२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ज्याला रोकिएपछि मजदुरहरुले होली मनाउन पाएनन्

राजकुमार कार्की

सिन्धुली — ठेकेदारले पैसा नदिएपछि दुधौली नगरपालिका २ गागनमा निर्माणाधीन विद्यालय भवनमा कार्यरत मजदुरहरुले यसपटक होली मनाउन पाएनन् । भानु माविको निर्माणधिन भवनमा महिना अघिदेखि काम गरेका मजदुरहरुले पैसा नपाएपछि होली मनाउन तराई घरमा जान नपाएका हुन् ।

ज्याला रोकिएपछि मजदुरहरुले होली मनाउन पाएनन्

होली मनाउन घर जान ज्याला माग्दै तीन दिनअघिदेखि मजदुरहरुले काम रोकेका थिए । मजदुरहरुले ४२ दिन काम गरेको ज्याला पाएका छैनन् ।

सप्तरी, सिरहा र बर्दियाका ७२ जना मजदुरहरु भानु माविको निर्माणधीन भवनमा काम गर्दै आएका छन् । मजदुरी गरेको रकम नपाएपछि आफूहरु निराश भएको सप्तरीका नारायण शाहले सुनाए । 'हाम्रो महान् चाड होलीका लागि सबै मजदुर घर जाने तयारी थियौं, ठेकेदार कम्पनीलाइ यो सबै थाह थियो', उनले भने, ‘पैसा नपाएपछि बन्धकजस्तै भएर बस्नु परेको छ । सबैको होली चाड छुट्यो ।’

मजदुरी गरेर कमाइ गरी घरमा रंगिन पर्व होली मनाउने सपना ठेकेदारले पैसा नदिएपछि चकनाचुर भएको बर्दियाका आदित्य चौधरीले दुखेसो पोखे । 'हामीसँग एकपैसा पनि छैन्, गाडी भाडामात्र भएको भए पनि रित्तै घर जान्थ्यौं, तर उपाय लागेन ।’ मजदुरहरुले काम गरेको ज्याला भुक्तानी मात्र नपाएका होइनन् । मेसमा खान पनि नपाउने अवस्था छ । मजदुर मसिलाल चौधरीका अनुसार एकबोरा दालबाहेक मेस भान्सामा अन्नको गेडो, छैन्, होलीको दिनमा चुल्हो नबलेको उनको भनाइ छ ।

यूएसएडको सहयोगमा मकवानपुर हेटौंडाको बाँनिया कन्सट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ । निर्माण कम्पनीले मजदुरहरुलाई ३२ लाखको हाराहारीमा भुक्तानी गर्नुपर्ने छ । कन्ट्रक्सनका इन्जिनियर सागर भण्डारी मजदुरहरुलाई रकम भुक्तानी नहुँदा आफूसमेत घेरिएर बस्नु परेको सुनाउँछन् । उनले भने, 'हामी पेटी कन्ट्याक्टर हौं, एमविएल कम्पनी दुवइले ग्लोबल टेण्डरमार्फत ठेक्का लिएको हो ।’ ठेकेदार कम्पनीसँग पेटी कन्ट्याकमा मजदुरहरुलाई हेटौंडाकै प्रेम लामाले ल्याएका थिए । लामासँग सम्पर्क गर्दा ठेकेदार आफू नभएको बताएको मजदुरहरुले जनाएका छन् ।

निर्माण कम्पनीसँग सम्झौता गरेर लामाले मजदुरहरुलाई ल्याएका थिए । फागुन २० गतेसम्मको मजदुरहरुले पाउने रकम लामालाई भुक्तानी गरेको इन्जिनियर भण्डारीको भनाइ छ । 'फागुन २० पछिको भुक्तानी बाँनीया कन्ट्रक्सनले गर्ने हो, त्यो भन्दा अगाडिको पैसा लिएर भुक्तानी गर्न आउँछु भनेर हिंडेका लामा नआउँदा समस्या भयो', उनले भने, ‘चाडमा भुक्तानी नहुँदा मजदुरलाई परेको समस्यामा हामी पनि दुखी छौं ।’ एमविएलले विद्यालयका तीनवटा भवन पुनर्निर्माणका लागि यूएसएडबाट ४५ करोडको ठेक्का पाएको थियो ।

गत भदौदेखि सुरु भएको काम १५ महिनामा सम्पन्न गर्नुपर्ने छ । स्थानीय रेखराज दाहाल मजदुरहरुलाई काम गरेको ज्याला भुक्तानी नदिएर ठूलो अन्याय गरेको बताउँछन् । भन्छन्, ‘होली मान्न घर जान नपाएर मजदुरहरुको रुवाबासी छ, बाहिरी मुलुकमा जस्तै गेट लगाएर बन्धक बनाएर राखिएको छ, स्थानीय प्रशासन तथा स्थानीयतहले अनुगमन गरी मजदुरलाई मुक्त गर्न ढिलो गर्न हुन्न ।’

बाँनिया कन्ट्रक्सन वाग्मती प्रदेशसभा कांग्रेस संसदीय दलका नेता इन्द्र बाँनियाँको हो ।

प्रकाशित : चैत्र १७, २०७७ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?