२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एमाले मोरङमा अनुशासन कारबाही 

महानगर कमिटी अध्यक्ष थापासहित तीनजना पार्टीबाट निस्कासित

विराटनगर — एमाले मोरङले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापासहित तीनजनालाई अनुशासनको कारबाही गर्दै पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ । उनीहरूलाई यहाँको पुष्पलाल चोकमा रहेको मानगढ खानेपानी योजनाको निर्वाचनमा पार्टीको हित विपरीत काम गरेको आरोप लागेको छ ।

एमाले मोरङमा अनुशासन कारबाही 

कारबाहीमा पर्नेमा अध्यक्ष थापासहित महानगरका उपसचिव नवराज नेपाल र वडा नं ३ का अध्यक्ष लालमणि भट्टराई छन् । थापा गत स्थानीय निर्वाचनमा एमालेबाट महानगर मेयरका उम्मेदवार थिए ।

जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीले शुक्रबार उनीहरूलाई थमाएको कारबाही पत्रमा 'मानगढ खानेपानी संस्थाको सम्बन्धमा गठित कार्यदलले गरेको सिफारिस बमोजिम पार्टी विधानको धारा ८० को उपधारा ३ र ६ बमोजिम पार्टी निर्णय विपरित क्रियाकलाप गरेकाले तपाईंलाई संगठित पार्टी कमिटीको पदबाट निष्कासन र पार्टी सदस्यता समेत निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ' उल्लेख छ । त्यसैगरी पाटी जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पार्टीले उठाएको अध्यक्षका आधिकारिक उम्मेदवार राम घिमिरेविरुद्ध बागी उम्मेदवार लालमणि भट्टराईलाई समर्थन गरेको आरोपमा अध्यक्ष थापा र उपसचिव नेपाललाई कारबाही गरेको हो ।

एमाले मोरङले यस प्रकरणको छानबिन गर्न जिल्ला कमिटी उपसचिव शान्ति लिम्बुको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत सदस्य रहेको छानबिन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा महानगर अध्यक्ष थापासहित तीनजनालाई कारबाही र एकजनालाई स्पष्टीकरण सोधिएको जिल्ला अध्यक्ष कार्कीको भनाइ छ ।

उक्त योजना उपभोक्ता समितिको जेठ १९ गते भएको निर्वाचनमा एमालेबाट अध्यक्ष पदमा घिमिरे र भट्टराईले उम्मेदवारी दिएका थिए । निर्वाचनमा घिमिरे र भट्टराईबीचको विवादका कारण निर्वाचन स्थगित भएपछि निर्वाचन समितिका सबै सदस्यले राजीनामा दिएका थिए ।

निर्वाचनका विषयमा उच्च अदालत विराटनगरमा रिट दायर समेत भएको थियो । अदालतले निर्वाचन प्रक्रिया यथास्थितिमा राख्न आदेश दिँदै असार ३ गतेका लागि अर्को पेसी तोकेको छ ।

निष्कासनमा परेका थापाले जिल्ला कमिटीले आफूलाई पूर्वाग्रही ढंगले कारबाही गरेर पार्टीमा आफ्नो प्रभुत्व देखाउन खोजेको दाबी गरे । 'पार्टी गतिविधिविरुद्ध मैले केही पनि क्रियाकलाप गरेको छैन,' थापाले भने, 'आफू पार्टी भित्रको गुट र उपगुटको सिकार भएको हुँ ।'

जिल्ला अध्यक्ष कार्की र निलम्बित थापा एमाले अध्यक्ष केपी ओली पक्षधर नै भएपनि उनीहरूबीच गुट र उपगुट देखिएको छ । थापाले भने,'निकट भविष्यमा हुने जिल्ला अधिवेशनलाई प्रभावित गर्न एक समूहले आफूलाई कारबाही गरेको हो ।'

प्रकाशित : असार १, २०८१ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x