कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लट्ठा नपाइँदा झोलुंगे पुलको काम रोकियो

गण्डकी — अर्जेवा सुनसा फाँटस्थित कालीगण्डकी नदीमाथि निर्माणाधीन झोलुंगे पुल करिब नौ महिनादेखि अलपत्र छ । बागलुङ र पर्वत दुई जिल्ला जोड्ने यो पुल अलपत्र हुँदा दुई जिल्लाका करिब सात हजार जनता प्रभावित छन् ।

लट्ठा नपाइँदा झोलुंगे पुलको काम रोकियो

पुल अभावकै कारण विगतमा क्याम्पस पढ्नबाट वञ्चित विद्यार्थी पुल बन्ने भएपछि हर्षित थिए । स्थानीय पनि खुसी थिए । लामो समयदेखि पुल अलपत्र हुँदा भने दुवै जिल्लाबासीलाई आउजाउमा समस्या भएको छ । चालु आर्थिक वर्षमै सम्पन्न हुने उक्त झोलुंगे पुल निर्माणकै क्रममा अलपत्र परेको हो । गण्डकीको भौतिक पूर्वाधार विकास मन्त्रालयले बनाउन लागेको पुलमा विभिन्न साइजका लट्ठा नहुँदा काम अघि बढ्न नसकेको हो । ३ सय १० मिटर लम्बाइको पुल निर्माण लागत २ करोड ६८ रुपैयाँ छ ।

लमजुङको बेंसीसहर नगरपालिकाको १ र १० नम्बर वडा जोड्ने मर्स्याङ्दी नदीमा निर्माणाधीन झोलुंगे पुल पनि लट्ठा अभावकै कारण अलपत्र छ । २ करोड ३८ लाख लागतमा निर्माणाधीन यो पुल जिल्लाकै लामो अनुमान गरिएको छ । यसको लम्बाइ २ सय ४६ मिटर रहेको मन्त्रालयले जनाएको छ । गोरखाको दरौंदीखोलामा कुमालगाउँ चोरकाटेस्थित २ करोड ९३ लाख रुपैयाँमा बनाउन लागिएको पुलको काम पनि अघि बढेको छैन । तीन सय मिटर लम्बाइको पुलमा लट्ठा आए एक महिनामै सकिन्छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित अँधेरीखोला झोलुंगे पुल पनि अलपत्र छ । १ करोड ७ लाख रुपैयाँमा निर्माणधीन पुलमा पनि लट्ठाले नै दुःख दिएको मन्त्रालयका सडक महाशाखा प्रमुख राम पराजुलीले जनाए । बागलुङको बडीगार्ड खोलामा निर्माणाधीन बलगाँस मालापानी झोलुंगे पुल र भीमगिठे मालापानीस्थित निर्माणाधीन पुल पनि अलपत्र अवस्थामै छन् । गोरखाको सिरानचोक गाउँपालिका र गोरखा नगरपालिका जोड्ने झोलुंगे पुल पनि टावर ठड्याएर मात्र राखिएको उनले बताए । लट्ठा नभएकै कारण गण्डकी प्रदेशमा निर्माणाधीन २३ झोलुंगे पुल अलपत्र रहेको पराजुलीले जानकारी दिए ।

मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममा समेटिएका १ सय २१ पुलमध्ये २३ को काम नसकिएको बताए । प्रदेश सरकारले यस वर्ष १ सय २१ पुल निर्माण गर्ने लक्ष्य लिए पनि लट्ठा अभावका कारण योजनाअनुसार काम हुन नसकेको श्रेष्ठको भनाइ छ । लट्ठा पाए गोरखा, बागलुङ, कास्की, स्याङ्जा र लमजुङका १५ वटा झोलुंगे पुल तत्काल सम्पन्न हुने उनले जानकारी दिए । मन्त्रालयले यस वर्ष झोलुंगे पुल निर्माणका लागि ३६ करोड ८४ लाख २५ हजार र गत आर्थिक वर्षमा ४२ करोड ८४ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ । १ सय २१ पुलमध्ये करिब ६० वटा पुलको डीपीआर तयार भएको श्रेष्ठले बताए । ‘पैसा अभावले भने लट्ठा नआएका होइनन् । नेपालमा चीन र भारतबाटै लट्ठा आउने हुन् । यसका लागि अन्तर्राष्ट्रिय बोर्डपत्र हुन्छ । नेपालमा फ्याक्ट्री छैन । भारतको मुम्बईमा फ्याक्ट्री छ । त्यहाँ कोभिड संक्रमणको अवस्था भयावह भएकाले फ्याक्ट्री बन्द भएको उनले जानकारी दिए । त्यसैले नेपालमा लट्ठा ल्याउन नसकिएको हो ।

प्रकाशित : माघ ११, २०७७ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?