कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मधेशमा मेरै नेतृत्वको सरकार रहन्छ : मुख्यमन्त्री यादव

अजित तिवारी

जनकपुर — एमाले–माओवादीको समर्थन फिर्तापछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरेका छन् । उनले एमाले र माओवादीलाई बाहिर राखेर अरु सबै दल समेटेर आफूले छिट्टै विश्वासको मत लिने बताए । 

मधेशमा मेरै नेतृत्वको सरकार रहन्छ : मुख्यमन्त्री यादव

‘एमाले–माओवादीबाहेकका दलसित उपेन्द्रजी र मेरो कुरा भइरहेको छ,’ मुख्यमन्त्री यादवले शुक्रबार कान्तिपुरसँग भने, ‘कांग्रेससँग कुरा मिलिसकेको छ । नेकपा (एस) सरकारमा मसँगै छ । जनमत पार्टी र लोसपासँग पनि कुराकानी भइरहेको छ । विश्वासको मत मेरै पक्षमा रहन्छ ।’

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल टुक्रिएपछि मधेशमा जसपा नेपालका १९ जना सांसदलाई ‘एकढिक्का’ राखेको दाबी गर्दै मुख्यमन्त्री यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिएपछि आफ्ना लागि पनि बाटो खुल्ने बताए । ‘खास गरेर म केन्द्रको समिकरण कुरिरहेको छु । प्रचण्डजीले विश्वासको मत लिँदा त्यहाँ कुन समीकरण बन्छ । अनि, म निरन्तर रहन्छु । विश्वास गर्नुस्,’ मुख्यमन्त्री यादवले भने,‘अहिलेसम्म सत्ता पक्षकै हिसाबले सरकार चलाए । अब, मधेशमा विपक्षको पनि गठबन्धन हुनसक्छ । जस्तै, कांग्रेस, जसपा, लोसपा । संघ सरकारबाट नेकपा एकीकृत समाजवादी पनि बाहिरिन्छ, मलाई थाहा छ । र, जनमत पनि । यति आएपछि त हाम्रो दुईतिहाइको हाराहारीमा पुग्छ ।’

मुख्यमन्त्री यादवले आफ्नै नेतृत्वको सरकारले बजेट ल्याउने र आफू बजेटकै तयारीमा व्यस्त रहेको बताए । ‘बजेटको तयारी नै गरिरहेको छु । नीति तथा कार्यक्रम र बजेट ल्याउने अनि यससँगै विश्वासको मत लिनका लागि हामीले छलफल गरेका छौं,’ उनले भने,‘नयाँ बजेटमा एकद्वारबाट विकास निर्माण गर्ने, उपभोक्ता समिति शून्य गर्ने, एक रुपैयाँको काम पनि उपभोक्ता समितिबाट नगराउने, एक करोड रुपैयाँभन्दा मुनिको योजना नल्याउने मेरो तयारी छ ।’

मुख्यमन्त्री यादवले १६ महिनाको कार्यकालमा चारपटक विश्वासको मत लिइसकेको र पाँचो पटक विश्वासको मत लिने तयारीमा छन् । ‘काम गर्न खोज्यो केही न केही समस्या आइलाग्छ । एउटा समस्या सुल्झायो । कामतिर ध्यान दिउँभन्दा अर्को समस्या आइपर्छ,’ उनले भने, ‘कहिलेकाहीं त लाग्छ बेकारमा मुख्यमन्त्री बनेछु ।’ उनले लगालग विश्वासको मत लिनुपरेको र सचिवहरुको सरुवाका कारण काम गर्न समस्या भइरहेको बताए । ‘यो सरकार, सरकार सञ्चालन गर्नेजस्तो लागेन । यो त नाचको पार्टीजस्तो भयो । काम गर्न वातावरण नै भएन,’ मुख्यमन्त्री यादवले भने, ‘गतिमा काम हुन थालेपछि त्यति नै बेला सचिवको सरुवा भइदिन्छ । फेरि ट्रयाकमा ल्याउँछु भने सत्ता गठबन्धन नै परिवर्तन भइहाल्छ । यी कारणले काम गर्नमा धेरै बाधा पुगे । कहिलेकाहीँ त म कहाँबाट मुख्यमन्त्री भए भन्ने हिसाबले सोच्छु । नभएकै राम्रो ।’


प्रकाशित : जेष्ठ ४, २०८१ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×