कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आफैं फोन गरेर रोक्न लगाइन् बालविवाह

प्रताप विष्ट

(हेटौंडा) — मकवानपुरको बकैया गाउँपालिका–५ भडौराकी १५ वर्षकी किशोरी र हेटौंडा पदपोखरीका १७ वर्षीय किशोरबीच बिहेको तयारी चलिरहेको थियो । ८ कक्षामा पढ्ने किशोरीले अघिल्लै रात सिविन बाल हेल्पलाइनको नम्बरमा फोन गरिन्, र उमेर नपुगी अभिभावकले जबरजस्ती विवाह गरिदिन लागेको सूचना दिइन् ।

उक्त जानकारीपछि सिविनका प्रतिनिधि झविन्द्र ज्ञवालीसहितको टोली बालिकाको घरमा पुग्यो । बुधबारको हुने विवाह रोकियो ।


वडाध्यक्ष शेरमान घलान, प्रहरी चौकीका प्रमुख कृष्ण गौतमलगायतले बालिकाका अभिभावकलाई सम्झाइबुझाइ विवाह रोकेका हुन् । ‘जन्ती आउनु ५ घन्टाअघि विवाह रोक्न सफल भएका हौं,’ ज्ञवालीले भने, ‘अभिभावकले पढाइ छुटाएर विवाह गरिदिन लागेका रहेछन् । अब उनको पढाइलाई निरन्तता दिने र आवश्यक सहयोग सिविनले गर्ने भएको छ ।’


उक्त गाउँपालिकाको ७ नम्बरस्थित घमन टोलमा पनि बुधबारै एक बालविवाह रोकिएको छ । १६ वर्षीया माझी समुदायकी किशोरी र उक्त गाउँकै १७ वर्षीय राई समुदायका किशोरबीच बुधबार बिहान बिहे हुन लागेको थियो । अभिभावकले नचाहे पनि उक्त जोडीले विवाह गर्ने निर्णय गरेको थियो । स्थानीय र अभिभावकहरूको सहयोगमा विवाह रोकिएको वडाध्यक्ष रामकाजी लामीछानेले बताए । बालविवाह गर्ने दुवै पक्षलाई यसबाट हुने समस्या र कानुनी कुरा बुझाएपछि विवाह रोक्न तयार भएको सिविनका प्रतिनिधि ज्ञवालीले बताए । ‘२० वर्ष नपुगेसम्म छोराछोरीको विवाह नगर्ने अभिभावकले प्रतिबद्धता जनाएका छन्,’ उनले भने ।


बालविवाह न्यूनीकरणमा सरकारी तथा गैरसरकारी संस्था सक्रिय भए पनि मकवानपुरमा बालविवाहको प्रचलन अझै रोकिएको छैन । उक्त गाउँपालिकामा तामाङ, माझी र राई समुदायको बाक्लो बसोबास छ । ‘बालविवाह नियन्त्रण गर्न गाउँपालिकाले अभियान नै चलाएको छ,’ अध्यक्ष दामोदर खनालले भने, ‘अभिभावकले गराउनेभन्दा पनि बालबालिका आफैंले भागी विवाह गर्ने देखिएको छ ।’

प्रकाशित : माघ ३, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?