२२ औं भूकम्प सुरक्षा दिवसमा प्रभातफेरी

नुवाकोट — २२ औं भूकम्प सुरक्षा दिवसको अवसरमा यहाँ बिहीबार प्रभातफेरी निकालिएको छ । विदुरस्थित लोकतान्त्रिक चोकबाट सुरु भएको र्याली विदुरबजार, दम्की, बट्टारस्थिन नुवाकोट आदर्श बहुमुखी क्याम्पस अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरीमा सरकारी कार्यालय प्रमुख तथा पदाधिकारी, स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र, नागरिक समाज, बुद्धिजीवी, शिक्षक, पत्रकार लगायत सहभागी थिए ।
र्यालीपछि सभालाई सम्बोधन गर्दै विदुर नगरपालिकाका मेयर सन्जु पण्डित र प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल भूकम्पले संरचना भत्काएर क्षति पुर्याउने भएकाले सचेत रहनु पर्ने बताए । रेडक्रसले भूकम्प गएपछिको खोज तथा उद्धारको पूर्वतयारीको अभ्यास प्रदर्शन गरेको थियो ।
नेपालमा १९९० साल माघ २ गते २ बजेर २४ मिनेटमा गएको विनासकारी भूकम्पले बढी क्षति पुर्याएको थियो । सोही भूकम्पको सम्झनामा सरकारले २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पले पनि नुवाकोटमा १ हजार १ सय १३ जनाले ज्यान गएको थियो ।