१४ वर्षपछि सैलुङमा विशेष पूजा

टीकाप्रसाद भट्ट

रामेछाप — १४ वर्षपछि दोरम्बाको सैलुङ क्षेत्रमा बौद्ध धार्मिक परम्पराबमोजिम विशेष पूजा गरिएको छ ।

कोभिडका कारण विश्वमा धेरै नागरिकको अकालमा ज्यान गएको, करोडौं अस्वस्थ्य भएको र अशान्ति बढ्दै गएको बेला सबैको कल्याणका लागि विशेष पूजा गरिएको स्थानीय दावासङ्बु शेर्पाले बताए । शेर्पाका अनुसार झण्डै १४ वर्षपछि उक्त विशेष पूजा शैलुङ क्षेत्रमा आयोजना गरिएको हो । एक सातासम्म चलेको विशेष कङ्ग्युर पूजा आइतबार समापन भएको हो ।

प्रमुख लामागुरु काल्साङसहित १ सयभन्दा बढी लामागुरुहरुले कङ्ग्युर पूजामा पाठ गरेका थिए । शनिबार रामेछाप, दोलखा र आसपासका जिल्लाबाट आएका बौद्ध धर्मावलम्बीहरुले १ सय ८ वटा बौद्ध ग्रन्थ बोकेर बुद्धले पाइला टेकेको शैलुङ परिक्रमा गरेका थिए । बुद्धधर्मावलम्बीहरु काठमाडौंको स्वयम्भू पछिको बुद्धको पाइला शैलुङमा रहेको बताउँछन् ।

यसअघि शैलुङ्कै टाकुरामा पूजा गरिएको भए पनि हावापानीलाई ख्याल गरेर यो वर्ष राजभिरको पङ्खेरी गुम्बामा आयोजना गरिएको थियो । पूजाका लागि झण्डै ४० लाखभन्दा बढी खर्च लागेको शेर्पाले बताए । पूजाका लागि शैलुङलाई ध्वजा पताकाले सिंगारिएको थियो ।

प्रकाशित : चैत्र १५, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

म्यानमारको सैन्य दमन अमानवीय र निन्दनीय : कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — म्यानमारमा केही दिनयता सैनिक सरकारद्वारा नागरिक प्रदर्शनमा भएको दमन अत्यन्तै अमानवीय र निन्दनीय भएको कांग्रेसले बताएको छ।

जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको कांग्रेसको निष्कर्ष छ ।

विश्वभर जहाँपनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यबद्धता जनाउने नीति कांग्रेसले लिँदै आएको र म्यानमारको पछिल्लो कु लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई निरन्तर नियालीरहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत जनाएका छन् । सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न आवश्यक भएको उनले जनाएका छन् ।

दमनकाविरुद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा एक्यबद्ध हुन कांग्रेसले सबै दल, संघसंस्था र सरकार समेतलाई अपील गरेको छ ।

प्रकाशित : चैत्र १५, २०७७ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×