कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सञ्चारकर्मी ढकालका हत्यारालाई ३९ वर्ष कैद 

प्रताप विष्ट

हेटौंडा — सञ्चारकर्मी मनोहर ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा उपमहनगरपालिका—११ का अनमोल पुडासैनी र हेटौडा उपमहानगरपालिका—१२ का प्रविण वाईवालाई हेटौंडा उपमहानगरपालिका—११ नवलपुरका ढकालको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात २५ वर्ष र डकैती गरेकोमा १४ वर्षगरी ३९ वर्ष कैद गर्ने फैसला भएको स्रेस्तेदार केशवराज कौशिकले बताए । ढकालको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।


३८ वर्षीय ढकालको पुडासैनी र वाईवाले २०७५ पुस २५ गते हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडामा हत्या गरेका थिए । हत्या गरेर ढकालसँग भएको सुनको औंठी, मोबाइललगायत सामान लुटेका थिए । २० वर्षीय पुडासैनी र १९ वर्षीय वाईवा भैरवडाँडाको खोल्सीमा लागु औषध सेवन गरिरहेको अवस्थामा सञ्चारकर्मी ढकाल मोटरसाइकल लिएर उक्त स्थानमा पुगेका थिए । उनले ‘तिमीहरु यस्तो कुलतमा लाग्ने हो' भनेर असल भावनाले सम्झाउन खोज्दा उल्टै ढकाललाई मोटरसाइकलबाट लडाएर कन्चटमा ढुंगाले हिर्काएर हत्या गरेका थिए । प्रहरी र अदालत समक्ष अभियुक्तद्धयले लागु औषध खान हुन्न भनेर हप्काएकाले रिस उठ्यो भने अर्कोतिर हातमा औंठी देखेर लुट्ने मनसायले हत्या गरेको साबिती वयान दिएका छन् । अभियुक्तद्धय क्षेत्रीय कारागार भीमफेदीमा विगत एक वर्षदेखि नै छन् ।


हत्या गरिएका रेडियोकर्मी ढकाल दक्षिण एसियाकै पहिलो अडियो टावर पालुङमा कार्यरत थिए । २०५२ सालमा हालको थाहा नगरपालिका—२ मा पैंयुको रुखमा माइक राखेर समाचार र सूचनाहरु सार्वजनिक गर्ने गरिन्थ्यो । त्यही अडियो टावरमा उनी प्राविधिक कार्यमा संलग्न थिए । सोही अडियो टावरको विकसित रुप उनको सक्रियतामा २०६१ असार २१ गते पालुङमा सामुदायिक रेडियो पालुङ स्थापना गरिएको थियो । उक्त सामुदायिक रेडियोमा उनी प्राविधिकसहित कार्यक्रम सञ्चालक थिए ।

सम्बन्धित समाचार :

प्रकाशित : माघ २, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्

सभामुखबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख चयनमा देखिएको अन्यौलताबारे कांग्रेस संसदीय दलको बैठकमा छलफल हुने भएको छ । कांग्रेसले सभामुख चयनको विषयलाई लिएर सत्तारुढ नेकपाले संसदलाई बन्धक बनाएको भन्दै रोष प्रकट गर्दै आइरहेको छ ।

सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । यसबारेमा छलफल गर्नका लागि कांग्रेसले शुक्रबार संसदीय दलको बैठक आह्वान गरेको छ ।

सभामुख चयनमा देखिएको विवादका कारण संसद बन्धक भएको बारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । 'संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई सदनमा राख्न सक्नुभएको छैन,' उनले भने, 'संसद यथाशीघ्र चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौँ ।'

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको खाँणको भनाइ छ । कांग्रेस संसदीय दलको बैठक शुक्रबार साढे १ बजे बस्नेछ ।

प्रकाशित : माघ २, २०७६ १८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×