कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश २ मा तीन दिन होली

पर्सा — मध्यतराईमा यस वर्ष तीन दिन होली खेलिँदै छ । गत वर्ष पनि यस्तै संयोग परेको थियो । आइतबारबाटै सुरु भएको होली यहाँ मंगलबारसम्म चल्नेछ ।

प्रदेश २ मा तीन दिन होली

यहाँ बसोबास गर्दै आएका पहाडी समुदायले आइतबार होली मनाए । सामान्यतया फागुपूर्णिमाको भोलिपल्ट तराईमा होली खेल्ने चलन रहेकाले सोमबार खेलिने भएको छ । उक्त दिनका लागि संघीय सरकारले सार्वजनिक बिदा दिएको छ । यता, प्रदेश सरकारले मंगलबार होली बिदा दिएकाले उक्त दिन पनि खेलिने भएको छ ।

यो वर्ष वीरगन्जमा होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम भने आयोजना भएका छैनन् । आइतबार साँझ गाउँघरका चोकहरूमा संवत् जलाउने र स्थानीयले त्यसको खरानीको टीका लगाएपछि सोमबार होली खेल्नेछन् ।

साहित्यकर्मी मुकुन्द आचार्य होली पर्वलाई धार्मिकभन्दा पनि सांस्कृतिक हिसाबले मनाउने चलन भएकाले अधिकांश तराईवासीले दुई दिन होली खेल्ने बताउँछन् । ‘होलीमा रमाइलो गर्ने, आफन्तजन, इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक खानपिन गर्ने चलन छ,’ उनले भने, ‘होली पर्वको धार्मिक र सांस्कृतिक पक्ष छ ।’ बारा, पर्सा र रौतहटको होलीले पर्वमात्र नभई भोजपुरी संस्कृतिको पनि प्रतिनिधित्व गर्छ ।

यहाँ परिवारका सदस्यबाहेक आफन्त र इष्टमित्रलाई पनि घरमा बोलाएर विभिन्न परिकार खुवाउने चलन छ । भारतसँगको भौगोलिक सामीप्यता तथा सहज आवागमनको सुविधाका कारण भारत र तराईको होलीबीच धेरै सामीप्यता छ । भारतका होली गीतमा प्रसिद्ध धार्मिकस्थल तथा तीर्थस्थलको साथै कृष्ण, ब्रज, द्वारकाको प्रसंग उल्लेख हुन्छन् भने नेपालका गीतमा जनकपुर, रामजानकी, जनकको प्रसंग बढी हुन्छ ।

प्रकाशित : चैत्र १६, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?