कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरमा विवाह महोत्सव : राष्ट्रपतिले गरिन् अयोध्याका जन्तीलाई स्वागत

(जनकपुर) — भारतको अयोध्याबाट जनकपुर आइपुगेको जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वागत गरेकी छन् । महोत्सव मूल समितिद्वारा बाह्रबिघा रंगभूमि मैदानमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले जन्तीको स्वागत गरेकी हुन् । जन्तीको स्वागतमा जानकी लीला गीति नाटकसमेत प्रदर्शन गरिएको छ । रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव विधि सकिएको छ । राम–सीता विवाहका दिन पारेर हरेक वर्ष विवाहपञ्चमीमा प्रतिकात्मक विवाह गर्ने चलन छ ।

जनकपुरमा विवाह महोत्सव : राष्ट्रपतिले गरिन् अयोध्याका जन्तीलाई स्वागत

जन्तीलाई राष्ट्रपति भण्डारीसँगै प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, प्रदेश प्रमुख तिलक परियार, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, मन्त्री रामनरेश राय र नवलकिशोर साहलगायतले स्वागत गरे । मुख्यमन्त्री राउतले रामजानकी विवाह महोत्सवले नेपाल–भारतलाई सूत्रमा जोड्ने काम गरेको बताए । ‘विवाहपञ्चमीले त्रेतायुगीन अटुट बेटी–रोटीको सम्बन्धलाई प्रगाढ पारेको छ,’ उनले भने, ‘भारतको अयोध्याबाट आउने जन्तीले त्रेताकालीन संस्कृतिलाई बचाएको छ ।’


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले राम–जानकी विवाह महोत्सवलाई नेपाल–भारतबीच त्रेतायुगदेखि विद्यमान सुमधुर सम्बन्धको उदाहरणको रूपमा व्याख्या गरे । उनले भने, ‘यो धार्मिक तथा सांस्कृतिक महोत्सव दुई देशबीच विद्यमान सुमधुर सम्बन्धको प्रतीक हो । हामी यस सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौं ।’ बाह्रबिघामा आयोजित स्वागत समारोहपछि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा फलफूल, लत्ताकपडा तथा मीष्ठान्नको भारीसहित निस्केको साधुसन्त तथा श्रद्धालुसम्मिलित यात्रा राममन्दिर पुगी विधिवत् तिलकोत्सव गरिएको थियो । जहाँ कन्यापक्ष (जानकी मन्दिर) ले दुल्हापक्ष (राममन्दिर) को तर्फबाट राममन्दिरका महन्थ राम गिरीले स्वागत गरेका थिए ।


आइतबार हुने विवाहपञ्चमीमा सहभागी हुन नेपाल र भारतका तीर्थालुहरूको जनकपुर आउने क्रम बढेको छ । शुक्रबार बिहानैदेखि जनकपुरमा तीर्थालुहरूको बाक्लो जमघट छ । हजारौं तीर्थालु सहभागी हुने राम–जानकी विवाहोत्सवमा उनीहरूको बस्ने र खाने बन्दोबस्त मिलाइएको छ ।


जानकी मन्दिर मूल आयोजक रहने उत्सवलाई भव्य बनाउन प्रदेश सरकार र जनकपुर उपमहानगरले पनि सहयोग गरिरहेको छ । विवाहोत्सवका लागि जनकपुरको जानकी मन्दिरलाई बेहुलीझैं सिंगारिएको छ । मन्दिरमा जन्ती भित्रियाउने चटारो छ । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार तीर्थालु र जन्तीलाई स्वागत गर्न जनकपुर तयार बसेको छ । विवाहउत्सवको दिन आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।


ड्रोनबाट निगरानी

विवाहपञ्चमीको सुरक्षाका लागि नेपाल प्रहरीका करिब दुई हजार सुरक्षाकर्मी जनकपुरमा परिचालन गरिएको छ । प्रदेशका प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले विवाहपञ्चमीलाई चुस्त–दुरुस्त बनाउन अन्य जिल्लाबाट थप सुरक्षाकर्मी झिकाइएको जनाए । ‘साधुसन्त र तीर्थालु बस्ने धर्मशाला, होटल, लज सबैतिर सुरक्षा निगरानी राखिएको छ’, कार्कीले भने, ‘अगान्तुकलाई सीमामा कसैले दु:ख नदेओस् भनेर त्यहाा पनि निगरानी बढाइएको छ ।’


उनका अनुसार विवाहपञ्चमीको दिन सीसीक्यामेरा र ड्रोनबाट पनि निगरानी गरिने बताए । उनले मूल समारोहस्थल जानकी मन्दिर र रंगभूमि मैदानमा सीसीक्यामेरा जडान गरिसकिएको र चोरी–पाकेटमारी रोक्न सादा पोसाकमा प्रहरी खटाइएको बताए । विवाहपञ्चमीको सुरक्षा बन्दोबस्तको कमान्ड डीआईजी कार्की आफैंले सम्हालेका छन् ।

प्रकाशित : मंसिर १४, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?