१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

जनकपुरमा आज ‘महामूर्ख सम्मेलन’

श्यामसुन्दर शशि

जनकपुर — फागु पर्वलाई लक्षित गरी मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको दुईदिने होरी महोत्सवको दोस्रो दिन आइतबार ‘महामूर्ख सम्मेलन’ गरिँदै छ । शनिबार डम्फा वादन तथा फागु गीत गायन प्रतियोगिता सम्पन्न भएको थियो ।

जनकपुरमा आज ‘महामूर्ख सम्मेलन’


जानकी मन्दिर प्रांगणमा आयोजना हुने सम्मेलनमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी हुने परिषद्का अध्यक्ष प्रमेश झाले जानकारी दिए ।

मिथिलाञ्चलको लोप हुँदै गएको फागु गीत परम्परालाई निरन्तरता दिन परिषद्ले २५ वर्षदेखि डम्फा प्रतियोगिता तथा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । महामूर्ख सम्मेलनमा सहभागी विशिष्ट पाहुनामध्ये एक वा दुईलाई महामूर्ख तथा केही अन्यलाई पटमूर्ख, हरासंख, डपोरसंखलगायत व्यंग्यात्मक ‘मानपदवी’ दिने चलन छ । गत वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ‘महामूर्ख’ घोषणा गरिएको थियो ।

सम्मेलनमा परिषद्का कलाकारहरूले हास्यव्यंग्यप्रधान नाटक प्रस्तुत गर्नेछन् भने स्थानीय कविहरुको सहभागितामा हास्य कविगोष्ठी तथा फागु गीतको प्रदर्शनसमेत गरिने परिषद्का पूर्वअध्यक्ष सुनिल मल्लिकले जानकारी दिए ।

यसअघि लेखक/साहित्यकार सीके लाल, पूर्वमन्त्री रामचन्द्र झा, प्राज्ञ परिषद सदस्य रामभरोस कापडी, रमेश रञ्जन तथा प्रदेश सांसद रामसरोज यादवलगायत ‘महामूर्ख’ घोषित भइसकेका छन् ।

डेढ दशकअघिसम्म श्रीपञ्चमीको आगमनसँगै मिथिलाञ्चल भरी फगुवा गीत गायन सुरु हुन्थ्यो । टोल–छिमेकका पुरुषहरू भेला भएर डम्फा, झाइल, हारमोनियमको तालमा राति अबेरसम्म फगुवा गीत गाउ‘थे । महिलाहरू अ—आफ्ना आँगनमा बसेर गीत सुन्थे । त्यस क्रममा हास्य विनोद गर्दै फागु खेल्ने योजना बनाइन्थ्यो । केही वर्षदेखि यो सामाजिक परम्परामा कमी आएको छ ।

पूर्वअध्यक्ष मल्लिकका अनुसार क्रमश: लोप हुँदै गएको फगुवा गीत परम्परालाई जीवित राख्न फागु महोत्सव आयोजना गरिएको हो ।

प्रकाशित : चैत्र १५, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?