२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

गर्भ रहेपछि श्रीमान् बेपत्ता

कान्तिपुर संवाददाता

सिरहा — प्रेम विवाह गरी डेरामा बस्दै आएकी सिरहा सुखीपुर नगरपालिका–३ सलमपुरकी सुलेना दास पतिले छोडेर हिँडेपछि बिचल्लीमा परेकी छन् । सिरहा खोक्सीकी सुलेना सहनी मलाहा र सलमपुरका कुलदीप दास तत्माबीच तीन वर्षअघि प्रेमविवाह भएको थियो ।

अन्तरजातीय प्रेमविवाह कुलदीपको अभिभावकले स्वीकार नगरेपछि डेरामा बस्दै आएको सुलेनाले बताइन् । अहिले आफू गर्भवती भएपछि कुलदीप नै बेपत्ता भएपछि बिचल्लीमा परेकी हुन् ।

सुखीपुरमा बाजा बजाउने काम गर्दै आएका कुलदीपसँग नजिकिएकी सुलेनाले आफू गर्भवती भएको बताएपछि पतिले गोलबजारमा डेरा खोजेर राखिदिएको बताइन् । केही समयपछि छोरा जन्मियो । त्यतिखेरसम्म सम्बन्ध राम्रै थियो । अन्तरजातीय विवाह गरेपछि माइतीबाट समेत सुलेना अपहेलित भइन् । ‘पति घरतिर पनि बस्ने र म कहाँ पनि आउँजाउँ गरिरहन्थे,’ उनले भनिन् ‘त्यही बीचमा फेरि अर्को गर्भ बसेछ, त्यो सुनाएपछि पतिले हेला गर्न थाले ।’

‘डेरामै रहँदा कहिलेकाहीं आउने पतिले एकाध हजार दिएर जान्थे, त्यही बेला गर्भवती भएछु,’ उनले भनिन्, ‘पति आएका बेला आफू गर्भवती भएको सुनाएपछि जुसमा औषधि खुवाएर गर्भपतन गराए ।’ त्यसपछि तेस्रो पटक गर्भ रह्यो । यो थाहा पाएपछि पति आउनै छाडेको सुलेनाले दुःखेसो पोखिन् । उनी भन्छिन्, ‘स्वास्थ्यकर्मीले प्रसूति हुन फागुन अन्तिम साताको समय दिएको छ, प्रसूति हुने समय नजिकिँदै गर्दा श्रीमान् डेरामा पनि आउँदैनन्, दुई छाक खानसमेत गाह्रो परिरहेको छ, कसरी प्रसूति गराउने भन्ने चिन्तामा छु ।’

कुलदीपले ल्याए पनि उनको घरपरिवारले नस्विकारेकाले घर जान पनि नसकिएको र आफ्नै खुसीले विवाह गरेकाले माइत जान पनि नसक्ने अवस्था रहेको सुलेनाले सुनाइन् । ‘घर जाउँ सासुससुराले तलाई चिन्दैनौं हामी घरमा पस्दै दिदैनौं भनेर खेद्छन्,’ उनले भनिन्, ‘आफ्नै मर्जीले विवाह गरेकाले माइत जान पनि सक्दिनँ, घरको न घाँटको भए ।’ महिला अधिकारका लागि क्रियाशील स्थानीय मुक्ति नेपालले गर्भवती सुलेनालाई मनोविमर्श सेवा, स्वास्थ्य उपचारमा सहयोगसहित जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दिएको बताइन् । तर, पति कुलदीपले महिना दिनअघि निवेदन फिर्ता लिन दबाब दिँदै कुटपिट गरेर फरार भएको नेपालले जानकारी दिइन् । विवाह गरेको दुई वर्ष बितिसके पनि सुलेनाको नागरिकता छैन । माइतीबाट जन्म प्रमाणित गरी ल्याएको कागज पनि पतिले लिएर हिँडेको सुलेनाले बताइन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रवीन्द्रराज पाण्डेले सुलेनाले दिएको निवेदनको आधारमा कुलदीपको खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित : फाल्गुन २९, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?