वाग्मतीमा एमालेका दुवै पक्ष नरम

संसदीय दलको विधान संशोधन गर्न समिति गठन
सुवास विडारी

मकवानपुर — पार्टीभित्रको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको अवस्थामा बसेको वाग्मती प्रदेशको सत्तारूढ नेकपा एमाले संसदीय दलको बैठकमा नेताहरू नरम रूपमा प्रस्तुत भएका छन् ।

नेकपा औपचारिक विभाजनपश्चात् पहिलोपटक बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको संसदीय दल बैठकमा विवाद नहोस् भनेर मुख्यमन्त्री डोरमणि पौडेल र नेता अष्टलक्ष्मी शाक्यलाई मात्र बोल्ने समय प्रदान गरिएको थियो ।

बैठकको सुरुवातमा नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री पौडेलले नरम रूपमा प्रस्तुत हुँदै पार्टीको विधि, पद्धति र प्रक्रियाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्न जरुरी छ, अहिले अवस्था फेरिएको छ । पार्टीको विधान तथा संसदीय दलको विधानलाई टेकेर सरकारलाई गतिशील बनाउँदै अगाडि बढ्नु हाम्रो दायित्व हो,’ उनले थपे ।

नेता शाक्यले विगतका तिक्ततालाई बिर्सेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको औंल्याइन् । ‘पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ, अहिलेको निषेधको राजनीतिले कम्युनिस्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको छ,’ उनले भनिन्, ‘आफैं आफैं लडेर कम्युनिस्ट आन्दोलन नै सिद्धिने अवस्थामा पुगेको छ ।’ तत्कालीन नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउँदै मुख्यमन्त्रीमा शाक्यलाई अगाडि सारेको थियो ।

सांसद दीपक निरौलाले सदनलाई गतिशील रूपमा काम गर्न दिने वातावरण तयार गर्न लागिएको बताए । ‘अहिले चारवटा मन्त्रालय मन्त्रीविहीन छन् । संसदीय दलको विधान तयार गरेर सदनलाई बिजनेस दिनेतर्फ केन्द्रित हुनु अहिलेको आवश्यकता हो,’ उनले भने । मुख्यमन्त्री तथा संसदीय दलका नेता पौडेलको अध्यक्षतामा बसेको बैठकले विधान संशोधनका लागि समिति गठन गरेको छ ।

बैठकले एमालेका प्रमुख सचेतक केशवराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको विधान संशोधन समिति गठन गरेको हो । समितिको सदस्यमा प्रदेशसभा सदस्य नारायण सिलवाल र उर्मिला कर्माचार्य छन् । समितिले तीन दिनभित्र संशोधित विधान संसदीय दलमा पेस गर्नेछ । ‘हामी नेकपाको विधानअनुसार संसदीय दलमा बसिरहेका थियौं, अब पार्टी फरक भएपछि सोहीअनुसार विधान संशोधन गर्नुपर्ने भएको हो,’ मुख्य सचेतक पाण्डेले भने ।

माधव नेपाल पक्षका सांसदहरूले प्रदेशसभा सचिवालयमा औपचारिक रूपमा निवेदन दर्ता गराएर मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिइसकेकाले उक्त विषयमाथि बैठकमा छलफल नभएको सांसदहरूले बताएका छन् । वाग्मती प्रदेशमा ५७ मत रहेको एमालेको एकल बहुमत छ । ११० सांसद रहेको वाग्मतीमा ५६ मत भए सरकार गठन गर्न सकिन्छ ।

प्रकाशित : चैत्र १९, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्

भलिबलको उचाइ उक्लिँदै उषा

भलिबलमा लाग्न प्रेरित गर्ने बुबा गजेन्द्रको अहिले एउटै काम हुन्छ । छोरी उषा जहाँ खेल्न जान्छिन् उनी त्यहाँ पुगिहाल्छन् ।
विनोद पाण्डे

काठमाडौँ — लुम्बिनी युनाइटेडसँगको खेलपछि उषा भण्डारी जोडी बनाएर नेपाल पुलिसकी सहकर्मी खेलाडीसँग ‘कुलडाउन’ गरिरहेकी थिइन् । गत महिना नेपालगन्जमा सम्पन्न प्रधानमन्त्री कप भलिबलको सातौं संस्करणको प्रसंग हो यो । उद्घोषकले ‘प्लेयर अफ द म्याच’ मा उषाको नाम लिँदा पुलिस टिमको छेउमै रहेका उनका बुबा गजेन्द्र भण्डारीको खुसीको चमक बेग्लै थियो । उनी टिमको जितपछि छोरीको व्यक्तिगत सफलतामा ताली बजाउन मग्न थिए ।

गजेन्द्रको अहिले एउटै काम हुन्छ । छोरी जहाँ खेल्न जान्छिन् उनी त्यहाँ पुगिहाल्छन् । १३ औं दक्षिण एसियाली खेलकुदका लागि नेपाली महिला भलिबलको प्रशिक्षण थाइल्यान्डमा हुँदा उनी त्यहाँमात्र पुगेनन् । नत्र छोरीको कुनै खेल छुटाएका छैनन् । छोरीको खेल हुँदा उनी पुलिसको टिमसँगै बस्ने गर्छन् । घरबाहिर बस्ने बानी नभएकाले पनि गजेन्द्रले उषालाई एक्लो छाड्ने गरेका छैनन् । यही सेरोफेरोमा गजेन्द्र पनि नेपालगन्ज पुगेका थिए ।

दिदी अस्मितालाई भने कोर्टमा गएर उषाको खेल प्रत्यक्ष हेर्नभन्दा टिभी र अनलाइनमा आउने लाइभ नै हेर्न रमाइलो लाग्छ । नजिकबाट हेर्दा दबाबले टाउकै दुख्ने दिदीको अनुभव छ । दिदी पहिला पुलिसबाटै जुडो खेल्थिन् । गजेन्द्रका दुई सन्तान हुन् अस्मिता र उषा । ‘मलाई केही भयो भने कान्छीलाई कस्ले हेर्छ ?’ भन्ने चिन्तामा दिदीले जुडो खेल्नै छाडिदिइन् । यी दिदीबहिनीको सम्बन्ध दाजुबहिनी वा दिदीभाइको जस्तै छ । उनीहरू एकअर्कालाई राखी बाँधिदिन्छन् र भाइटीका पनि लगाइदिन्छन् । छोराले भन्दा घरको धेरै काम दिदीबहिनीले गर्ने गरेको उषा बताउँछिन् । उषाको खेल प्रत्यक्ष हेर्दा आत्तिने भएर उनकी आमा पनि मैदान जाँदिनन् । खेल सकिएपछि उषाले नै फोनमा बताउने गर्छिन् ।

000

प्रधानमन्त्री कपको छैटौं संस्करणमा उषाको खेलबाट कोही सबैभन्दा बढी प्रभावित रहे भने ती हुन् दीपक विष्ट । उषा त्यो प्रतियोगितामा उत्कृष्ट खेलाडीमा चुनिएकी थिइन् । उनले छरितोपन खेलाइले दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण विजेता दीपकलाई मन्त्रमुग्ध बनाएको थियो । उषालाई तेक्वान्दो खेल्न दीपक सुझाइरहेका थिए । व्यक्तिगत खुबी भएका खेलाडीको सफलता आफ्नै मुठीमा भएको तर्क दीपकसँग थियो । दीपक आफैं यही बाटोबाट नेपाली खेलकुदका सुपरस्टार बनेका थिए । भलिबल छाडेर तेक्वान्दोमा लागेपछि दीपकले पनि दक्षिण एसियामै एकक्षत्र राज जमाएका हुन् । उनले त्यो सम्भावना उषामा पनि देखे ।

गजेन्द्र र उनका भाइ ७ वर्षअगाडि दशरथ रंगशाला कभर्डहलमा दक्षिण एसियाली भलिबल च्याम्पियनसिप हेर्न पुगेका थिए । उनीहरू खासै मैदानमा गएर हेर्ने खालका त थिएनन् । तर त्यो दिन के संयोगले खेल हेर्न पुगेछन् । श्रीलंकाबाट खेल्ने जर्सी नम्बर ७ खेलाडीबाट प्रभावित भएछन् । उनले श्रीलंकन ती खेलाडीमा आफ्नै छोरी उषाको अनुहार देखे । ‘यी श्रीलंकाली खेलाडी ठ्याक्कै हाम्रै नानीजस्तै छन् । छोरीको उचाइ पनि राम्रो छ, खेलमा इच्छुक छिन्, म पनि यस्तै खेलाडी बनाउँछु’ भन्ने निर्णयमा गजेन्द्र पुगेछन् । त्यतिखेर उषा ६ कक्षामा अध्ययरन थिइन् । उचाइ थियो ५ फिट ६ इन्च । बुवाले छोरीको भविष्य भलिबलमा देख्दै गर्दा उषा भने ब्याडमिन्टन खेल्थिन् ।

उषा ढोरपाटन क्लबको कोर्ट परिसरमा हुर्केकी थिइन् । त्यसले पनि उनलाई भलिबलमा आउन र चाँडै भिज्न त्यसमा सजिलो भयो । ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले बुबासँग सल्लाह गरेर उषालाई भलिबल खेल्न आउनु भने । उषालाई पनि जे भए नि एउटा खेल खेल्छु र भविष्य बनाउँछु भन्ने लाग्यो । उनलाई आर्मीमा जाने कि पुलिसमा गएर खेल्ने विकल्प दिइएको थियो । टिनएजको त्यो उमेरमा उनले आर्मी रोजिन् । बुबाले पुलिसबाट खेल्दा सजिलो हुन्छ, घरबाट स्कुल नजिक हुन्छ, आर्मीमा भयो भने उता छुट्टै बस्नुपर्छ भनेपछि उषाको रोजाइ पुलिस हुन पुग्यो । छोरीबिना टाढिएर बस्न नसक्ने स्वभाव थियो गजेन्द्रको । त्यसैले उनले छोरीलाई घरबाटै स्कुल पठाउनुपर्छ भन्ने मान्यतामा सामाखुसीस्थित पुलिस स्कुल भर्ना गरिदिए ।

घरबाहिर निस्किनेबित्तिकै ढोरपाटन क्लबको भलिबल मैदान छ । प्रशिक्षण जान नपाउँदा उनी दाइहरूसँगै खेल्थिन् । ड्रिग गर्न उनले त्यहीं सिकेकी थिइन् । एपीएफका टंक अवस्थी उनलाई सिकाउन आउँथे । उनले त्यतिबेला डिफेन्स बढी सिक्न पाइन् । अहिले उनको स्पाइकभन्दा बढी डिफेन्स बलियो छ । केटाहरूसँगको खेलले उनलाई अझ बढी आत्मविश्वासी र अनुभवी बनायो । यही कारणले होला पुलिसका प्रशिक्षक रुपेश विष्टले टिमको जिम्मा दिने भन्दै आएको उषा सुनाउँछिन् । प्रशिक्षक विष्टलाई पनि उनी आफ्नै बुबाजस्तै मान्छिन् । नेपाल पुलिसका पूर्वराष्ट्रिय भलिबल कप्तान भरत शाहलाई पनि उषाले आदर्श ठान्छिन् ।

प्रशिक्षण सुरु गरेको ६ महिनामै उनी पुलिस टोलीबाट खेल्ने भइसकेकी थिइन् । सिकेको एक सातामै उनको डिफेन्स राम्रो भइसकेको थियो । होलीगार्डेनमा पढ्दै गर्दा उनी अभ्यासमा व्यस्त हुन्थिन्, जुम्बा गर्थिन् । जसका लागि दिवा होस्टेल बसेकी थिइन् । ‘तिमीले राष्ट्रका लागि केही गर्नुपर्छ, तिमी मेरीमात्र छोरी होइन, राष्ट्रको पनि हो, आफूले ख्याल पुर्‍याएर खेल्नुपर्छ भनेर हौस्याउनुहुन्थ्यो,’ बुबाको हौसलाबारे उषाले सुनाइन् । ‘मैले पनि आफ्नो भविष्य यही उमेरमा बनाउने हो भनेर भलिबल खेल्न सुरु गरेको हुँ । खेल्न थालेको तीन वर्षमै मैले राष्ट्रिय टोलीबाट खेल्न पाएँ,’ उनले थपिन् ।

उचाइ देखेर उनलाई स्कुलले बास्केटबलको प्रशिक्षण पनि नगराएको होइन । तर उनलाई बास्केटबलले लोभ्याएन । भलिबलमै उनले भविष्य देखिन् । पुलिसमा आएपछि उनको दैनिकी नै परिवर्तन भयो । बुबाको चाहना छोरीले जतिसक्दो चाँडो नेपाली टोलीबाट खेलोस् भन्ने थियो । उषाले १४ वर्षको उमेरमै गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ‘डेब्यू’ गरेर बुबाको इच्छा पूरा गरिदिइन् । तर बिडम्वना हजुरबुबा र मामाले भने उनले नेपालबाट खेलेको हेर्न पाएनन् । दुवैजनालाई सागको प्रशिक्षणमा रहँदा उनले गुमाएकी थिइन् । पारिवारिक शोकका डुबिन् । ‘भान्जीले यस्तो राम्रो खेलिरहेकी छ, चाँडो नेपालबाट खेलोस् भन्ने कामना मामाको थियो । तर मामालाई क्यान्सरले छाडेन,’ मामाका बारे बताइरहँदा उषाका आँखा रसाए । जसको प्रोत्साहनले उनी भलिबल खेल्न गएकी थिइन्, उसैलाई नेपालबाट खेलेको देखाउन पाइनन् । त्यो उषालाई सधैं खट्किरहनेछ ।

उषाले सागमा बंगलादेशसँगको एउटा खेल खेल्न पाइन् । आफूले बल्ल बुबाको सपना पूरा गर्न लागे जस्तो अनुभव भयो । भलिबल बुबाको सपना थियो । आफूले चाहेको भएको भए अहिले उनी फुटबल खेलिरहेको हुन्थिन् । किनभने उनले स्कुलमा फुटबल पनि खेल्थिन् । उमेर सानै भएकाले सागमा प्रशिक्षक जगदीश भट्टले उषालाई अन्य खेलका लागि जोखिममा लिन चाहेनन् । उनले पनि टिमको हितमा हुने निर्णयप्रति सहमति नै जनाइन् । उषालाई मनमा डर र केही गर्नुपर्छ भन्ने थियो । त्यसअघि उनले पुलिसबाहेक अर्को टिमबाट खेलेकी थिइनन् । घुलमिल हुन सकिरहेकी थिइनन् । विभिन्न क्लबबाट आएका खेलाडी हुनाले पहिला केही नमिलेजस्तो लाग्यो । ६ महिनाको साग प्रशिक्षणपछि त उनी पुलिस टिमभन्दा पनि नेपाली टोलीसँग धेरै नजिक भइन् ।

000

उचाइ २ फिट बढ्नुबाहेक राष्ट्रिय प्रतियोगिता खेलेको तीन वर्षपछि उषामा कस्तो परिवर्तन आयो त ? ‘उषा भण्डारी पहिला को हो, को हो भन्ने थियो, अहिले धेरैले मलाई कान्छी, मुसी भनेर चिन्छन् । अझ सबैले कान्छी भलिबल खेलाडी भनेर मलाई चिनेको पाएको छु ।’ एउटा स्पाइकरका रूपमा उनले प्रतिभा माली र सरस्वती चौधरीको विकल्पमा आफूलाई उभ्याएकी छन् । प्रतिद्वन्द्वी टोलीमा हुँदा पनि आफूलाई सिकाएको तथा सिनियर खेलाडी भएकाले दुवै खेलाडीप्रति उनी ठूलो सम्मान राख्छिन् । तर

आफ्नो प्रतिस्पर्धी प्रतिभा र सरस्वती हो भनेर उनले दिमागमा राखेकी हुन्छिन् नै । ‘मेरो खेलजीवन भर्खर सुरु भए जस्तो छ, दिदीहरूको स्थानमा पुग्न मैले अझै धेरै गर्नुपर्छ,’ यसो भन्दै गर्दा बुबाले भनेको कुरा उनले सम्झिइन्, ‘यो त केही पनि होइन, भर्खर अण्डा फुटेको छ, चल्ला हुन बाँकी नै छ नि ।’

गजेन्द्रले खाडी राष्ट्रमा जाँदा भलिबल सिकेका थिए । मुड्कीले बल नै फुटाउने स्वभाव थियो उनको । त्यसको प्रभाव छोरीसम्म आइपुग्यो । उषाले जति नै नराम्रो खेले पनि छोरीको खेलमा कहिल्यै गुनासो नगर्ने गजेन्द्रको बानी छ । धेरै राम्रो खेल्दाखेल्दै पनि भलिबलका धेरै खेलाडी विदेशी पलायन भएका छन्, त्यो अवस्था अहिले नरहेको उनले बुझाइ छ । नेपाली भलिबलको भविष्य राम्रै देखेकी छिन् उनले । एउटा आडभरोसा पुलिसको साथ रहनु पनि हो ।

उनको घर तनहुँको भिमाद हो । उनी साढे एक वर्षकी छँदै काठमाडौं आइन् । उषा जन्मेको ठाउँ भिमादभन्दा दुई घण्टा टाढा स्याङजाको कुटुम्सामा हो । तर त्यसपछि त्यहाँ पुगेकी छैनन् । जेठमा एसईई दिने तयारीमा रहेकी उषाले भइरहेका भलिबल प्रतियोगिताहरू सबै खेलिरहेकी छन् । विद्यालयमा उनको नियमित थिएन । बिहानी प्रशिक्षण सकेर जाँदा ११ बज्थ्यो ।

अनि साथीहरू उनलाई ‘ऊ खेलाडी आयो’ भनेर जिस्काउँथे । उनलाई पुलिस स्कुलले खेल्ने मामिलामा धेरै छुट दियो र हौस्याइरह्यो । टेस्ट पनि भलिबल खेल्न जाँदा छुटेको थियो, पछि छुट्टै बसेर दिएको उनी सुनाइन् । गणित विषय उनलाई धेरै मनपर्छ । प्लस टूमा व्यवस्थापन विषय उनले रोजाइमा राखेकी छिन् । बुबा गजेन्द्रको रहर भने छोरीलाई खेलकुद विज्ञान पढाउने छ । एसईई सकिएपछि उनी एसियन च्याम्पियनसिपको तयारीमा जुट्ने छिन् । नेपाली महिला भलिबलले पहिलोपल्ट यो प्रतियोगिता खेल्न लागेको हो ।

नेपालगन्जअघि पोखराको टाइगर कपमा पनि उनी उत्कृष्ट खेलाडी भइन् । जुन उनले सोचेको पनि थिइनन् । उनी बिरामी थिइन् र आफूले चाहेजस्तो प्रदर्शन दिन सकिरहेकी थिइनन् । प्रशिक्षकले पनि टिम तिम्रै भरमा छ जे सक्छौं गर भनेर ढाडस दिइरहेका थिए । आर्मी र एपीएफसँगको खेलमा उनी अस्वस्थ थिइन् । फाइनलअघिको एकदिन विश्राम उषालाई तङ्ग्रिने अवसर बन्यो । त्यसपछि नेपालगन्ज आएकी उषा प्रधानमन्त्री कपमा उत्कृष्ट स्पाइकर बनिन् । उनका लागि नेपालगन्ज मामा घरजस्तै भएको छ, हरेकपल्ट पुग्दा केही न केही खुसी पाउँछिन् ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : चैत्र १९, २०७७ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×