२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बनेनन् हेल्थ डेस्क र होल्डिङ सेन्टर

४० प्रतिशतसम्म संक्रमित, बिनारोकटोक सोझै घर
प्रकाश बराल

बागलुङ — दिनदिनै संक्रमित बढिरहे पनि जिल्लाको कुनै पनि स्थानमा हेल्थ डेस्क र होल्डिङ सेन्टर बनेका छैनन् । डेस्क र सेन्टर नभएपछि भारतदेखि आएका सोझै गाउँ पुगेका छन् । यसले समुदायमा संक्रमण फैलिएको छ । संक्रमण पुष्टि भएका एक सय २५ जना घरै बसेका छन् ।

बनेनन् हेल्थ डेस्क र होल्डिङ सेन्टर

रुघाखोकी र ज्वरोका बिरामी धेरै भेटिन थालेपछि परीक्षण गर्दा ४० प्रतिशतसम्म संक्रमित भेटिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । ‘होल्डिङ सेन्टर बनाएर राखियो भने संक्रमित सिधै गाउँ पुग्न पाउँदैनन्, समुदायमा संक्रमण फैलिँदैन,’ घिमिरेले भने, ‘त्यसका लागि प्रशासन र स्थानीय तहले पहल गर्नुपर्छ ।’

अघिल्लो वर्ष लकडाउन हुनुपूर्व नै जिल्ला प्रवेशद्वार मालढुंगा र खरवाङमा हेल्थ डेस्क थियो । बाहिरबाट आएकाको स्वास्थ्य परीक्षण गरिन्थ्यो । त्यसपछि होल्डिङ सेन्टर पठाउने, क्वारेन्टाइनमा राख्ने र लक्षण वा कोरोना पोजिटिभ देखियो भने आइसोलेसनमा पठाइएको थियो । यसपटक भने तयारी फितलो भएको नागरिक समाजका अगुवा काजीगाउँले श्रेष्ठले बताए । ‘समयमा तयारी नगरेपछि कुनै अर्थ रहँदैन,’ उनले भने, ‘समुदायमा संक्रमण फैलिसकेपछि नियन्त्रण गर्नै सकिँदैन ।’ जिल्लामा डेढ सय सक्रिय संक्रमित छन् ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले हेल्थ डेक्स राख्ने तयारी भएको बताए । ‘टाढाबाट आएकाको सोधीखोजी भइरहेको छ, देशभर लकडाउन नभएकाले आएकालाई सकुशल घर पुग्ने वातावरण बनाउनैपर्छ,’ कार्कीले भने, ‘सेनाको सहयोगमा होल्डिङ सेन्टर बनाउन पनि पहल भएको छ ।’ स्थानीय शान्ति समितिको भवनलाई उपयोग गरेर कम्तीमा २५ देखि ३० जनालाई सेन्टरमा राख्ने योजना उनले सुनाए । बस्नेखाने व्यवस्थापनका लागि स्थानीय तहसँग स्रोत खोजी भइरहेको उनले बताए ।

स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले होल्डिङ सेन्टर बनाएमा सम्भावित संक्रमित खोज्दै गाउँ पुग्न नपर्ने बताए । ‘हरेक दिन होल्डिङमा आएकाको पीसीआर गर्दा समुदायमा संक्रमण रोकिन्छ,’ गुरौले भने, ‘चेनब्रेक हुनासाथ समुदाय सुरक्षित बनाउन सकिन्छ ।’

कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिए पनि समुदायमा खोजपड्ताल कठिन भएको उनले बताए । धौलागिरि अस्पतालमै पीसीआर परीक्षण सुरु भएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?