२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

निषेधाज्ञा अवज्ञा गर्दै रौतहटमा प्रदर्शन

शिव पुरी

रौतहट — हत्यामा संलग्नलाई उन्मुक्ति दिँदै निर्दोषलाई पक्रेर कारबाही गरेको भन्दै निरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समितिले सोमबार गरुडा बजारमा प्रदर्शन गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै समितिले सैयौंको संख्यामा भेला गराइ इलाका प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

निषेधाज्ञा अवज्ञा गर्दै रौतहटमा प्रदर्शन

प्रहरीले हत्यामा संलग्न ७ जनालाई पक्रेर मुद्दा चलाइसकेको छ । गएको साउन ३१ गते राति गरुडा नगरपालिका–८ जिगडियामा रहेको सच फलफूल नर्सरीमा काम गर्ने १७ वर्षीय निरञ्जन रामको हत्या भएको थियो । घटना लगत्तै गरुडा प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ११ जनालाई पक्रेर अनुसन्धान थालेको थियो । त्यस क्रममा ७ जनाको संलग्नता देखिएकोले कर्तव्य ज्यान मद्दा चलाइएको इलाका प्रहरी गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताए । चार जनाको संलग्नता नखुलेपछि छाडेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका व्यक्तिमध्ये २ जना मात्र हत्यामा संलग्न रहेको र बाँकी ५ जना निर्दोष भएको पीडितको भनाइ छ । निरन्जनका बुबा नन्दलाल रामसहितका स्थानीयले समेत प्रहरीले गरेको अनुसन्धान माथि शंका गर्दै निर्दोषलाई फसाएर दोषीलाई उन्मुक्ती दिने काम प्रहरीबाट भएको आरोप लगाएका छन् ।


संघर्ष समितिले हत्यामा नर्सरी सञ्चालकलाई मुख्य योजनाकार भनेको छ । प्रहरीले उनलाई उन्मुक्ती दिन थालेको र अनुसन्धान माथि शंका गरेको छ । संघर्ष समितिका संयोजक सोनेलाल रामले पीडितका तर्फबाट जाहेरी दिन जाँदा समेत प्रहरीले दुव्र्यवहार गरेको र ४ जनाको नाममा किटानी जाहेरी दिए पनि ७ जना माथि मुद्दा चलाएको बताए । ‘घटनामा पक्राउ परेकामध्ये केही निर्दोष परेका छन्,’उनले भने, ‘प्रहरीको दमन र घटनाका मुख्य दोषी उम्काउने काम हुन थालेपछि बाध्य भएर जुलुस प्रदर्शन गर्नु परेको हो ।’

प्रहरीले पक्रेर कारबाही गरेको शेख आजादको बुबा र नाबालिका बहिनीलाई सोधपुछका लागि कार्यालयमा बोलाएर चरित्र हत्या गर्ने काम भएको समितिको आरोप छ । जुलुसमा नेकपाका स्थानीय नेता शेख करिमुल्लाह समेत सहभागी थिए । जुुलुसले बजार परिक्रमा गरेपछि इलाका प्रहरीको मुख्य गेट नजिक धर्नामा बसको थियो । डीएसपी महतोले रन्जन हत्यामा संलग्न सातै जनाले अपराध स्वीकारिसकेको बताए । ‘पक्राउ परेकाहरुले नै अपराध स्वीकारिसकेको अवस्था छ,’उनले भने,‘उनीहरुलाई कसरी निर्दोष भन्न मिल्छ ।’ उनले हत्याजस्तो जघन्य अपराधको मुद्दालाई पैसाको लेनदेन भनेर आरोप लगाउनु दुर्भाग्य भएको सुनाए ।

स्थानीय प्रशासनले समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै भदौ १४ गतेसम्मका लागि भेला जुलुस गर्न नपाउने गरि निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित : भाद्र ८, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?