सीमा क्षेत्रमा निकासी पैठारी अनुगमन गर्न संसदीय समिति - प्रदेश २ - कान्तिपुर समाचार

सीमा क्षेत्रमा निकासी पैठारी अनुगमन गर्न संसदीय समिति 

कान्तिपुर संवाददाता

जनकपुर — प्रदेश २ मा भारतीय सीमा नाकामा हुने निकासी पैठारीको अनुगमन तथा निरीक्षणका लागि संसदीय उपसमिति गठन भएको छ ।

बधुबार बसेको प्रदेश मामिला समितिको बैठकले भारतीय सीमा नाकामा हुने निकासी पैठारी अवलोलकन गर्न प्रदेशसभा सदस्य अशोककुमार यादवको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन भएको हो । समिति सदस्यहरुमा प्रदेशसभा सदस्यहरु रामसरोज यादव, जगतारण देवी, रमेशकुमार पटेल, रिना यादव र सावित्री देवी साह रहेका छन् ।

आगामी चैत १३ गतेबाट पर्सा जिल्लाबाट अनुगमन थाल्ने समितिले निर्णय गरेको छ । सरसामान निकासी तथा पैठारीको क्रममा प्रदेशका आमजनता तथा व्यापारीले खेप्नु परेको समस्या बुझेर सामाधानको उपाय निकाल्न समितिले अनुगमनको निर्णय गरेको जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्

सर्वश्रेष्ठ हुन् त कंगना ?

एजेन्सी

मंगलबार घोषित भारतको नेसनल फिल्म अवार्डबारे विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । हुन त फिल्म लोकप्रिय माध्यम भएकाले र सबैले यसबारे निष्फिक्री टिप्पणी गर्ने भएकाले पनि फिल्म अवार्डहरुबारे धेरै टिप्पणी हुने गर्छन् ।

त्यसमाथि बलिउडजस्तो लोकप्रिय फिल्म उद्योग जो पछिल्लो समय सिधै भारतीय सत्ता राजनीतिसँग जोडिन पुगेको छ, त्यसबारे टिका टिप्पणी हुनु कुनै नौलो कुरा होइन । र, नेसनल अवार्ड त पर्‍यो नै सरकारले दिने अवार्ड । यसमा सरकार संचालकले आफू अनुकूललाई पुरस्कृत गरे भने त्यो पनि स्वभाविक नै देखिन्छ ।

तर भारतको सन्दर्भमा नेसनल अवार्डलाई सर्वोच्च अवार्ड मान्ने गरिएको छ । फिल्मफेयर र अन्य अवार्डहरु बहिष्कार गर्ने आमिर खानजस्ता कलाकारलेसमेत यसको सम्मान गर्ने भएकाले नेसनल अवार्डको गरिमा पनि उच्च मानिन्छ । यसलाई उच्च स्थान हासिल भएकाले यसमाथि प्रश्न पनि बढी उठ्ने गर्छन् । टावर जति धेरै अग्लो भयो त्यसले आँखा पनि त्यति नै धेरै तान्छ ।

यसपटक घोषित नेसनल अवार्ड पनि केही चर्चा र केही विवादमा आयो । मनोज वाजपेयी र धनुषले पाएको उत्कृष्ट अभिनेताको पुरस्कारमा खासै धेरै विवाद सुनिएन । हिन्दी फिल्मको मूख्यधाराका अभिनेता भए पनि मनोज वाजपेयी उम्दा कलाकार हुन् । उनले यसअघि दुईपटक यो पुरस्कार पाइसकेका छन् । पहिलोपटक १९९८ मा 'सत्या' का लागि यो पुरस्कार पाएका उनले लगत्तै 'पिंजर'का लागि पनि पाएका थिए । 'अलिगढ'जस्तो फिल्मका लागि उनले यो पुरस्कार नपाउँदा भने धेरैले प्रश्न गरेका थिए । जसरी अजय देवगन र सैफअलि खानले पाउँदा दक्षिण भारतीय निर्देशकहरुले प्रश्न उठाएका थिए । देवगनले 'दि लिजेन्ड अफ भगतसिंह' र खानले 'हमतुम'का लागि नेसनल अवार्ड पाउँदा मलयाली फिल्मका निर्देशक अडुर गोपालकृष्णननले टिप्पणी गरेका थिए- 'यिनीहरु उम्दा कलाकार होइनन्, स्टार हुन् । बलिउड स्टारहरुले नेसनल अवार्डमा लोभ गर्दा साँच्चिकै राम्रा अभिनेतालाई अन्याय हुन्छ ।'

अभिनेतामा यस्तो विवाद नभए पनि अभिनेत्री अवार्ड कंगना रनावतले पाएकोमा भने सामाजिक संजालमा प्रश्न उठेका छन् । खासगरी पछिल्लो समय उनी भाजपा सरकारको प्रवक्ता बनेको बदालमा पुरस्कार दिइएको भनेर टिप्पणी गरिएको छ । तर, याद राख्नु पर्ने कुरा के छ भने कंगनाले राष्ट्रिय पुरस्कार पाएको यो पहिलोपटक होइन, चौथोपटक हो । कंगनाले यसअघि 'फेसन (सहअभिनेत्री)', 'क्विन' र 'तनु वेड्स मनु रिटन्स'का लागि यो पुरस्कार पाइसकेकी छन् ।

नेसनल अवार्डमात्र नभइ उनले अन्य व्यवसायिक अवार्डहरुमा पनि आफ्नो उत्कृष्टता सावित गरिसकेकी छन् । एकथरी समीक्षकहरु उनको राजनीतिक विचारधारा र सामाजिक संजालमा व्यक्त गर्ने विचारलाई उनको अभिनयसँग तुलना गर्न नहुने बताउँछन् । यस्तो मत राख्नेहरुले भन्ने गरेका छन्, 'व्यक्तिको रुपमा उसले जुनसुकै विचार अवलम्वन गर्न सक्छ, क्यामेराको अघि गरिने अभिनयको त्यससँगै कुनै मतलब हुँदैन । उसको स्टारडमले वा स्टार भएका कारण उसले व्यक्त गर्ने विचारले उसका फ्यानलाई प्रभावित पार्न सक्छ । यसैले यसको राजनीतिक फाइदा वा बेफाइदा हुनसक्छ तर अभिनय कला अर्कै कुरा हो ।'

प्रश्नचाहिँ के हो भने के कंगना साँच्चिकै यो पुस्ताकी सर्वश्रेष्ठ अभिनेत्री हुन् त ?

यस्तो मान्नेको संख्या ठूलो छ । बलिउडभन्दा बाहिरबाट आएर एक्लै संघर्ष गरेर बलिउडमा राज चलाइरहेका शक्तिहरुसँग 'पंगा' लिने कंगनाको व्यक्तिव्यका कायलहरु पनि छन् । उनीहरु कंगना आफ्नै अभिनयको बलमा यहाँसम्म आइपुगेको र 'क्विन'जस्तो सानो फिल्मलाई पनि आफ्नो अभिनय र स्टारडमले हिट बनाएको क्रेडिट उनलाई दिन्छन् । उनले आफ्ना सुरुवाती फिल्महरुमा अन्य अभिनेत्रीले नगर्ने बोल्ड भूमिकाहरुमा अभिनय गरेको जस पनि उनलाई दिन्छन् । र, ती भूमिकामा उनको अभिनयको तारिफ पनि गर्छन् । यस वर्ष भने कंगनालाई 'मणिकर्निका' र 'पंगा' दुई फिल्मका लागि अवार्ड दिइयो । यसमाथि पनि केहीले प्रश्न उठाएका छन् । किनभने यी दुवै फिल्म एकैवर्ष रिलिज भएका होइनन् । सार्वजनिक प्रदर्शनमा आएको हिसाबले यी दुई फिल्म दुई वर्षका जनवरीमा आएका हुन् । दुई फरक वर्षमा आएका फिल्मबाट एक सालको अवार्ड कसरी कंगनाले पाइन् भन्ने प्रश्न पनि गरिएको छ । यसको कारण के बताइएको छ भने सेन्सर सर्टिफिकेट यी दुवै फिल्मका एकै वर्षका हुन् र अवार्डमा सेन्सर सर्टिफिकेटलाई मानिन्छ न कि सार्वजनिक प्रदर्शनको मिति ।

अर्को प्रश्नचाहिँ नेसनल अवार्डमा उपेक्षा गरिएका गत वर्षका उम्दा बलिउड फिल्महरुका कारण पनि उठेको छ । जस्तै, फिल्मफेयरमा १२ वटा अवार्डका साथ स्विप गरेको जोया अख्तरको फिल्म 'गलीब्वाइ'ले नेसनल अवार्डमा एउटै अवार्ड पाएन । त्यस्तै अनुभव सिन्हाको प्रशंसित फिल्म 'आर्टिकल १५' र मेघना गुजलारको 'छपाक'लाई पनि कुनै विधामा पुरस्कृष्त गरिएन । जबकि उत्कृष्ट हिन्दी फिल्मको अवार्ड औषत व्यापार गरेको र मिश्रित प्रतिक्रिया पाएको 'छिछोरे' लाई दिइयो । प्रश्न गर्नेहरुले 'साँड कि आँख', 'बदला' र 'सोनचिरैया' जस्ता फिल्मलाई गरिएको उपेक्षाबारे पनि प्रश्न उठाएका छन् । र, यसलाई यी फिल्मका मेकरको राजनीतिक आस्था र विचारसँग जोडेर हेरेका छन् । सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने अनुराग कश्यप, अनुभव सिन्हा, ऋचा चड्डा र तापसी पनु संलग्न फिल्महरुलाई गरिएको उपेक्षा र कंगनाको श्रेष्ठता प्रमाणित गर्न दुई फिल्मबाट दिइएको अवार्डलाई राजनीतिक 'वायस' मान्नेहरु धेरै छन् ।

कंगना रनावतले पछिल्ला वर्षहरुमा बलिउडमा विद्रोही कलाकारको छवि बनाइन् । महेश भट्ट र ऋतिक-राकेश रोशनलाई आरोप लगाउनेमात्र होइन उनले करण जौहरको सोमा उपस्थित भएर उनैलाई बलिउडमा फैलिएको नेपोटिजमको नाइके भएको आरोप लगाइदिइन् । संयोगले यसै हप्ता जौहरले बलिउडका अर्क असफल कलाकार संजय कपुरकी छोरीलाई नयाँ फिल्ममा हिरोइन लिएको घोषणा गरेका छन् । यस्तोमा कंगनाजस्ती कलाकारले उठाउने आवाजले धेरैको ध्यान खिचेको थियो । तर, उनलाई दबंग हिरोइनको दर्जा मिलिरहेकै बेला उनले भाजपा सरकारको पक्षमा बोल्न थालिन् । प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफमात्र उनले गरिनन् उनका विरोधीहरुलाई सार्वजनिक रुपमा गाली गलौज नै गर्न थालिन् । उनीविरुद्ध उजुरी पनि परे ।

विस्तारै कंगना मोदी ब्रिगेडकी सिपाहीका रुपमा सामाजिक संजालमा देखिइन् । महाराष्ट्रमा सरकार चलाइरहेको शिव सेनाविरुद्ध उत्रिएपछि उनको मुम्बइको कार्यालयमा डोजरसमेत चलाइयो । उनलाई उच्च कोटीको सुरक्षा पनि केन्द्र सरकारले उपलब्ध गरायो ।

रोचक कुराचाहिँ के छ भने यसपटकको नेसनल अवार्डमा अजय देवगनको फिल्म 'तानाजी'ले पनि केही पाएन । जबकि कंगनाजस्तै अजय पनि भाजपा र मोदी समर्थक हुन् र उनको फिल्ममा भारतमा हिन्दु गरिमाको इतिहासलाई उजिल्याउने प्रयास गरिएको थियो । यो फिल्म दीपिका पादुकोणले एसिड आक्रमणमा परेकी युवतीको भूमिकामा अभिनय गरेको 'छपाक' सँगै एकै दिन रिलिज गरिएको थियो । यी दुई फिल्मको टक्करलाई भाजपा र कांग्रेसको टक्कर जसरी हेरिएको थियो । फिल्म रिलिज हुनुभन्दा केही दिन अगाडिमात्रै दीपिका जवाहरलाल नेहरु विश्वविद्यालय पुगी मोदीविरोधी विद्यार्थीहरुको प्रदर्शनमा सहभागी भएकी थिइन् । यसैकारण भाजपा कार्यकर्ताले यो फिल्मको बहिष्कार आवह्वान गरेका थिए । भाजपा नेतृत्वमा सरकार भएका उत्तर प्रदेश लगायतका राज्यले 'तानाजी'लाई ट्याक्स फ्रि गरेका थिए । यो प्रसंग किन पनि उल्लेखनीय छ भने 'छपाक'मा दीपिकाले अभिनय गर्ने समाचार आएदेखि नै कंगनाको टिमले यसमा कंगना उपयुक्त हुने बताएको थियो । खासगरी कंगनाकी बहिनी रंगोली चण्डेल, जो स्वयं एसिड आक्रमणकी पीडित हुन् उनले दीपिका यो भूमिकाका लागि अनुपयुक्त भएको टिप्पणी गरेकी थिइन् । दीपिकालाई यो फिल्मबाट नेसनल अवार्डको दावेदार मानिएको थियो ।

यसले पनि कंगना यो समयकी श्रेष्ठ अभिनेत्री हुन् भन्नेहरुलाई बल पुर्‍याएको छ । सरकारले दिने अर्को पुरस्कार पद्मश्री पनि कंगनाले पाइसकेकी छन् । यसपालि 'बदला', 'थप्पड' र 'साँड कि आँख' तीनवटा फिल्मबाट तापसी पनुले एक अलग किसिमको छाप छोडेकी थिइन् भने आलिया भट्टले 'गलीब्वाइ'बाट दर्शकहरुलाई प्रभावित पारेकी थिइन् । तर, चारवटा नेसनल अवार्डका साथ कंगना यी सबैको शीर्षमा छन् । हुन त नेसनल अवार्डमात्रै श्रेष्ठताको मापक होइन । यसको प्रतिष्ठता भारतका अन्य अवार्डको तुलनामा बढी भएकाले यसलाई एउटा मानक भने मान्न सकिन्छ । साथै, यससँग जोडिने राजनीतिलाई पनि नजरअन्दाज गर्न सकिदैन । यसैले कंगनाको श्रेष्ठतासँगै कतै यो अवार्ड पाउनमा उनको अभिनयका साथै किसान आन्दोलन र नागरिक विधेयकविरोधी आन्दोलनको विरोधमा उनले गरेको परिश्रमको फल पनि मिसिएको हो कि भन्ने प्रश्नचाहिँ बाँकी नै रहन्छ । दीपिका र तासपीजस्ता यी आन्दोलनका समर्थक र उनीहरुले अभिनय गरेका फिल्मको उपेक्षाले पनि यो प्रश्नलाई निष्प्राण बन्न दिँदैन ।

प्रकाशित : चैत्र ११, २०७७ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×