कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रामेछापमा धानबालीमा रोगको प्रकोप

टीका भट्ट

रामेछाप — रामेछापको विभिन्न क्षेत्रमा धानबालीमा पात मर्ने रोगको प्रकोप फैलिएको छ । मन्थली नगरपालिकामा उक्त प्रकोप धेरै देखिएको कृषि ज्ञान केन्द्र रामेछापमा अधिकृत ऋषि सुवेदीले जानकारी दिए ।

रामेछापमा धानबालीमा रोगको प्रकोप

'निदान तत्काल गरिएन भने धानबाली थाहै नपाई नष्ट हुने अवस्था छ' सुवेदीले भने 'केही दिनपछि खेतमा पुगेका किसानले धानको पात मरेको फेला पारेपछि कृषिमा त्यसलाई परीक्षणका लागि ल्याउन लागिएको छ ।' उक्त रोगसँगै अर्को विनासकारी रोग ब्लाष्ट पनि व्यापक मात्रामा देखिएको छ । ब्लाष्ट रोग लागेपछि धानका पातमा एक प्रकारको ढुसी देखिने र त्यसले पछि बाला टुक्राउनेसम्मको हानी गर्छ । धानमा महामारी देखिएपछि कृषि ज्ञान केन्द्रले हेज्जाक्लोनाजोल नामको किटनासक विषादीको प्रयोग गर्न किसानलाई सुझाएको छ । ‘हामीले एक रोपनीलाई पुग्ने विषादी किसानलाई दिँदै आएका छौं, अरु थप किसानले आफैले खरिद गर्नुपर्छ ’ सुवेदीले भने । सुवेदीका अनुसार उक्त विषादीले दुबै रोगका लागि काम गर्ने भएकाले किसानलाई अन्य विषादीको पछि नलाग्न समेत सुझाइएको छ ।

रोग लागेपछि धान बालीमा लगातार उपचार गर्नुपर्छ । निदान भएन भने १५ दिन पछि फेरि विषादी छर्नुपर्ने उनको भनाइ छ । अन्तिम पटक धानको बाला निस्कने बेलामा फेरी विषादी छर्नुपर्ने सुझाव कृषि प्राविधिकहरुले दिने गरेका छन् । नगरपालिकाका अधिकांश स्थानमा धानबालीमा प्रकोपको रुपमा रोग फैलिएको जानकारी भएर पनि मन्थली नगरपालिकाले भने किसानलाई विषाधि वितरण गरेको छैन । समस्या लिएर नगरपालिकामा दैनिक किसान आउन थालेपछि वडा कार्यालयलाई देखाएर फर्काउन थालिएको छ ।

मन्थली नगरपालिकाका सहायक कृषि अर्थ विज्ञ योवन कुमार सुनुवारले नगरपालिकाले किटनासक विषादी खरिद नगरेकोले वडा कार्यालयमा पठाउने गरेको बताए । उनले वडामा केही विषादी होला, नभए पनि अब वडाबाट नै खरिद गरी वितरण गर्नेगरी व्यवस्थापनमा जुटेको बताए ।

जिल्लाको सबैभन्दा ठूलो फाँटमा पनि धानमा रोग फैलिएको छ । तर खाँडादेवी गाउँपालिकालाई खासै जानकारी छैन । उक्त गाउँपालिकाका कृषि अधिकृत निरोज खड्काले कोदो र मकैमा सिंदुरे रोग लागेको जानकारी आए पनि धानको प्रकोपका विषयमा पालिकामा गुनासो नआएको बताए । पालिकाले रोग नियन्त्रणका लागि बजेटको व्यवस्था गरेपछि रातो किताव प्रकाशन नभकाले कार्यान्वयनमा ल्याउन नसकेको पनि उनले बताए । पालिकासँग कुनै पनि रोग वा किरा नियन्त्रणका लागि विषादी मौज्दातमा नभएको खड्काले जानकारी दिए ।

यसैबीच प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा भएको विपत व्यवस्थापन समितिको बैठकले धानबालीमा देखिएको रोगको प्रकोप तत्काल नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र र स्थानीय तहहरुलाई प्राविधिक परिचालन तथा निदानका लागि किटनासाक विषादीको व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रकाशित : भाद्र १७, २०८० १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×