एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

घनश्याम खड्का

म्याग्दी — कोरोना महामारीका कारण गत वर्षको लकडाउनसँगै बन्द भएका यहाँका चिज उद्योगहरु अझै खुलेका छैनन् । लकडाउन हटे पनि चिज सेवन गर्ने ग्राहकका रुपमा रहेका पर्यटक आउने अवस्था अझै नबनेपछि गाईपालक किसान थप निराश भएका छन् ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–५पाउद्वार, ६ घारा र ८ राम्चेमा रहेका चिज उद्योग गत वर्षको चैत महिनादेखि बन्द छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गका तातोपानी, घोरेपानी, घान्द्रुकदेखि हिमालपारीको मुस्ताङसम्मका होटल खुले पनि पर्यटक आएका छैनन् । कोरोना कहरले चिज उद्योगमात्र बन्द भएन, उद्योगमा स्टक रहेको चिज सडेर खेर गएको उद्योगले जनाएका छन् । ‘पर्यटक घट्न थालेसँगै चिजको माग घट्यो । हिउँदको अफ सिजनमा उत्पादित चिजको स्टक धेरै थियो । लकडाउन सुरु भएपछि प्रतिकेजी ५ सय रुपैयाँमै स्थानीयलाई बिक्री गरे पनि स्टक आउट भएन, लाखौं मूल्य बराबरको चिज कुहिएर खेर गयो,’ घारको हिमालय चिज उद्योगका श्याम खड्काले भने, ‘चिज उत्पादन बन्द मात्र भएको छैन, चिज उत्पादन गर्न चाहिने गाईको दूध उत्पादक किसान हतोत्साही भई धमाधम गाई नै बिक्री गर्न थालेकाले उद्योग फेरि ब्युँतन्न कि भन्ने डर बढी छ ।’

३५ कृषक आवद्ध निलगिरी गाईपालन कृषि सहकारीले स्थापना गरेको हिमालय चिज उद्योगमा खपत भइरहेको दैनिक ३ सय लिटर दूध खेर गइरहेको छ । त्यसैगरी पाउद्वार माविले स्थापना गरेको खयरबराही चिज उद्योगमा दैनिक ७० लिटर र राम्चेदेउराली चिज उद्योगमा दैनिक ५० लिटर दूध अहिले खेर गइरहेको छ ।

‘दूधको पनिरसहित विभिन्न खाद्यवस्तु उत्पादन गर्न सकिन्छ तर नजिकै ठूला बजार छैन, चिजलाई जस्तो धेरै दिन स्टोर गरी राख्ने हामीसँग उपकरण छैन,’ खयरवराही चिज उद्योगका कर्मचारी नौलबहादुर तिलिजाले भने, ‘लकडाउन खुकुलो भएसँगै होटलसमेत सवै क्षेत्र खुले पनि बाह्य तथा आन्तरिक पर्यटक आएका छैनन् । गाउँघरमा पनिर समेतका दुग्धजन्य पदार्थको परम्परागत उपयोगबाहेक प्रयोग गर्ने चलन पनि छैन, आर्थिक हैसियत पनि पुग्दैन ।’

पर्यटकको रुचिमा पर्ने अन्नपूर्ण चक्रीय पदमार्गका प्रमुख गन्तव्य तातोपानी, घोडेपानी, टाडापानीसमेतका पर्यटकीय क्षेत्रमा पर्यटकको खानामा प्रयोग हुने प्रमुख सामग्री चिजको माग अधिक भएपछि वरपरका बस्तीमा कृषकहरु मिलेर चिज उद्योग खुलेका थिए ।

‘घोरेपानी, तातोपानीसमेतका पर्यटकीय क्षेत्रदेखि पोखराको लेकसाइडका होटल/रेस्टुरेन्टमा हाम्रो चिजको माग थियो । कोरोनाले खाइदियो,’ हिमालयन चिज उद्योगका कृषक लिलबहादुर खड्काले भने, ‘दूध बेचेर घरमै राम्रो आम्दानी गर्ने आशामा ८० हजारसम्म मूल्य तिरेर होलिस्टिक, न्यूजिल्याण्ड जर्सीसमेतका उन्नत गाई किन्यौँ । तर अहिले दूध बिक्री नै भएको छैन । गाई अलपत्र परेका छन् ।’

प्रकाशित : चैत्र २१, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्

बिछोड : एक व्यग्रता

हिमांशु

म छुबिछोडको सँघारमा अब मैले जानैपर्छ ...

यी निर्जीव भव्य महलका इँटाहरुमा

भेट्दिनँ म

इँटा बनाउने

ससाना केटाकेटीप्रति स्नेह


अहँ, भेट्दै भेट्दिनँ

इँटा ओसार्ने

ज्यामी दिदीप्रति आदर

गारो लगाउने

डकर्मी दाइप्रति प्रेम

ढलान गर्ने

मजदुर भाइप्रति कृतज्ञता


शोषणको यो

बान्ता छुटाउने दुर्गन्धमा

म कसरी लिऊँ

प्रेम र संवेदनाको सुगन्ध ?


यी लासजस्ता अरट्ठा पर्खालहरुलाई

न कसैको हाँसोको पर्वाह छ, न रोदनको

भड्किलो सजावटमा डुबेका

भावना–रिक्त कोठाहरुका

आँखीझ्यालहरुबाट

अविराम बहिरहन्छन् खेतालाका

थकानका सुस्केराहरु


हरबखत यी सुस्केराहरु

अँठ्याइरहन्छन् मेरो घाँटी


म यदाकदा भौंतारिन्छु

दरबारमार्गको मुख्य सडकमा

भरियाहरु एडिडास, नाइक

र पुमाका जुत्ताको पहाड बोकेर

हतार–हतार हिँडिरहेका हुन्छन्

साहुजीको गोदामतिर

तिनका खुट्टाले धारण गरेका

चप्पलका आर्तनादलाई

गिज्याइरहन्छन् बहुराष्ट्रिय कम्पनीका

ट्रेडमार्कहरु ।


महलका भान्छाहरुमा

मग्मगाउँछ बासमती चामलको भात

व्यञ्जन थरीथरी

स्वाद थरीथरी

डाइनिङ टेबल

ज्युनारकर्ताको प्रतीक्षामा छ

मलाई थाहा छ

बासमती फलाउने किसानलाई

यसको बास्ना लिने हक हुँदैन


कहिलेकाहीं

बासमतीको बास्नाले पनि चिढाउँछ

नपत्याए सोध

एकाबिहानै म्यानहोल पसेका सफाइकर्मीलाई


छुट्नु छ मलाई

यी सारा–सारा शोषणका बास्नाहरुबाट

बिछोडिनु छ मलाई

कठोर जन्जिरबाट

र, फेर्नु छ आजादीको सास


छुट्नु छ कुण्ठित मनोगीतबाट

र, मिसिनु छ दुःखीहरुको सङ्गीतमा

थप्नु छ आफ्ना पाइला

ती नांगा पाइलाहरुमा

जो समानताका जुत्ता

खोज्न युद्धमा हिँडेका छन् ।

प्रकाशित : चैत्र २१, २०७७ १२:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×