कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती सरकार फेरि बलियो

एमालेको नेपाल पक्ष र माओवादी केन्द्रले अविश्वास प्रस्ताव अगाडि नबढाउने 
सुवास विडारी

मकवानपुर — तत्कालीन नेकपाभित्रको अर्को समूहबाट अविश्वासको प्रस्ताव दर्ता भएसँगै अप्ठेरोमा परेको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार पुनः मजबुत अवस्थामा फर्किएको छ ।

वाग्मती सरकार फेरि बलियो

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिँदा पौडेलविरुद्धको अविश्वास प्रस्ताव अगाडि नबढ्ने भएको हो ।

एमालेको माधवकुमार नेपाल पक्षका २२ सांसद र माओवादी केन्द्रका २३ सांसदले संयुक्त रूपमा मुख्यमन्त्रीविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । दुवै पक्षले अविश्वास प्रस्ताव अगाडि नबढाउने र हस्ताक्षर फिर्ता लिने भएपछि पौडेल नेतृत्वको सरकारको आयु लम्बिने भएको हो । यो समूहले मुख्यमन्त्रीका रूपमा नेत्री अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको थियो । वाग्मतीमा ५७ सांसद रहेको एमालेको एकल बहुमत छ । वाग्मतीमा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ ।

२३ जना सांसद रहेको माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको छ । सोमबार काठमाडौंस्थित प्रदेश पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । ‘तत्कालीन अवस्थामा अविश्वास प्रस्ताव अगाडि बढ्न सक्दैन । त्यसकारण सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने निर्णय गरेका हौं,’ माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले भने, ‘सरकारले नैतिकता गुमाए पनि प्राविधिक हिसाबले बलियो छ ।’

एमालेकै नेपाल समूहले अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरिसकेको छ । यो समूहको स्थायी कमिटी बैठकले प्रदेश तहमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन सांसदहरूलाई आग्रह गरेको थियो । ‘अविश्वासको प्रस्तावमाथि हामीले गरेको हस्ताक्षर फिर्ता लिन्छौं । पार्टी एउटै भएको अवस्थामा यो प्रस्ताव अगाडि बढाउन मिल्दैन । त्यसकारण विधि र प्रक्रिया पुर्‍याएर फिर्ता लिन्छौं,’ सांसद पशुपति चौलागाईंले भने ।

मुख्यमन्त्री पौडेलले काम गर्न नसकेको स्पष्ट भए पनि अब मिलेर जानुको विकल्प नभएको उनले बताए । ‘यस विषयले संसद्मा औपचारिक प्रवेश पाइसकेको छ । अब सदनमा प्रक्रिया अगाडि बढ्छ नै, हामी वैचारिक बहसलाई कायमै राख्छौं । कानुनी बाध्यताका कारण हामी यो अवस्थामा आइपुगेका हौं,’ उनले भने ।

यस्तै, वाग्मतीमा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्कालीन एमालेसँगको एकता अगाडिकै संसदीय दलका पदाधिकारीलाई पुनः चयन गरेको छ । बैठकले संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल, उपनेता कुमारी मोक्तान, प्रमुख सचेकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको हो । सरकारविरुद्ध प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग एकता गरेर सशक्त रूपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको संसदीय दलका नेता जम्मकट्टेलले जानकारी दिए ।

प्रकाशित : चैत्र १७, २०७७ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?