजति बिरामी राख्न नसकेको पोखरेलले गुनासो गरे । ‘संक्रमणको जोखिमको बेला वार्डहरू साँघुरा भएका छन्, त्यसैले कतिपय बिरामी फिर्ता गर्नुपरेको छ,’ पोखरेलले भने, ‘अक्सिजन बिस्तार गर्न पनि पाइएको छैन ।’ अक्सिजन प्लान्ट भए पनि सी ब्लक नबनेपछि बिस्तार गर्न नसकेको उनले बताए । सर्भिसिङ नियमित गरेमा १ सयभन्दा बढी बेडमा नियमित अक्सिजन दिने गरी प्लान्ट निर्माण हुनेछ ।

अस्पतालमा बेड अभाव भएपछि बागलुङ नगरपालिकले बिहीबारदेखि २५ बेड आइसोलेसन सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रात्माटास्थित पुरानो भवन सरसफाइ गरेर बेड राखिएको नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । ‘केही अक्सिजन सिलिन्डरसमेत राखेर बेड निर्माण भएको छ,’ खनालले भने, ‘अस्पतालको विकल्प दिन खोजेका हौं ।’

प्रकाशित : वैशाख २४, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?