कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

अझै बनेन भूकम्प स्मृति पार्क

हरिराम उप्रेती

गोरखा — भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माण सुरु भएको भूकम्प स्मृति पार्कको २५ प्रतिशत काम सक्न अझै बाँकी छ । गत जेठमै निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको पार्कको काम ठेकेदारको ढिलासुस्ती र नियमनकारी निकायको बेवास्ताले गति लिन नसकेको स्थानीयको आरोप छ ।

अझै बनेन भूकम्प स्मृति पार्क

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पको वार्षिकीको दिन २०७३ वैशाख १२ मा पार्कको शिलान्यास गरेकी थिइन् । स्थानीयका अनुसार २ महिनायता पार्क निर्माणले गति लिन सकेको छैन । ‘यही गतिले काम भए अझै कति समय लाग्ने हो भन्न सकिँदैन,’ स्थानीय कृष्णबहादुर गुरुङले भने, ‘हिउँदमा जाडो भयो काम गर्न सकिएन भन्छन्, बर्खामा पानी पर्‍यो काम भएन, त्यसै ढिला भयो ।’ पार्क निर्माण भए बारपाकमा आन्तरिक र बाह्य पर्यटक बढ्ने स्थानीयको विश्वास छ । ‘भूकम्पमा ज्यान गुमाएका १४ जिल्लाका व्यक्तिको नाम लेख्ने भनिएको छ, हामीले सुन्दा संरचना पनि आकर्षक बनाउने देखिन्छ,’ गुरुङले भने, ‘भनेको जसरी बनिदिए पर्यटक आउने थिए ।’ पार्क निर्माण सुस्त भएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । तर हालसम्म स्मृति स्तम्भकै निर्माण पूरा भएको छैन ।

सरकारी स्वामित्वमा रहेको २ सय १६ रोपनी क्षेत्रफल जग्गामा पार्क निर्माण थालिएको हो । पार्कस्थलको स्मृति स्तम्भ आकर्षणको केन्द्र हुनेछ । स्तम्भको मण्डलाका संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।

स्मृति स्तम्भमा अति प्रभावित १४ जिल्लाका भूकम्पमा परी ज्यान गुमाएका सम्झनामा १४ स्तम्भ रहने बताइएको छ । स्तम्भमाथि ग्लोब राख्ने इस्टिमेटमा उल्लेख छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले महाभूकम्पमा ज्यान गुमाएकाको सम्झनामा इपिसेन्टरमा पार्क बनाउन लागेको हो । २०७४ मंसिर १४ मा ठेक्का सम्झौता गर्दा ३० महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । समयावधिमा काम नसकेको ठेकेदारको म्याद गत जेठबाट आगामी असारसम्म एक वर्ष थप भएको इकाईकी प्रमुख सुनिता श्रेष्ठले बताइन् । ‘पार्क निर्माणको ७५ प्रतिशत काम सकिएको छ,’ उनले भनिन्, ‘चालु वर्षभित्र काम सक्ने लक्ष्य राखेका छौं ।’ पार्क पुग्ने सडकको कल्भर्ट राख्ने, रिटेनिङ वाल लगाउने काम सकिएको छ ।

पार्क निर्माणको जिम्मा स्वच्छन्द होम निर्माण जेभीले पाएको छ । पार्क निर्माण सम्पन्न गर्न १३ करोड ७ लाख १५ हजार लाग्ने सम्झौतामा छ । ‘अब स्मृति स्तम्भको फिनिसिङ र कलर गर्ने काम बाँकी छ,’ श्रेष्ठले भनिन्, ‘आरसीसी स्ट्रक्चर बनिसक्यो, स्तम्भमा रहने ग्लोब स्टिलको हुन्छ । जुन कम्पनीमा बन्दै छ, ल्याएर जडान गर्ने काम बाँकी छ ।’ २ शौचालय, एक चमेनागृह, पार्किङ स्थल, बगैंचालगायतका संरचना पार्कमा रहनेछन् । शौचालय र क्यान्टिन निर्माण पनि भइसकेको एकाइले जनाएको छ ।

भूगोलका कारण निर्माणमा केही ढिलाइ भएको उनले बताइन् । ‘यो वर्ष सडक ठीकै छ, अघिल्ला वर्ष हरेक साल बर्खाका बेला असारदेखि दसैंसम्म बाटोका कारण काम गर्न सकेनौं,’ उनले भनिन्, ‘स्मृति स्तम्भ पछाडिको भागमा पहिरो जाँदा काममा जटिलता पनि थपियो ।’ पहिरोको छुट्टै अध्ययन पनि आवश्यक भएकाले अहिले बायो र स्ट्रक्चर इन्जिनियरबाट अध्ययन गर्ने प्रक्रिया चलिरहेको र पहिरो फाल्दा झनै खस्ने डर रहेको उनले बताइन् ।

प्रकाशित : वैशाख १३, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?