कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ ठेकेदार पक्ष र मजदुर कुटाकुट, ६ घाइते 

नारायण शर्मा

नवलपरासी — बुटवल-नारायणगढ सडक निर्माणका ठेकेदार र मजदुर पक्षबीच कार्यालय हातामा कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ साइड अफिसमा बुधबार अपराह्न चिनियाँ ठेकेदार पक्ष र मजदुर पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।

चिनियाँ ठेकेदार पक्ष र मजदुर कुटाकुट, ६ घाइते 

त्यहाँ जिल्ला प्रहरीबाट खटिएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको छ । नेपाली मजदुरहरुले चिनियाँ पक्षले आज वार्तामा बोलाएर एक्कासी कुटपिट गरेको आरोप लगाएका छन् ।

जिल्ला प्रहरीका एसपी प्रकाश मल्लले दुबै पक्षबीच हात हालाहाल भएको भन्ने जानकारीका आधारमा प्रहरी घटना साम्य भएको र ६ जना घाइते भेटिएकोले उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको जानकारी दिए । 'नेपाली मजदुरले चिनियाँहरुले वार्तामा बोलाएर पिटेको भनेका छन्,' मल्लले भने, 'चिनियाँ पक्षको भाषा बुझिँदैन दोभासेको खोजी भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त छ ।'

बुटवल-नारायणगढ सडक आयोजनाअन्तर्गत दाउन्ने गैंडाकोट खण्डका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले माटो र डिजल चोरीको अभियोग लगाएर १३ जनाको तबल रोक्का गरेर छानबिन थालेको चिनियाँ ठेकेदार पक्षले जानकारी गराएको सुनाए । उनका अनुसार नेपाली पक्षले चिनियाँले आरोप लगाएको र आफूहरुले नचोरेको दाबी गरेका छन् । 'प्रहरीले अनुसन्धान गर्दैछ चाँडै तथ्य बाहिर आउला,' आचार्यले भने ।

बुटवल-नारायणगढ सडक फराकिलो पार्ने कामको जिम्मा लिएको चाइना स्टेट इन्जिनियरिंग कर्पोरेसन लिमिटेड (सिएससीइसी)को हेल्चेक्र्याइँका कारण कामले तीव्रता पाएको छैन । १७ अर्बको लागतमा दुई वर्षअघि चिनियाँ कम्पनीले काम जिम्मा लिएको थियो ।


प्रकाशित : चैत्र ११, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?