मिटर ब्याजीलाई छुटाउन राजपाको प्रदर्शन


सर्लाही — राजपाका कार्यकर्ताले मिटर ब्याजको पासोमा पारेर धेरैलाई उठिबास लगाएको आरोपमा पक्राउ परेका आफ्नो पार्टीका नेता रामबाबु राय यादवलाई तत्काल रिहा गर्न माग गर्दै आइतबार बरहथवामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा राजपा जिल्ला सचिव बलिराम चौधरीले यादव निर्दोष रहेको र राजनीतिक आस्थाका आधारमा फसाउन खोजिएको बताए । पक्राउ परेको भोलिपल्टै सदरमुकाम मलंगवामा राजपाले निकालेको र्यालीमा पनि निर्वाचित जनप्रतिनिधि सहभागी भएका थिए ।
ठगी आरोपमा पक्राउ परेका यादव गएको स्थानीय तह निर्वाचनमा राजपा नेपालका तर्फबाट मेयरका प्रत्याशी थिए ।
राजपा कार्यकर्ताले प्रदर्शन गरेलगत्तै यादवबाट पीडित भएकाहरूले कडा कारबाही माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले ब्रह्मपुरीका अर्का मिटर ब्याजी सञ्जय साह रौनियारलाई पनि पक्राउ गर्न दबाब दिए ।
पीडितले काठमाडौं पुगेर गृह मन्त्रालयमा उजुरी गरेपछि प्रहरीले गत बुधबार यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । यादवविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र अर्का मिटर ब्याजी रौनियारको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।