कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदालतले कैदी पुर्जी सच्यायो, छुटेका कैदी पुन: पक्राउ

पक्राउ पर्दा बालक रहेको भन्दै पर्सा अदालतले गत भदौ २५ मा उनको दुई वर्ष ७ महिना सजाय मिनाहा गरिदियो । तर उक्त निर्णय भूलवश भएको अदालतले जनाएपछि यही असोज ३ मा उनी बाँकी कैद भुक्तानका लागि पुन: कारागार चलान गरिएका छन् ।
भूषण यादव

वीरगन्ज — लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त निर्णय भूलवश भएको भन्दै पुन: ती कैदीलाई पक्राउ गर्न लगाई वीरगन्ज कारागार पठाएको छ ।

अदालतले कैदी पुर्जी सच्यायो, छुटेका कैदी पुन: पक्राउ

गत भदौ २५ मा अदालतको आदेशअनुसार ०६८ चैत १३ देखि थुनामा रहेका ‘बिक्की रौनियार’ भनिने बिक्की अग्रवाल रिहा भएका थिए । संशोधित कैदी पुर्जीअनुसार बिक्की ०७९ चैत १३ मा कैदमुक्त हुनुपर्ने थियो । बिक्की कारागारका भाइ नाइके थिए । सर्वोच्च अदालतबाट अन्तिम आदेश भई बसेको फैसलामा जिल्ला अदालतको तहसिल शाखाले पक्राउ परेको बखत १८ वर्ष उमेर नपुगेको भन्दै यसअघि आदेश भएको कैद र जरिवानालाई दुई तिहाइ कायम गरेपछि बिक्की २ वर्ष ७ महिना अगाडि नै रिहा भएका थिए ।

अदालतको कैद मिनाहा गर्ने आदेश विवादित बनेपछि असोज ३ मा बिक्कीलाई पक्राउ गरी पुन: कारागार पठाइएको हो । अदालतका तहसिलदार शम्मी कपुर साहले भूलवश भएको निर्णयअनुसार रिहा भएका बिक्कीलाई पक्राउ गरी पुन: करागार पठाइएको पुष्टि गरे ।

पुन: पक्राउ गरी कैदमा राख्न जिल्ला अदालतले कारागारलाई पठाएको पत्रमा ‘भदौ २५ मा भूलवश हुन गएको संशोधित कैदी पुर्जीबाट छुटी गएका प्रतिवादी बिक्की अग्रवाललाई खोजतलास गरी पक्राउ गरी फैसलाअनुसार लागेको कैद र जरिवाना असुलउपर गर्नका लागि पठाइएको’ उल्लेख छ । पत्रमा समय अभावका कारणले लगत तथा मिसिल अध्ययन गरी कैद यकिन गर्न कठिनाइ भएकाले रीतपूर्वकको कैदीपुर्जी पछि पठाउने गरी निज प्रतिवादीलाई कैदमा राख्न पठाइएको लेखिएको छ ।

रिहा भएपछि बिक्की भारत गएका थिए । ‘अदालतको तहसिल शाखाको उक्त निर्णयको आलोचना भएपछि कागजातमा हस्ताक्षर गर्न छुटेको भन्दै बिक्कीलाई वीरगन्ज बोलाइएको थियो,’ प्रहरी स्रोत भन्छ, ‘वीरगन्ज आउनेबित्तिकै बिक्कीलाई नियन्त्रणमा लिएर कारागार पठाइएको हो ।’ एक अधिवक्ताले अदालतले आफ्नो निर्णय भूलवश भएको भन्न नमिल्ने जिकिर गरे । ‘अदालतले निर्णय भूलवश भएको भन्न मिल्दैन, त्यो भूलवश भएको निर्णय नै हैन । अरू विकल्प पनि थिएन,’ ती अधिवक्ताले भने, ‘भूलवश मान्ने कि नमान्ने माथिल्लो निकायले हेर्ने हो । अगाडि किन त्यस्तो निर्णय भयो र अहिले के कारणले यस्तो भयो यो विभागीय कारबाहीका बेला हेर्ने विषय हो ।’ कैद मिनाहा गर्ने तहसिलदारको जनकपुर सरुवा भइसकेको छ । उनको बरबुझारथ मात्र बाँकी छ ।

गत भदौ २५ मा अदालतको तहसिल शाखाले पक्राउ पर्दाको बखत बिक्कीको उमेर १८ वर्षभन्दा कम देखिँदा मुलुकी अपराध संहिता ०७४ को दफा ४५ (४) र बालबालिकासम्बन्धी ऐन ०७५ को दफा ३६(४) बमोजिम दुई तिहाइ सजाय हुने व्यवस्थाअनुसार ७ वर्ष ४ महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने आदेश गरेको थियो ।

‘जरिवानाको हकमा निजले यस अदालतमा ०७६ मंसिर १२ मा दाखिला गरी सदर भइसकेको तथा ७ वर्ष ४ महिना कैदको हकमा पक्राउ परेको मिति ०६८ चैत १३ देखि कैद कट्टा हुने गरी कैद म्याद हिसाब गर्दा कैद असुलउपर भई भुक्तान भइसकेको देखिँदा निजलाई अन्य मुद्दा वा निकायबाट थुनामा राख्न नपर्ने भए प्रस्तुत मुद्दाबाट आजै (बिहीबार) का दिन प्रस्तुत मुद्दाको कैद भुक्तान गरी छुटी जाने गरी यो संशोधित कैदी पुर्जी दिइएको’ जिल्ला अदालतको तहसिल शाखाको निर्णयमा भनिएको छ ।

स्रोतका अनुसार उमेरको प्रमाणका रूपमा बिक्कीले भारतीय विद्यालयको प्रमाणपत्र पेस गरेका थिए । प्रहरीको बरामदी मुचुल्कामा बिक्कीको उमेर २४ वर्ष उल्लेख छ । ०६९ मा अदालतमा बयान दिने क्रममा उनले आफ्नो उमेर २५ वर्ष रहेको बताएका थिए । जिल्ला र पुनरावेदन अदालतमा हारेपछि बिक्कीले ०७३ मा सर्वोच्च अदालतलमा फैसला पुनरावलोकनका लागि निवेदन दिएका थिए । त्यस निवेदन पत्रमा उनको उमेर ३२ वर्ष लेखिएको छ । ०७६ मंसिर ४ मा बिक्कीले कैद हद गरी संशोधित कैदी पुर्जीका लागि पर्सा अदालतमा निवेदन दिएका थिए ।

०७६ पुस ४ मा अदालतले एउटै वारदातमा दुई अलग–अलग सजाय ठहर गरी फैसला भएकोमा ठूलो कैदमा सानो कैद खापिने हुँदा बिक्कीलाई लागेको ठूलो कैद ११ वर्षमा सानो कैद ५ वर्ष हद गर्दा ११ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना कायम गरी संशोधित कैदी पुर्जी दिएको थियो । पहिलो संशोधित कैदी पुर्जीमा समेत उमेर नपुगेको कुनै जिकिर गरिएको छैन । संशोधित कैदी पुर्जीका अनुसार बिक्कीले ०७९ चैत १२ सम्म कैदमा बस्नुपर्ने थियो ।

खैरो हिरोइनका पटके कारोबारी

०६८ चैत १२ मा पक्राउ पर्दा बिक्की १८ वर्ष नपुगेको भन्दै २ वर्ष ७ महिना कैद सजाय मिनाहा गरेको पर्सा अदालतले यसअघि ०६१ चैत १६ मा बिक्कीलाई लागूऔषधकै मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

त्यसबेला बिक्की खैरो हिरोइन र लागूऔषध बिक्री गर्ने तराजु र ढकसहित पक्राउ परेका थिए । ५ वर्ष कैद सजाय भोगेर छुटेका बिक्की दोस्रो पटक भारतको रक्सौलबाट ३० ग्राम खैरो हिरोइन लिएर वीरगन्ज आउने क्रममा ०६८ चैत १२ मा पक्राउ परेका थिए । वीरगन्जको रजतजयन्ती चोकबाट विशेष सुराकीका आधारमा पक्राउ परेका बिक्कीको पाइन्टको अगाडिपट्टिको खल्तीबाट प्लास्टिकमा बेरिएको अवस्थामा खैरो हिरोइन बरामद भएको प्रहरीको बरामदी मुचुल्कामा उल्लेख छ ।

बिक्की र उनको समूहले भारतबाट खैरो हिरोइन खरिद गरी काठमाडौं, पोखरा, नारायणगढमा बिक्रीका लागि पठाउँदै आएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

प्रकाशित : आश्विन ८, २०७७ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?