कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सुती कपडामा भ्याट लगाएपछि नाकाबाट आयात ठप्प

विराटनगर — आर्थिक वर्ष २०८१/८२ को बजेटले सुतीका सारी, धोती र लुंगीसहितका सुती कपडामा मूल्यअभिवृद्धि कर (भ्याट) लगाएपछि दुई सातादेखि ती कपडाको आयात भन्सार नाकाबाट ठप्प छ । १० प्रतिशत भन्सार महसुलसहित १३ प्रतिशत भ्याटका कारण एकमिटर सुती कपडामा कम्तिमा पनि २५ रुपैयाँ मूल्य अन्तर भएका कारण ती कपडाको चोरी पैठारी सुरु भएको सम्बद्ध व्यवसायीको भनाई छ ।

सुती कपडामा भ्याट लगाएपछि नाकाबाट आयात ठप्प

विशेषगरी पहाड र तराईका निम्न र निम्नमध्यम वर्गको पहिरनका रूपमा चिनिएको सुतीका सारी, धोती र लुंगीमा जेठ १४ गतेसम्म १० प्रतिशत भन्सार महसुल मात्र लाग्दै आएको थियो । बजेटले थप १३ प्रतिशत भ्याट थपेपछि यसको असरले सुती कपडाको आयात महसुल २५ प्रतिशत पुग्ने आयतकर्ता सन्जित भगतको दाबी छ ।

झण्डै २५ प्रतिशत आयात शूल्क तिरे सुती कपडा अयात गरेर स्थानीय बजारमा बिक्री गर्नै सकिँदैन । भगतले भने, 'भन्सार महसुल र भ्याटका कारण सीमावर्ती बजारमा ती कपडाको मूल्य अन्तर निकै पर्छ । त्यही मूल्य अन्तरका कारण सातादेखि सुती कपडाको चोरी तस्करी सुरु भएको छ ।' उनले दुई दिनमा एक गाडी सुती कपडाको आयात गर्थे । तर अहिले जेठ १५ यता एक गाडी पनि आयात गरेका छैनन् ।

भन्सार विभागको तथ्याङक अनुसार चालु वर्षको १० महिनामा १ अर्ब ५९ करोड १८ लाख मूल्यको सुती सारी र १० करोड ५७ लाख मूल्यको सुतीको धोती र लुंगी १० प्रतिशत भन्सार महसुल तिरेर आयात भएको छ ।

विराटनगर भन्सारका अनुसार गतवर्ष यो नाकाबाट ५६ करोड ४४ लाख ७८ हजार मूल्यका सुती कपडा आयात हुँदा १० करोड १७ लाख भन्सार महसुली असुली भएको थियो । चालु वर्षको १० महिनामा ४० करोड ३६ लाख मूल्यका सुती सारी, धोती लगायतका सुती कपडा आयात हुँदा ४ करोड ९८ लाख राजश्व असुली भएको छ । भन्सार स्रोतका अनुसार जेठ १५ मा सार्वजनीक भएको बजेटमा सुती कपडामा १० प्रतिशत भन्सार महसुल सहित १३ प्रतिशत भ्याट कायम गरेपछि आयात प्रभावित भएको छ ।

मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि प्रयोग गरिने कात्रोको कपडामा समेत सरकारले भन्सार महसुलसहित भ्याट लगाएर गैरजिम्मेवारीको पराकाष्ठ देखाएको सम्बद्ध कारोबारीको भनाई छ । एउटा लासको अन्त्येष्टि गर्न कम्तीमा पाँच मिटर कात्रो चाहिन्छ । पाँच मिटर कात्रो किन्दा एकसय २५ रुपैयाँ राजश्व तिर्नुपर्ने अवस्था रहेको ती कारोबारीको दाबी छ ।

सुती कपडाका मुख्य आयातकर्ता भगतले चर्को महसुलका कारणले सुती कपडाको पनि अवैध आयात सुरु भएको दाबी गरे । अहिलेसम्म नेपालमा तस्करी भएर नआउने कपडामा सुती सारी, लुंगी र धोती नै थिए । यी कपडामा सरकारले भ्याट छुट दिँदा आयात महसुल कम पर्थ्यो ।

यी कपडामा भारतमा वस्तु तथा सेवा कर (जीएसटी) ५ प्रतिशत मात्र छ । साफ्टा अर्न्तगत नेपालमा आयात हुँदा उक्त ५ प्रतिशत छुट हुन्छ । जेठ १४ सम्म आयात महसुल १० प्रतिशत मात्र थियो । 'भारतमा ५ प्रतिशत छुट हुँदा ती कपडाको वास्तविक आयात महसुल ५ प्रतिशत मात्र हुन्थ्यो र ५ प्रतिशत आयात महसुल हुँदा ती कपडा चोरी मार्गबाट आयात हुदैनथ्यो,' भगतले भने, 'अब भ्याट लागेपछि महसुल उच्च भएर चोरी पैठारी बढ्ने छ ।'

नेपालमा भारतबाट अवैध मार्ग हुँदै आउने कपडामा सिन्थेटिक कपडा बढी भएको सम्बद्ध व्यवसायीको दाबी छ । सिन्थेटिक कपडाको आयातमा सरकारले १५ प्रतिशत भन्सार महसुल र भ्याट लगाएको छ । यसको असर ३० प्रतिशतसम्म पुग्छ । सिन्थेटिक कपडामा आयात महसुल उच्च भएका कारणले अवैध व्यवसायीलाई लाभ पुग्दै आएको छ । तर अब सुती कपडा पनि अवैध बाटोबाटै आउने उनीहरुको ठम्याइ छ ।

मुलुकमा सुती कपडाका आयात गर्ने मध्येका भगत एक हुन् । उनले आयात गरेका सुती कपडा काठमाडौं, पोखरा, चितवन र हेटौंडासम्म पुग्छ । उनले भने, 'सुती सारी, लुंगी र धोतीको मुख्य बजार मधेस प्रदेश हो । त्यहाँका निम्न वर्गका पुरुष र महिलाको पहिरन नै यही हो । तर सिराहा, सप्तरी, जनकपुर, महोत्तरी, सर्लाही कतैका विक्रेताले पनि दुईसातादेखि ति कपडाको माग गरेका छैनन्, कारण सुती कपडामा लागेको भ्याट नै हो ।'

कपडा व्यवसायी संघ विराटनगरका उपाध्यक्ष नन्दु जाजुले अब भन्सार महसुल १० प्रतिशतमा भ्याट पनि लागेपछि सुती सारी, लुंगी र धोतीको आयात गर्दा एक थान कपडाको एकसय रुपैयाँ राजस्व लाग्ने बताए ।

एक थानको एकसय राजस्व लागेपछि अब यी सामग्रीको वैध आयात हुनै सक्तैन । जाजुले भने एक थानको ३० देखि ४० रुपैयाँमा त क्यारिङ नै हुन्छ । अब भन्सार कटेर होइन क्यारिङबाट सुती सारी, लुंगी र धोतीको आयात हुनेछ ।

जाजुले यसअघि तत्कालीन अर्थमन्त्री महेश आचार्यले २०५५ सालमा तीन वटै कपडाको भ्याट हटाएको स्मरण गरे । उनले भने त्यसबेला पनि भ्याट लाग्दा सुतीका सबै कपडाको चोरी पैठारी तीब्र थियो । भ्याट हटाएपछि अहिलेसम्म भन्सारबाटै आउँदै थियो । जाजुले भने यसपालि पुन भ्याट लागेको छ । अव सुती कपडा भन्सारवाट नभई क्यारिङवाट आउने पक्का छ ।

प्रकाशित : असार ३, २०८१ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×