कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न खुट्टा रह्यो न घरजग्गा

अस्पतालमा जँचाउँदा उनको देब्रे खुट्टा काट्नुपर्ने भयो । उनीसँग न बचत थियो, न घरजग्गा धितो राखेर ऋण नै निकाल्न सक्थे । 
दीपक परियार

पोखरा — बैसाखीमा बानी नपरेका भक्तबहादुर सुनार पिँढीमा चिप्लिएर डंग्रङ्ग लडे । उनकी पत्नी चिजाले सकिनसकी उठाएर छेवैको खाटमा बसालिन् । रोगले थलिएर देब्रे खुट्टा काट्नु परेपछि गत पुसदेखि बैसाखीको सहारामा हिँडडुल गर्ने भक्तबहादुरलाई एक जनाले कुरेरै बस्नुपर्छ । अर्को खुट्टा काट्न उनीसँग रकम अभाव छ ।

न खुट्टा रह्यो न घरजग्गा

पोखरा–१९ पुरुन्चौरको घुम्तीमा बाटोमुनि छ उनको घर । घर भन्नुमात्रै छ । १७ आना जग्गा र घर साहुको कब्जामा छ । भक्तबहादुर सानै छँदा बुबाआमा बिते । सुखदायी बनेन उनको बाल्यकाल । २२–२३ वर्षको हुँदा एक्कासि देब्रे खुट्टाको बूढीऔंला सुन्निन थाल्यो । खिल गढ्यो भन्दाभन्दै लामो समय निको भएन । बिस्तारै दुवै खुट्टा दुख्ने, सुन्निने हुन थाल्यो । पोखराकै मणिपाल शिक्षण अस्पतालमा जँचाए । चिकित्सकको सल्लाहबमोजिम बूढीऔंला काटियो । केही बिसेक भएपछि उनी परिवारसहित भारत पसे । काम गर्ने, खुट्टाको थप उपचार पनि गर्ने उद्देश्यले उनी हैदरावाद पुगे । भारत १० वर्ष बस्दा चौकीदारी गरेको पैसाले उपचार गर्न पनि पुगेन ।

देब्रै खुट्टाले दुःख दिँदै गयो । खानलाउनै मुस्किल परेपछि उनी गाउँ फर्किए । नेपाल आएर दुवै खुट्टाको जति उपचार गर्दा पनि निको भएन । ‘दुखाइले रातभरि सुत्नै सकिनँ,’ ४२ वर्षीय भक्तबहादुरले पिँढीको खाटबाट भने, ‘यत्तिकै मर्ने भएँ भन्ने लाग्यो ।’ पीडा सहेरै उनले गाउँघरमै पाए भेट्टाएसम्मको काम गर्न थाले । खुट्टामा पट्टि बाँधेरै हलो जोते । ज्यामी काम गरे ।

पीडा असह्य हुँदै गयो । २०७२ को असोजमा उनले गाउँकै साहु नित्यराज पौडेलसँग २ लाख रुपैयाँ ऋण लिए । पौडेलकै घरमा खेतबारी जोत्ने काम गरेका भक्तबहादुरले सयकडा साढे २ रुपैयाँ ब्याजमा ऋण लिएका थिए । साँवाब्याज बुझाएपछि जग्गा फिर्ता गर्ने कागज बनाएर पौडेलको नाममा पास गरिदिए । ब्याज खप्टिँदै गयो । रोग बल्झिँदै गयो । ऋण निखन्ने कुनै उपाय भएन । नित्यराजले उनको जग्गा अर्कैलाई बेचे । ऋण दिएको पाँच वर्षपछि उनले साँवाब्याज गरेर १० लाख रुपैयाँ बुझाएमात्रै जग्गा फिर्ता गर्ने बताए । २ लाख रुपैयाँको साँवाब्याज ५ वर्षमै कसरी १० लाख रुपैयाँ पुग्यो भन्नेमा भक्तबहादुरको परिवार अनभिज्ञ छ । ‘साहुले मेरो जग्गा अर्कोलाई बेच्दा राजस्व, पास खर्च सबै मेरै नाममा जोडेछन्,’ उनले भने, ‘नत्र कसरी यति धेरै भयो थाहा छैन ।’

सयकडा साढे २ रुपैयाँका दरले २ लाख रुपैयाँको ब्याज महिनाको ५ हजार रुपैयाँ हुन्छ । यसरी हेर्दा ५ वर्षको ब्याज ३ लाख रुपैयाँ पुग्छ । साँवा २ लाख र ब्याज ३ लाख रुपैयाँ जोड्दा ५ लाख रुपैयाँ हुन्छ । नित्यराजले त्यसको ठ्याक्कै दोब्बर माग्नुलाई भक्तबहादुरका आफन्त र छिमेकीले पनि अचम्म मानेका छन् । ‘गरिबलाई यही हो मौका भनेर पेल्न खोजेका छन्,’ एक छिमेकीले भने, ‘अब यसरी पेलेर महँगो जग्गा सस्तोमा लिने दाउ हो उनीहरूको ।’

गत पुसमा एमआरआई गरेर हेर्दा उनलाई ‘थ्रोम्बनगाइटिस अब्लिटेरान्स’ भनिने रोग लागेको पत्ता लाग्यो । हातखुट्टामा जाने रगतका धमनी बन्द हुँदा सुन्निने, मांसपेशी च्यातिने हुन्छ । पोखराकै हरियोखर्क अस्पतालमा जँचाउँदा उनको देब्रे खुट्टा काट्नुपर्ने भयो । उनीसँग न बचत थियो, न घरजग्गा धितो राखेर ऋण नै निकाल्न सक्थे । श्रीमती, आफन्तले गाउँभरि चन्दा उठाएर उपचार गरे । देब्रे खुट्टाको घुँडामुनि काटियो । उनी ३ महिना अस्पताल बस्दा ४ लाख रुपैयाँ खर्च भयो ।

अहिले दाहिने खुट्टाले दुःख दिएको छ । ‘रातभरि करकर लुछेजस्तो भएर सुत्नै सक्दिनँ,’ भक्तबहादुरले भने, ‘डाक्टरले यो खुट्टा पनि काट्नुपर्छ भनेका छन् । आफ्नै खुट्टा काटेर फाल्न पनि पैसा छैन ।’ उनका अनुसार हरियोखर्क अस्पतालका चिकित्सकले जति सक्दो छिटो खुट्टा काट्नुपर्ने बताएका छन् । जति ढिलो भयो उति शरीरका अरू भागमा रोग फैलिने सम्भावना हुन्छ । अस्पताल भर्ना हुनुअघि धरौटीबापत राख्नुपर्ने ७० हजार रुपैयाँ पनि उनीसँग छैन । सरसापट गर्ने ठाउँ सबै सकिएका छन् । ‘गाउँघरमा चन्दा पनि कति माग्नु !’ उनी भन्छन्, ‘अब भगवानै बनेर कोही मनकारी आए मात्रै हो ।’ दुवै खुट्टा काटिए पनि कृत्रिम खुट्टा जोड्न पाए काम गर्न सक्ने आत्मविश्वास उनीसँग छ । भन्छन्, ‘नक्कली खुट्टा हाल्न पाए जसोतसो ज्यामी काम गरेरै पेट पाल्थें ।’

दुई छोरी बिहे गरेर घर गइसके । एक छोरा ९ कक्षामा पढ्छन् । श्रीमती चिजा कहिलेकाहीं मेलापात जान्छिन् । ज्यामी काम गर्छिन् । काममा हुँदा मन भने घरमै हुन्छ । साहुले देखाएको हिसाबकिताबमा उनको चित्त बुझेको छैन । ‘गाह्रो परेको बेलामा साहुले पनि जग्गाको मूल्य कौडीको भाउ लगाउँछन्,’ उनले भनिन्, ‘गरिबको घरबासै उठाउने भए ।’

प्रकाशित : चैत्र ३१, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?