कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङमा जोडियो राष्ट्रिय प्रसारण लाइन

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङ राष्ट्रिय प्रसारण लाइनको सञ्जालमा जोडिएको छ । लघुजलविद्युत्‌को भरमा रहेको मनाङमा अब केन्द्रीय लाइनको बिजुली बल्न थालेको छ । 

मनाङमा जोडियो राष्ट्रिय प्रसारण लाइन

लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सबस्टेसनबाट २९ किमी तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित सबस्टेसनमा जडान गरिएको हो । उक्त सबस्टेसनमा ३१५ केभीएको ट्रान्सफर्मर जडान गरेर ११ केभीएको प्रसारण लाइन सदरमुकाम चामे पुर्‍याइएको छ ।

बजार क्षेत्रलाई ध्यानमा राखी चामेमा ५० केभीएको ट्रान्सफर्मर जडान गरेर मिटर वितरण गरिएको छ । सरकारी कार्यालय क्षेत्रमा १ सय केभीएको ट्रान्सफर्मर जडान भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार पोल गाड्नुका साथै तार टाँगेर सकिएको २ वर्षपछि राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो । राँधीदेखि स्याक्र्युसम्म करिब ४ सय ६० वटा टेलेस्कोपिक पोल राखिएको छ । फागुन २ देखि विद्युत् चार्ज गरिएकोमा ‘ट्रिपिङ’ नरहेको उनले दाबी गरे ।

विद्युत्लाई मनाङ–ङिस्याङ गाउँपालिका–१ भ्राताङमा जडान कार्य थालिएको छ । चामेदेखि करिब ९ किलोमिटरसम्म प्राविधिक काम सकेर लाइन जडान तयारी गरिएको छ । भ्राताङस्थित एग्रो मनाङ प्रालि (स्याउ फार्म) का अध्यक्ष समराज गुरुङले ‘थ्री फेज’ लाइन जडान गरी स्याउ भण्डार संचालनको तयारी भइरहेको बताए । ‘अहिलेसम्म केन्द्रीय प्रसारण लाइन नहुँदा कफी पनि राम्रोसँग पाक्ने थिएन । अब हाम्रो फार्म पूर्ण क्षमतामा संचालन हुनेछ । स्याउ कुहिने छैन । पर्यटकले राम्रो सेवा पाउनेछन्,’ उनले भने ।

प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले आफ्नै स्याउ उद्योगमा समस्या हुनुका साथै मनाङमा लघु जलविद्युत्‌बाट बिजुली अपुग भएपछि प्रसारण लाइनका लागि पहल थालेको बताए । ‘पहिले जडान भएको सामग्रीमा प्राविधिक समस्या आयो । पछि बझ्दै जाँदा नयाँ सामग्री पाइन्छ भनेपछि उर्जा मन्त्रालयमा गएर पहल गर्‍यौं । अहिले हाइटेन्सन लाइन मनाङ पुगेको छ,’ उनले भने ।

ऊर्जा मन्त्रालयले प्राधिकरणमार्फत विनियोजन गरेको ७२ लाख ८२ हजार बजेटमा पछिल्लो काम सकेर मनाङमा केन्द्रीय प्रसारण लाइन पुर्‍याइएको सुवेदीले बताए । उनका अनुसार जयकालिका भगवती/आशुतोष इन्फ्रा जेभीले १ वर्षसम्म सक्ने गरी कामको जिम्मा लिएकोमा ४ महिनाअघि नै सकेको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?