ऐना फुटाएको निहुँमा बालकको हत्या- गण्डकी - कान्तिपुर समाचार

ऐना फुटाएको निहुँमा बालकको हत्या

कान्तिपुर संवाददाता

लमजुङ — आमाले छाडेर हिँडेपछि ७ वर्षीय युकेश गुरुङ बुबा राजकुमार र हजुरआमासँगै बस्थे । घरमा अरू कोही छैनन् । दूधपोखरी गाउँपालिका–३ फुलिङगिरीका युकेश गाउँकै फुलिङगिरी प्रावि कक्षा २ मा पढ्थे ।

चैत ३० मा विद्यालय छुट्टी भएपछि उनी खेल्दै छिमेकीको घरमा पुगेका थिए । खेल्दाखेल्दै साथीकी आमा ४८ वर्षीय फूलमाया विकले प्रयोग गर्ने ऐना भुइँमा झरेर फुटेको थियो । त्यही कारण फूलमायाले कुटपिट गर्दा युकेश बेहोस भएका थिए ।

त्यसपछि बेपत्ता युकेशलाई स्थानीयले वैशाख १ गते साँझ ५ बजेतिर घरदेखि अन्दाजी ३ सय मिटर टाढा रहेको खोल्सामा मृत अवस्थामा फेला पारे । ‘सानै उमेरमा भवितव्य हुन नसक्ने र उक्त ठाउँमा आउने कुनै कारण देखेनौं । कर्तव्य नै हुनुपर्छ भन्ने कोणबाट अनुसन्धान थाल्यौं । केही घाउचोट पनि थियो,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गंगाबहादुर थापाले भने, ‘घाँटीमा केही चिजले प्रहार गरेको जस्तो देखिएपछि शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायौं ।’

उनका अनुसार मृतकका आफन्त, परिवारलगायत मृतक जान सक्ने सम्भावित ठाउँका मानिसमाथि सूक्ष्म अनुसन्धान थालिएको थियो । सोधपुछका क्रममा फूलमायाकै छोराले आमाका कारण घटना भएको बताएका थिए । प्रमाण नहुँदा प्रहरीले पक्राउ गर्न सकेको थिएन । फूलमायाले ‘होइन’ भन्दै छोरालाई चुप लाग्न भनेकी थिइन् ।

‘हामीले प्रमाण जुटाउँदै गयौं । १२ गते घरबाटै पक्राउ गर्‍यौं,’ डीएसपी थापाले भने । अदालतबाट म्याद थपेर थप अनुसन्धानका क्रममा फूलमायाले घटना स्वीकार गरेपछि प्रहरीले विस्तृत बयान लिएको थियो । ‘कर्तव्य ज्यान अभियोगमा मुद्दा अगाडि बढाएका छौं,’ डीएसपी थापाले भने ।

प्रकाशित : वैशाख २२, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्

समुदायमा फैलियो कोरोना

‘संक्रमण फैलन नदिन बढी संक्रमित देखिएका टोलहरुलाई सिल गरेका छौं’
तृप्ति शाही

बैतडी — बैतडीको मेलौली नगरपालिका–७ को तोल्यामा वैशाख १ गते भारतबाट आएका ३२ वर्षीय पुरुषको ज्यान गयो । रुघाखोकी र ज्वरोको कडा लक्षण देखिएका उनी उपचारको लागि कतै गएनन् । यात्राको थकाइले हो भन्दै गाउँमा भएका पूजापाठमा उनी सहभागी भए । भारतबाट आएको करिब ४ दिनपछि उनको मृत्यु भयो ।

उनको मृत्यु भएको केही दिनपछि उनकी ५५ वर्षकी आमालाई पनि रुघाखोकीसँगै ज्वरो आयो । सिकिस्त भइसकेपछि जाँच गर्दा कोरोना पोजिटिभ देखियो । मृतकको सम्पर्कमा आएकाहरूको जाँच गर्दा एकै टोलका ९ जनाका कोरोना देखिएको थियो । उनीहरूमध्ये केही निको भएका छन् । केहीलाई अझै संक्रमणले नछोडेको नगरपालिकाका स्वास्थ्य संयोजक नारायणबहादुर चन्दले बताए ।

चन्दका अनुसार उक्त घटनाले समुदायमा पनि कोरोना फैलिसकेको देखिएको हो । एक जनाबाट अरू धेरै जनामा फैलिएकोले आजभोलि आफूहरू कन्ट्याक्ट ट्रेसिङको काममा लागिरहेको उनले बताए । ‘ती परिवारको सम्पर्कमा आएकाहरूलाई कोरोना देखिरहेको छ,’ उनले भने, ‘संक्रमण फैलन नदिन बढी संक्रमित देखिएका टोलहरूलाई सिल गरेका छौं, स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य संस्था पठाउने र अन्यलाई होम आइसोलेसनमै बस्न भनेका छौं ।’

यस्तै भारतबाटै आएका दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका ३३ वर्षीय पुरुषको वैशाख १४ गते उपचारको क्रममा डडेलधुरामा मृत्यु गयो । भारतबाट आएको करिब १ सातापछि उनलाई पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको थियो जाँच गर्दा कोरोना देखियो । जिल्ला अस्पतालमा उपचार गराइरहेका उनलाई थप उपचारको लागि डडेलधुरा पठाइएको थियो ।

उनलाई कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका १७ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा १४ जनाका कोरोना संक्रमण पुष्टि भएको दशरथचन्द नगरपालिका–९ कै जोशीबुंगा स्वास्थ्यचौकीकी इन्चार्ज पुनम चन्दले बताइन् । अहिले त्यो टोलका अन्य स्थानीयसँगै भारतबाट आएकाहरूको स्वाब जाँचको लागि जिल्ला अस्पतालमा पठाउने कार्य भइरहेको उनले जनाए । ‘एकै टोलका धेरैलाई कोरोना देखिएपछि समुदायमा पनि कोरोना फैलिरहेको हुन सक्छ,’ उनले भनिन्, ‘कोरोना देखिएको टोललाई सिल गरिएको छ ।’

भारतबाट आएकाबाट मात्र कोरोना नसरेर ट्राभल हिस्ट्री नभएकालाई पनि गाउँमा कोरोना देखिरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार समुदायमा कोरोना फैलिसकेको छ । कार्यालयका प्रमुख योगेश भट्टले भने, ‘समुदायमा संक्रमण फैलिएको छ । बाहिरतिर कहीं नगएका व्यक्तिहरूमा पनि संक्रमण देखिएको छ । यसले संक्रमितहरू समुदायसम्म छन् भन्ने हाम्रो अनुमान छ ।’ मंगलबारसम्म जिल्लामा २ सय ६५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख २२, २०७८ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×