कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमालपारि स्याउ रोप्ने चटारो

घनश्याम खड्का

म्याग्दी — हिमालपारिको जिल्ला मुस्ताङका किसानलाई यतिबेला खेतमा खाल्डो खन्न, मल हाल्न र स्याउका बिरुवा रोप्ने चटारो छ । हिउँ पग्लन थालेलगत्तै किसानले उच्च घनत्वमा फल्ने विदेशबाट आयातित स्याउका वेर्ना रोपिरहेका छन् ।

हिमालपारि स्याउ रोप्ने चटारो

फागुन–चैतभित्रै रोप्नुपर्ने भए पनि इटलीबाट बेर्ना ल्याउँदा वैशाख छोएपछि यतिबेला किसानलाई हतारो भएको हो । स्थानीय जातका कलमी विरुवा भने किसानले फागुनमै रोपेका हुन् । ‘स्याउका बेर्ना रोप्ने उपयुक्त समय फागुन हो । यो वर्ष स्थानीय बगैंचामा फल्दै आएका स्याउको कलमी बेर्ना रोपिसकियो । इटालीबाट ल्याइएका बेर्ना रोप्न भने केही ढिलाइ भएको हो,’ स्याउ जोन मुस्ताङका सुधीर थापाले भने, ‘माटोमा चिस्यान रहेकोले वैशाखसम्मै रोप्न मिल्छ ।’

यस वर्ष कृषि ज्ञान केन्द्र, स्याउ जोन र स्थानीय तहलगायत निकायले मुस्ताङका ३८ बस्तीमा ४० हजार स्याउका बिरुवा रोप्न थालेका छन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत २६ हजार, स्याउजोन मुस्ताङले ९ हजार २ सय ६३ र कृषि ज्ञान केन्द्रले २ हजार ४ सय बेर्ना विदेशबाट ल्याएका हुन । यस्तो बेर्ना ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । केन्द्रले स्वदेशी जातका स्याउका कलमी ८ हजार बिरुवा रोपेको जनाएको छ । केन्द्रका अनुसार, मुस्ताङमा १ हजार ५ सय ४१ हेक्टरमा स्याउ खेती गरिएको छ । त्यसमा ४ सय ८ हेक्टर उत्पादनशील क्षेत्रफल हो ।

यस वर्ष सबै निकायबाट ४० हेक्टरमा स्याउ खेती विस्तार हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमा सबैभन्दा बढी बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा स्याउ खेती विस्तार भैरहेको छ । लेते, घाँसा, कोबाङ, थासाङ गाउँपालिका क्षेत्रमा तापक्रम वृद्धिले गर्दा स्याउ खेती हुन छोडेको छ । पछिल्ला २ वर्षदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा पनि स्याउ खेतीका लागि बेर्ना माग हुन थालेको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख प्रकाश बस्ताकोटीले भने, ‘जलवायु परिवर्तनको असर मुस्ताङको स्याउ खेतीमा देखिएको छ । स्याउ खेतीको विस्तार भैरहेको क्षेत्रबाट क्रमशः माथिल्लो मुस्ताङ उक्लँदै गएको छ । उपल्लो मुस्ताङमा अझै चिसो भएकाले वैशाखसम्मै बेर्ना रोप्न सकिन्छ ।’ उपल्लो मुस्ताङका तिब्बती सीमावर्ती छोसेर, छोन्हुप, सुरखाङमा गत वर्ष तीन हजार बिरुवा रोप्न लगाइएको छ । एक्यापलगायत संस्थाले पनि २ हजार ५ सय बिरुवा कृषकलाई बाँड्दै छन् । मुस्ताङमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचारेड, रोयल डेलिसियससमेत गरी १३ प्रजातिका स्याउ खेती हुन्छ । लोमन्थाङमा पनि तीन वर्षयता स्याउ खेती हुन थालेको स्थानीय पेम्बाछोप्तेन गुरुङले बताए ।

प्रकाशित : वैशाख ७, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?