२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

सुनिता बराल

महोत्तरी — महोत्तरीको मटिहानी नगरपालिकालाई बिहीबार साक्षर नरगपालिका घोषणा गरिएको छ । नगरपालिकाले साक्षरता कक्षा सञ्चालन गरेसँगै पालिकाको साक्षर प्रतिशत बढेर ९५.१६% पुगेपछि पालिकालाई साक्षर नगर घोषणा गरिएको नगरपालिकाले जनएको छ ।

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

बिहीबार आयोजित घोषणा सभामा प्रमुख अतिथि जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुमनलाल कर्णले पालिकाका मेयर हरी मण्डललाई प्रमाणपत्र हस्तान्तरण गर्दै मटिहानी साक्षर नगर भएको घोषणा गरे । पालिकाका १५ देखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुषलाई व्यवहारिक सीपसहितको साक्षरता कक्षा सञ्चालन गरी आफ्नो नाम ठेगाना लेख्न सक्ने, परिवारको नाम ठेगाना लेख्न पढ्न सक्ने, आफूले गर्ने सामान्य आर्थिक कारोबारको जोड घटाउ गर्न सक्ने, मोबाइल चलाउन सक्ने, घडी हेर्न जान्ने ज्ञान प्रदान गरेसँगै नगर साक्षर नगर घोषणा गर्न सक्ने अवस्थामा पुगेको मटिहानी शिक्षा शाखा प्रमुख तथा साक्षर नगर घोषणा समितिका सदस्य सचिव चन्देश्वर साहले बताए ।

साक्षरताका १२ वटा सूचक पूरा गर्ने करिब ३ हजार ६ सय नागरिकलाई नगरपालिकाले साक्षर बनाएको साहले जानकारी दिए ।

घोषणा सभामा बोल्दै मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले अक्षर चिनेर साक्षर बनेका सबै नागरिकलाई सिकाइमा निरन्तरता दिन आग्रह गरे। महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसँगै सभामा उपस्थित अतिथि र सहभागी सबैले नगरपालिकालाई निरन्तर शिक्षा तर्फ उन्मुख गरी पूर्ण साक्षर नगरपालिका बनाउने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

मटिहानीलाइ साक्षर नगर बनाउन २०८० असोज महिनादेखि नै नगरले साक्षरता अभियान सञ्चालन गर्दै आएको थियो । जसमा पालिकामा ७२ जना साक्षरता सहजकर्ता परिचालन गरी अभियान चलाएको पालिकाले जनाएको छ ।

साक्षर घोषणा सभामा नगरपालिकालाई साक्षर नगर बनाउन सहयोग गर्ने संघ संस्था, व्यक्ति, कर्मचारी र सहजकर्ताहरूलाई पालिकाले सम्मान गरेको छ ।

प्रकाशित : जेष्ठ ३, २०८१ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x