२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

हर्दिनाथ १ जातको धानमा बाराका किसान आकर्षित

लक्ष्मी साह

बारा — सुवर्ण गाउँपालिका ४ हर्दिया गाउँका ४० वर्षीय अशोकुमार यादव प्रमाणपत्र तहसम्मका शिक्षा हासिल गरेर कहीँकतै रोजगारी नपाएपछि ५ वर्षयता कृषि कर्ममा रमाएका छन् ।

हर्दिनाथ १ जातको धानमा बाराका किसान आकर्षित

सेमरमाई कृषि सहकारी संस्था सञ्चालन गर्दै आफ्नै २ बिघा खेतमा उनले यसपटक हर्दिनाथ १ जातको चैते धान प्रति कठ्ठा ५ मनको दरले उत्पादन गरी भित्र्याएका छन् । पहिलो लटमा २ लाखभन्दा बढी मूल्यको २ सय मन धान उत्पादन गरेर दोस्रो लटमा पनि त्यही खेतमा फेरि उही जातको धान रोपाइँ गर्न उनलाई चटारो छ ।

उनका अनुसार यो गाउँमा ५ वर्ष पहिला फाटफुट यो जातको धान खेती गरिए पनि अहिले अधिकांशले गरेका छन् । गाउँमा यसपटक झन्डै ७५ बिघा क्षेत्रफलमा धान खेती भएको उनले बताए । यसले सीमापारिको परनिर्भता हटाउन मद्दत मिलेको उनी बताउँछन् ।

‘एउटै जातको दुई बाली उत्पादन गर्छौ,’ उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बिउ, कृषि यन्त्रसहित प्राविधिक सहयोग लिएर किसान आत्मनिर्भर हुँदैछन् ।’ सोही गाउँका अर्का किसान बलिष्टरप्रसाद यादव पनि अशोकको सिको गर्दै १ बिघामा झन्डै सय मन चैते धान उत्पादन गरेका छन् । उनी भन्छन् ‘गाउँभरि नै चैते धानको खेती गर्ने रहर चलेको छ ।’

धान भित्र्याउने बेला उपयुक्त मौसम, बढी तौलमा उत्पादन हुने, रोग प्रतिरोधी र थुप्रैले खान रुचाउने यो धानको चामलको माग बजारमा बढेकाले जिल्ल्लाका थुप्रै किसानले चैते धान उत्पादन गर्दै आत्मनिर्भर बन्दैछन् । किसानको आकर्षण बढेकोले यसको खेती जिल्लाभर फैलँदो छ । चैतमा रोपाइँ हुने भएकोले यसलाई चैते धान भनिएको हो । किसानले आधा जेठसम्म यो धान भित्र्याएर फेरि असारमा पनि उही धान लगाउन थालेका हुन् ।

कृषि अनुसन्धान परिषद् (नार्क) ले विकसित गरेको यो जातको चैते धानको उत्पादन बारामा पाँच वर्षयता दोब्बर बढेको कृषि ज्ञान केन्द्रको तथ्याङकले देखाउँछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र ज्ञान केन्द्रबाट सञ्चालित ‘मुल्य शृंखलामा आधारित दुई बाली धान उत्पादन’ कार्यक्रम लागू भएपछि स्थानीय भाषमा ‘चौद्ह ब्यालिस’ (१४४२) भनिने यो जातको धान फस्टाएको हो ।

आधुनिकीकरण परियोजना बाराका प्रमुख डा. हेमचन्द्रकुमार जयसवारका अनुसार देवताल र सुवर्ण गाउँपालिकाको २ वटा वडामा मात्र डेढ सय बिघामा चैते धान रोपाइँका लागि परियोजनाले बिउदेखि कृषि यन्त्रसम्मको अनुदान सहयोग गरेपछि किसानहरु आकर्षित भएका हुन् । ‘सिँचाइका लागि मोटरसहितको ट्यूबेल, कृषि यन्त्रमा धान दाईं गर्ने थ्रेसर र काट्ने रिपर मेसिनसम्म सहयोग गरेको छ ।’ जिल्ला भरमा यसपटक १६ हजार हेक्टर खेतमा यो जातको खेती भएको ज्ञान केन्द्रले जनाएको छ ।

ज्ञान केन्द्रका बाली विकास अधिकृत राजनारायण साहका अनुसार पछिल्लो ५ वर्षयता यो धानको उत्पादन दोब्बरले बढेको छ । यो वर्ष १६ हजार हेक्टर क्षेत्रफलमा यो जातको खेती गरिएको उनले बताए । उनका अनुसार पाँच वर्षअघि यसको आधा क्षेत्रफमा खेती भएकोमा वर्षेनि फैलिँदै गरेको छ ।

‘प्रति हेक्टर (३० कठ्ठा वा डेढ बिघा) साढे चार मेट्रिक टन उत्पादन हुन्छ । यो वर्ष १६ हजार हेक्टरमा ७२ हजार मेट्रिक टन उत्पादन भएको छ,’ उनले भने, ‘दुई बाली धान उत्पादन गरेर बजारका लागि मिलसम्म किसानको पहुँच बढाउने उद्देश्यले किसान लक्षित कार्यक्रम सुरु गरिएको छ ।’ यसले उत्पादनमा वृद्धि भएको छ । र किसान आत्मनिर्भरसँगै सीमापारिको परनिर्भता हट्दै गएको उनको भनाइ छ ।

प्रकाशित : असार २३, २०८० १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?