कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोहनमा संलग्‍नलाई भएन कारबाही 

उत्खनन्‌मा संलग्‍न सवारीसाधन तथा चालकलाई पक्राउ गरिएको छ, तर तिनलाई परिचालन गर्नेलाई कारबाही गर्न अनुगमन समितिका पदाधिकारीले चासो दिएका छैनन्

धनुषा, सर्लाही — धनुषामा नदीजन्य सामग्रीको अवैध उत्खनन गर्नेलाई कारबाही हुन सकेको छैन । जिल्ला समन्वय समिति धनुषाको अनुगमन समितिका पदाधिकारीले चासो नदिँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो ।

दोहनमा संलग्‍नलाई भएन कारबाही 

इलाका प्रहरी कार्यालय ढल्केबरले गत आइतबार धनुषा–सिरहा सिमानाको कमला नदीमा राति उत्खनन गर्ने चार टिपर तथा लोडर र तिनका चालकलाई पक्राउ गरेको थियो । ती चालक तथा सवारीसाधनलाई जिल्ला अनुगमन समितिमा बुझाइएको थियो । तर, उनीहरूलाई परिचालन गर्ने क्रसर उद्योग तथा तिनका सञ्चालकलाई कारबाहीका लागि स्थलगत अनुगमन गर्नुपर्नेमा समितिका पदाधिकारीले चासो दिएका छैनन् ।


जिससले अनुगमनको समय तोके पनि समितिका सदस्यहरू उपस्थित नहुँदा अनुसन्धान प्रक्रिया रोकिएको हो । टिपर, लोडर र उत्खनन भएको स्थानको बुधबार अनुगमन गर्ने भनिए पनि अनुगमन समितिका सदस्य नआएको जिससका उपप्रमुख दीपक झाले बताए । ‘अनुसन्धान नहुँदा कारबाहीको प्रक्रिया अलपत्र परेको छ,’ उनले भने । जिससका प्रमुखको संयोजकत्वमा रहेको अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सदस्य छन् ।


प्रहरीले विनाअनुमति उत्खनन गरिरहेका बा २ क २९८७ नम्बरको जेसीबी, ना २ क २८४, ना २ क २७८, ना २ क २९३९ र बा ३ ख ७६०० नम्बरको टिपर नियन्त्रणमा लिएको थियो । प्रहरीले जेसीबी चालक सिरहा कर्जन्हा नगरपालिका–२ का ३८ वर्षीय राजकुमार राउत, टिपर चालक धनुषा लक्ष्मिनिया गाउँपालिका–३ का २४ वर्षीय पुन्यप्रसाद राउत, मिथिला नगरपालिका–२ का ३० वर्षीय गोपाल महतो र महोत्तरी बर्दिबास नगरपालिका–१ का रामु महतोलाई पुनः उपस्थित हुने गरी छाडेको छ । टिपर र लोडर इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।


प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसीबी मिथिला कन्स्ट्रक्सन कम्पनीको रहेको इलाका प्रहरीका प्रहरी निरीक्षक तीर्थकुमार कार्कीले बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले अवैध उत्खननबारे अनुसन्धान गर्न जिल्ला अनुगमन समितिलाई प्राविधिक र कर्मचारी खटाउन सुझाव दिएको बताए ।


धनुषाको औरही नदीमा अवैध उत्खनन रोक्न जाँदा गत महिना २४ वर्षीय दिलीप महतोको हत्यापछि प्रदेश सरकारले नदीजन्य सामग्रीको उत्खनन रोकेको छ । तर, लुकिछिपी अवैध उत्खनन हुँदै आएको छ । यसअघि धनुषाको बटेश्वर र महोत्तरीको भंगहास्थित रातु नदीमा पानी उत्खनन भएको पाइएको थियो । धनुषाको बटेश्वर गाउँपालिकाले उत्खनन गरेपछि प्रहरी परिचालन गरी रोकिएको थियो । भंगहा नगरपालिको रातु नदीमासमेत उत्खनन गरेको पाइएको छ । जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश प्रसाद सिंहले क्रसरको कागजात नबुझाएसम्म नदीमा उत्खनन रोक्न निर्देशन दिएको बताए ।

प्रदेशका ८ जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योग दुई सातायता बन्द छन् । क्रसर उद्योगमाथि निगरानी बढाइएको छ । क्रसरलाई कानुनी मापदण्डमा कस्न प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको हो । तर, स्थानीय तह भने उल्टै बाधक बनेको छ । दुई साताअघि जिससले नदी र क्रसरमा रहेको स्टक विवरण र क्रसरको कागजात बुझाउन निर्देशन दिए पनि स्थानीय तहले नबुझाएको जिसस महोत्तरीका प्रमुख सिंहले बताए ।


चुरेमा दोहन उस्तै

सरकारले चुरे क्षेत्रमा नदीजन्य सामग्रीको उत्खनन रोकेको वर्षौं भइसकेको छ । तर, मनपरी उत्खनन अझै रोकिएको छैन । सर्लाहीको चुरे क्षेत्रमा कतै एस्क्याभेटरले उत्खनन भइरहेको छ भने कतै स्थानीयले ट्र्याक्टरमा ढुंगा ओसारिरहेका छन् ।


चुरेमा अवैध उत्खनन भए पनि स्थानीय तह मूकदर्शक छन् । पालिकाका प्रमुखहरूले उत्खनन नियन्त्रणको प्रयास गरेको प्रतिक्रिया दिँदै आए पनि प्रयास सफल हुन सकेको छैन । जथाभावी खोला उत्खननले बाढीपहिरोको जोखिम बढेको छ । कतिपय स्थानीय तहले विकटताका कारण चुरेको अवैध उत्खनन चुनौती बनेको प्रतिक्रिया दिएका छन् ।


बुधबार चुरे निरीक्षणको क्रममा पुगेका ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले चुरेको विकटताले अवैध उत्खनन रोक्न नसकिएको बताए । यस क्षेत्रमा डन प्रवृत्ति हावी भएकाले स्थानीय जागरुक भए मात्र दोहन रोक्न सकिने उनको तर्क छ । गत जेठमा प्रदेश स्तरीय प्राकृतिक स्रोतसाधन तथा वातावरण समितिका सभापति रामचन्द्र मण्डल सहितको टोलीले अध्ययनको क्रममा स्थानीय तहले ठेक्का लगाएको सर्लाहीका विभिन्न खोलाहरूमा मापदण्ड विपरीत उत्खनन भइरहेको निष्कर्ष निकालेको थियो ।


यस्तै, जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले मंगलबार दिउँसो हरिवनस्थित पटौना खोलामा खनिरहेको अवस्थामा दुईवटा एस्क्याभेटर र दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ । टोलीले उक्त सवारीसाधनलाई कारबाहीका लागि हरिवन नगरपालिकामा बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले खोलामा उत्खनन गरिरहेको फेला पारेपछि सवारीसाधनलाई नियन्त्रणमा लिएको बताए ।

प्रकाशित : माघ २३, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?